सिमानामा निगरानी राख

कोरोना महामारी संक्रमणको दोस्रो लहर बढ्दै गर्दा सर्वोच्चमा जनस्वास्थ्यको विषयलाई लिएर एक रिट निवेदन दर्ता भएपछि सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न भन्दै सर्वोच्च अदालतले सरकारलाई परमादेश निर्देशन जारी गरेको छ । यसले सरकारको काम कार्यान्वयनमा भएको ढिलाइमा ठूलो सहयोग पुग्ने र सरकार तथा सरकारी निकायले यसको बिनाढिलाइ कार्यान्वयन गरेमा नेपाली जनस्वास्थ्यमा पर्दै आएको असर निकै कम हुने विज्ञहरूको दाबी रहेको छ । जानस्वास्थ्य विद्हरू पनि यसमा निकै सकारात्मक भएका देखिन्छन् । पहिलो वर्ष भएको कोभिड महामारीको संक्रमण पनि छिमेकी देश चीनतर्फको प्रभावभन्दा दक्षिणी छिमेकी देश भारततर्फको प्रभाव र जनप्रवाहका कारण नेपालमा फैलिएको थियो । अहिले पनि भारतमा अफ्रिकाको एपी–वान र यूकेको भेरियन्ट तथा नयाँ दिल्लीकै नयाँ भेरियन्ट एकैसाथ प्रवेश गर्न थालेपछि कतै यसको समिश्रणबाट नेपालमै पनि नयाँ भेरियन्ट देखिने त होइन भन्ने आशंका पैदा भइरहेको छ । यसका लागि नयाँ भेरियन्ट प्रवेश गरिरहेका नाका एवं स्थानमा नेपालका तर्फबाट उच्च सतर्कता अपनाइनु जरुरी हुन गएको छ । विशेषगरी भारतीय सीमानाकामा नेपालका तर्फबाट अधिकतम सतर्कता अपनाइनुपर्ने देखिएको छ ।

यसका लागि पहिलेको जस्तो सामान्य तयारीले नपुग्ने देखिएको छ । हुन त सरकारले सीमानाकामा होल्डिङ सेन्टर निर्माण पनि गरिराखेको छ । तर, यो त्यति प्रभावकारी देखिएको छैन । यता नेपालका जनस्वास्थ्यसँग सम्बन्धित संस्थाका साथै नेपालको स्वास्थ्य मन्त्रालयले पनि वैशाख मसान्तसम्म संक्रमणको उच्च जोखिम देखिने भनी प्रक्षेपण गरिसकेका छन् । अहिले त्यस्तो लक्षण पनि देखिन थालेको छ । तर, तयारीका लागि सरकारी निकाय निकै मौन छन् । निजीक्षेत्र पनि त्यति क्रियाशील देखिएको छैन । यसले अबका संक्रमणका दिन असहज र जटिल हुन पुग्ने देखाएको छ । यो जटिलताको समाधानका लागि चालिनुपर्ने सामान्य कदम नेपालले आफ्नो क्षमताअनुसार समयमै चाल्नु जरुरी छ । कोरोना संक्रमण व्यवस्थापन समितिले पहल लिनु अति आवश्यक भइसकेको छ । केवल स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, विज्ञप्ति, अनुरोध वा जानकारीले मात्र यी कुरा हल हुने देखिन्न । हालसम्म नेपालमा भित्र्याइएका खोपको पनि समयमै उचित र संयमित रूपले वितरण र उपयोग हुन सकिरहेको छैन । उत्तरको छिमेकी देश चीनबाट उपहारस्वरूप भित्र्याइएका खोप पनि आम जनतामा दिन सकिएको छैन । त्यसो त खोपप्रति जनताको आकर्षण पनि त्यति धेरै देखिन सकेको छैन ।

हाल सरकारले देशभर अति प्रभावित, मध्यम र कम गरी तीन प्रकारका कोरोना संक्रमित क्षेत्रमा देशलाई वर्गीकरण गरेर सतर्कताका लागि सचेत बनाएको छ । तर, सेवासुविधा पनि त्यतिकै मात्रामा पु¥याउनु जरुरी छ । बाँकेमा अहिले इमर्जेन्सीको अवस्था सिर्जना हुन गएको छ । आपतकाल घोषणा गरिएको छ । स्वास्थ्य मन्त्रालयले पनि कोरोना प्रभावित क्षेत्रमा तीन साताका लागि लकडाउन गर्ने प्रस्ताव गरिसकेको छ । यो विकराल स्थितिको सामना गर्न क्वारेन्टाइनको पुनः व्यवस्थापन, द्रुत परीक्षण, अस्पताल भर्नाको सुविधा, बेड तथा अक्सिजनको आपूर्ति, सघन कक्षको व्यवस्था गरिनु जरुरी हुन गएको छ । यसका लागि सरकारी अस्पताल तथा निजी अस्पतालमा निश्चित मापदण्ड बनाइनु जरुरी छ । सेवाको उच्च मूल्यांकन, अग्रमोर्चामा खट्नेका लागि सेवासुविधा र लगाउने सामग्रीको उचित व्यवस्थापन समयमै गरिनु जरुरी हुन गएको छ । साथै, उत्तिकै प्राथमिकताका साथ सीमाक्षेत्र नियमन र अनुगमनको पनि जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा