परदेशको कमाइमा घरदेशको खर्च

छोरा छोरी विदेशमा, भाइभतिजा विदेशमा, श्रीमान विदेशमा, नेपाली समाजमा प्रायः घर परिवारमा कुनै न कुनै सदस्य विदेश गएको अवस्था छ । र, धेरैजसो घर परिवारको खर्च पनि विदेशबाट पठाएको पैसाले चलेको छ । नेपाली समाजमा प्रत्येक महिनामा विदेशबाट आएको पैसाले नुन, तेल, दाल, चामल, औषधीलगायतको खर्च टर्ने गरेको छ । विदेशबाट आएको पैसाले छोरा छोरीको बोर्डिङ स्कुलको शुल्क तिरिन्छ । मोबाइल, इन्टरनेटको खर्च, सरकारको तिरो, ऋणको व्याज आदि क्षेत्रमा खर्चको जोहो भएको छ । अलि पढे लेखेका बुहारी वा श्रीमती भएका घरमा उनीहरू छोराछोरी पढाउनका लागि गाउँठाउँका विद्यालय छाडेर सहर बजारतिर डेरा खोजी बसेका छन् । छोराछोरीलाई अंग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयमा पढाएका छन् । विदेशबाट अलि ठूलो रकम आउने घर परिवार भएमा सहर बजारतिर घर, खडरी वा तराइतिर बसाइँ सराइ पनि गराएको छ । यसरी हेर्दा समाजमा परदेशको कमाइमा घरदेशको खर्च टाल्न सजिलो भएको देखिन्छ ।

देशमा चरम बेरोजगारीको समस्याका कारण लौखौंको संख्यामा युवापुस्ता विश्व बजारमा कामको खोजीमा गएका छन् । अझै जाँदै छन् । देशमा उद्योगधन्दा खोलिएको छैन । भएका उद्योगहरू पनि बन्द भएका छन् । कतिपय हुने अवस्थामा पुगेका छन् । देश निर्माणमा काम गर्नका लागि दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको कमी छ । एकातिर राज्यले मुलुकको विकास निर्माणमा गहनतम भूमिका निर्वाह गर्न सक्ने युवाशक्तिलाई विदेश जान बाध्य बनाएको छ भने अर्कोतिर युवापुस्ता घरमा नबस्नाले किसान परिवारका खेतीयोग्य जमीन बाँझिँदै गएका छन् । किसानको घरमा दुहुनो भंैसी छैन, एक हल गोरु छैनन् । उत्पादन घट्दो छ ।

झट्ट हेर्दा विदेशको कमाइ स्वदेशमा भित्रनु राम्रो भए तापनि यसले दीर्घकालीन रूपमा आर्थिक समस्याको समाधान गर्न नसक्ने अर्थशास्त्रीको कथन छ

नेपालमा हरेक महिना ठूलो रकम रेमिटेन्सबाट भित्रने गरेको छ । झट्ट हेर्दा विदेशको कमाइ स्वदेशमा भित्रनु राम्रो भए तापनि यसले दीर्घकालीन रूपमा आर्थिक समस्याको समाधान गर्न नसक्ने अर्थशास्त्रीको कथन छ । विदेशको कमाइले वर्तमान अवस्थामा कतिपय घर परिवारले आर्थिक रूपमा गुणस्तरीय जीवनयापन गर्न सजिलोे भएको पाइन्छ । तथापि केही वर्ष अगाडिसम्म खाद्यान्नमा आत्मनिर्भर हुने गाउँमा अहिले उत्पादन छैन । पछिल्लो समयमा पहाडी क्षेत्रमा प्रायः गाउँमा मोटर बाटो पुगेको छ । गाउँगाउँमा गाडी चलेका छन् । ती गाडीमा गाउँलेलाई आवश्यक पर्ने चामल, नुन, तेल, चिनी, चिया, तरकारी, फलपूmल आदिको ढुवानी गर्ने काम भएको छ । हरेक गाउँमा दुई–चारवटा खाद्यान्न पसल खोलिएका छन् । गाउँघरमा विदेशबाट आएको पैसा महँगो खाद्यान्न, लत्ता कपडा, मोबाइल, इन्टरनेट, शिक्षा, स्वास्थ्य आदिमा खर्च हुने गरेको छ ।

राज्यले विभिन्न देशसँग रोजगारीको सझौता गरी युवालाई निर्यात गरेको छ । नेपाली युवा रहरले विदेसिएका होइनन् । स्वदेशमा आयआर्जन गर्न नसक्दा युवाहरू काम, माम र जीवनण्यापनका लागि छिमेकी वा टाढाका मुलुकमा काम गर्न जान बाध्य भएका हुन् । कान्छा र बहादुरका नाममा विदेशी भूमिमा श्रम र श्री बेच्न बाध्य भएका हुन् । गाँस, बास, कपास, शिक्षा स्वास्थ्यलगायतको खर्चको जोहो गर्न उनीहरू विदेसिएका हुन् ।

अहिले एकातिर नागरिकको जीवन कष्टकर बन्दै गइरहेको छ भने अर्कोतिर राजनीतिक दल सत्ता, भत्ता, पैसा, पद र प्रतिष्ठाको लडाइँमा समय बिताइरहेका छन् । विभिन्न उमेर समूहका युवालाई हरेक स्थानीय तहमा गर्न सकिने कृषि उत्पादनमा लागेका छैनन् । उनीहरूले आर्जन गरेको शिक्षाले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण गरी कृषि एवं पशुपालन क्षेत्रलाई स्वरोजगार र आम्दानीको क्षेत्र बनाउन सिकाएन । शिक्षित युवाले स्थानीय तहमा प्राप्त प्राकृतिक स्रोत र साधानको उपयोग गरी जीवन निर्वाह गर्ने शिक्षा र सीप सिक्न पाएनन् । त्यसैले विदेश पलायन भए । यदि शिक्षाले कृषि, पशुपालन, फलपूmल, तरकारी, नगदेवाली, माहुरी पालन, रेशम खेती मत्स्यपालन, पंछीपालनलगायतका क्षेत्रमा आधुनिक तथा व्यवसायिक खेती गर्ने ज्ञान एवं सीप आर्जन गर्न सकेका भए युवाले उल्लेखित क्षेत्रलाई आयआर्जनको स्रोत बनाउने थिए । राज्यको अदुर्दर्शीता र कमजोरका कारण त्यसो हुन सकेन ।

उत्पादनमुखी अर्थ व्यवस्था नभएसम्म देशको आर्थिक विकास हुन सक्दैन । राज्यले युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सकेको भए उनीहरू विदेश जाने थिएनन् । देशको शिक्षा प्रणालीलाई रोजगारमुलक, व्यवसायी एवं उत्पादनशील बनाएको भए शिक्षित जनशक्ति कृषि, पशुपालन, मत्स्यपालन, माहुरीपालन, फलफूल खेती, पुष्पखेती, पर्यटन व्यवसाय, घरेलु उद्योगलगायतका क्षेत्रमा आयआर्जनका बाटा र पाटाको खोजी गर्ने थिए । जल, जमिन, जडीबुटी, पशुपालनलगायतका क्षेत्र स्वरोजगारका क्षेत्र बन्ने थिए । यसो हुन सकेको भए युवा स्वदेशमा नै हुने थिए । गाउँहरू उत्पादनमा आत्मनिर्भर हुन सक्ने थिए । तर, राज्यले देशको प्राकृतिक स्रोत र साधनको प्रयोग गरी स्वरोजगारका अवसर सिर्जना गर्ने ठोस नीति बनाउन सकेन । फलतः युवापुस्ता विदेशतिर ओइरिए । अहिले युवापुस्ताको उमेर रहुन्जेल परदेशमा कमाएको पैसा घरदेशमा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ ।

राज्यले जनताका प्रतिनिधि आवाजलाई सुन्ने, विचार गर्ने र समाधानका उपाय अवलम्बन गर्ने जस्ता काम नगरेका कारण उनीहरू निराश छन्

यो मुलुकमा विकासको भिजन, मिसन र एक्सन भएकोे राजनेता नहुनु दुर्भाग्य हो । हरेक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि तदनुरूपको शिक्षाको आवश्यकता हुन्छ । देशको शिक्षा बेरोजगारी जनशक्ति उत्पादन गर्ने माध्यम बनेको छ । कृषि शिक्षालाई उपेक्षा गरिएको छ । पढेलेखेकाले कृषि व्यवसायलाई पेसाका रूपमा अवलम्बन गर्न रुचाउँदैनन् । अवसरको अभावले बरालिएको युवापुँजीलाई शिक्षा, तालिम, आर्थिक सहयोग, बजार व्यवस्थापन, बिमालगायतका सुविधाको योजनासहित हरेक स्थानीय तहमा आधुनिक कृषि प्रणालीका अल्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्न पर्ने बेलामा सरकारले यस क्षेत्रमा ध्यान दिएको छैन ।

देश विकासको भरपर्दो मोडेल र सुशासनको अभावमा कुइरोको कागजस्तै अल्मलिइरहेको छ । राजनीतिक दलका शीर्ष भनिने बूढा नेतागणमा देश विकासको ठोस खाका नै छैन । राजनीतिलाई आफ्नो र आफन्तजनको आयआर्जनको स्रोत बनाएका राजनीतिक कर्मीको दुष्कर्मका कारण आज देशका युवा विदेसिन बाध्य भएका हुन् । राजनीतिक व्यक्ति, व्यक्तित्व तथा योजनाकारमा देशलाई फास्ट ट्रयाकमा विकास गर्न सकिने स्पष्ट मार्गचित्रको अभाव छ । देशमा बेरोजगारी समस्या, भ्रष्टाचार, ढिलासुस्ती, राजनीतिक किचलो तथा अनियमितता व्यप्त छ । सरकारले २०७५÷७६ को बजेटमा बेरोजगारीको अन्त्य र गरिबीको निवारणको लागि बजेट विनियोजन गरेको थियो । २०७६÷७७ मा पनि रोजगारीका नाममा यो वा त्यो नाममा अर्बाैं बजेट विनियोजन गरियो । बजेट भाषणमा मुलुकभित्रै रोजगारी सिर्जना गरी नेपाली युवा पुस्तालाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउने भन्ने गरिन्छ । सरकारले उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजमा ७ लाखसम्म अनुदान ऋण दिन व्यवस्था मिलाउने भनेको थियो । यसैगरी विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी सीप भएका युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको ऋण उपलब्ध गराउने भनिएको थियो । खै त उल्लेखित योजना कहाँ लागू भएका छन् ? यी त सबै राजनीति टिकाउनका लागि भन्ने कुरा मात्र भएका छन् ।

अन्त्यमा, देशमा राजनीतिक परिवर्तन भए तापनि नेपाली समाजको जीवनमा परिवर्तन हुन सकेको छैन । नागरिकको सामाजिक र आर्थिक जीवन कमजोर बन्दै गएको छ । भ्रष्टाचार, दुराचार, अत्याचार, नातावाद र कृपावाद मौलाइदिँदा प्रतिभावान् युवामा नैराश्यता चुलिएको छ । कतिपय युवा सरकारका कमी, कमजोरीप्रति गोलिएर लागेका छन् । भ्रष्टाचारविरुद्धमा खनिएका छन् । तर, जनताका प्रतिनिधि आवाजलाई सुन्ने, विचार गर्ने र समाधानका उपाय अवलम्बन गर्ने राज्यको अभावका कारण उनीहरू निराश छन् । राज्यको कार्यशैलीका कारण स्वदेशमा बाँकी रहेका युवा निराश भएर विदेशतिर नै पलायन हुने अवस्था छ । राज्यले उल्लिखित वास्तवितालाई बुझेर युवापुस्ताले स्वदेशमा कमाएर जीवन चलाउन सक्ने अवसरका ढोका खोलिदेओस् ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ