जनस्वास्थ्यका लागि निषेधाज्ञा

दोस्रो लहरको कोरोना संक्रमण बालबालिका, युवा तथा बृद्ध सबैमा तीव्र रूपमा फैलँदै गएपछि काठमाडौं उपत्यकामा रहेका तीन जिल्लामा १६ देखि २२ वैशाखसम्म एक साताका लागि निषेधाज्ञा जारी गरिएसँगै मानिसहरूको आउजाउ र घरबाहिर निस्कने प्रक्रियामा पनि निकै कमी आउन थालेको छ । यसले संक्रमण नियन्त्रणमा ठूलो टेवा पु¥याउने देखिएको छ । यो स्वास्थ्य निषेधाज्ञासँगै नेपाली आर्थिक तथा सामाजिक जनजीवनले सामान्य लय समात्ने अपेक्षा गरिएको छ । यसका लागि प्रक्रियाका हिसाबले सुरुमा काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार आदि जमघटका कार्यमाथि रोक लगाइएको छ । मानिसको भिडभाड रहने स्थान जस्तै सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल तथा मनोरञ्जन स्थलमा पनि मानिस जम्मा हुन नदिन निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल आदिमा पनि तत्काल अस्थायी रूपमा रोक लगाइएको छ । यससँगै पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि पनि खुला नगरिने निर्देशन जारी गरिएको छ । सवारीका हकमा पनि यो कुरालाई गम्भीरताका साथ लिइएको छ ।

राजधानी सहर रहेको काठमाडौं जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन र उपत्यका प्रवेशमा समेत रोक लगाइएको छ । यस्तो अवस्थामा अत्यावश्यक सेवा दिन सवारी साधन एम्बुलेन्स, सबवाहन, पत्रकार बाहन, सुरक्षा तथा कूटनीतिक निकायका सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छैन । त्यसैगरी, मानिसका लागि अत्यावश्यक कुराको पहिचान तथा छनोट गरी खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, औषधि, फोहोरमैला व्यवस्थापन आदि ढुवानीका साधन पनि चल्न चलाउन पाइने भएका छन् । यसका साथै, खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल खुला रहनेछन् । औषधि पसल २४ घण्टा खुला रहे पनि खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । डिपार्टमेन्टल स्टोर, ग्रोसरी आदि बिहान १० देखि बेलुका ५ बजेसम्म खुला रहनेछन् । यसका साथै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरू अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालनमा रहने र सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरू अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयमा परिचयपत्रका आधारमा आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ ।

देशमा बेलायती प्रजातिको भाइरस भित्रिएपछि संक्रमित हुने तथा मृत्यु हुने दरमा अनपेक्षित वृद्धि हुन गएपछि जनस्वास्थ्यका लागि यो मापदण्ड पालना गर्न गराउन राजधानी तथा अन्य प्रभावित इलाकामा यो कडाइका साथ लागू गरिने भएको छ । अघिल्लो वर्ष पनि यसै समयमा देशका मुख्य सहर तथा प्रभावित इलाकामा लकडाउन गरिएको थियो । त्यसले आर्थिक गतिविधिमा केही बढी प्रभाव पार्न थालेपछि त्यसबाट पाठ सिक्दै निषेधाज्ञा र आंशिक बन्दका कार्यक्रम लागू गरी जनजीवन सामान्य अवस्थामा ल्याइएको थियो । अहिले पनि यसको प्रभावकारितालाई मध्यनजर गरी निषेधाज्ञाको प्रक्रिया अघि सारिएको छ । यसमा जनताका सचेत र सतर्कतापूर्ण व्यवहारले निकै ठूलो मद्दत पु¥याउनेछन् । जनस्वास्थ्य जनता स्वयं आफूहरूको स्वस्थ जीवनका लागि हो ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा