सिन्धुली । कोरोनाका कारण होम आइसोलेसनमा बसेकी ८० वर्षिय महिलाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका वडा नम्बर २ की एक ८० वर्षीया महिलाको कोरोना संक्रमणका कारण आइतबार विहान मृत्यु भएको हो । कोरोना संक्रमणको उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकी महिलालाई परिवारले घरमा लगेका थिए ।
सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको मृत्यु भएको पुष्टि गरेका छन । कोरोनाको दोस्रो लहर चलिरहँदा जिल्लाभित्र कोरोनाकै कारण ज्यान गएको यो पहिलो घटना हो ।
जिल्लाको ९ स्थानीय तहमध्ये अहिलेसम्म ६ वटा स्थानीय तहमा कोरोना संक्रमणका बिरामी देखिएका छन । जिल्लाको कमलामाई नगरपालिकामा ४७ जना, दुधौली नगरपालिकामा २९ जना, सुनकोसी गाउँपालिकामा १३ जना र तीनपाटन गाउँपालिकामा ३ जना, मरिण गाउँपालिकामा २ जना र फिक्कल गाउँपालिकामा १ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।






