मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति कस्तो छ भनी सार्वजनिक रूपमै मूल्यांकन गरिन्छ । आदर्श र नैतिकवान व्यक्ति पनि कतिपयको नजरमा आलोचक बन्न पुग्छन् । व्यक्तिको बहुआयामिक पक्षलाई विस्तृत रूपमै बुझ्ने र मूल्यांकन गर्ने दृष्टिकोण सबैमा समान नहुने भएकैले एउटै व्यक्ति कतिपयको नजरमा उत्कृष्ट मानिन्छ भने कतिको नजरमा उही व्यक्ति सामान्य ठानिन्छ । यसलाई सामान्य रूपमा लिनुपर्छ । सबैका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । यसैका आधारमा कोही समाजमा चर्चित बन्छ त कोही अलोचक । काम गर्ने व्यक्तिले नै बढी आलोचना सहनुपर्छ । आफ्नो ’boutमा प्रशंसा होइन आलोचना सुन्ने महान् व्यक्तिको विशेषता हो । किनकि प्रशंसाले त व्यक्तिलाई चुलीमा पु¥याएर शिथिल गराउँछ तर आलोचनाले कमीकमजोरी सच्याउँदै सफलताको शिखरमा पु¥याउन निरन्तर जागरुक गराउँछ । राजनीतिज्ञले अवलम्बन गर्नुपर्ने यो महत्वपूर्ण कुरा हो ।

सहकार्यको साझेदारी नभए पनि एउटै गाउँको बासिन्दाका हैसियतले बाल्यकालदेखि अहिलेसम्म मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविछिन्न अध्ययन अवलोकन गर्दै आएको छु । ओलीलाई हेर्ने मेरो दृष्टिमा, दृष्टिदोष पनि हुन सक्ला जसको कारण मेरो दृष्टिकोण अरूको जस्तो नहुन सक्छ । तथापि केपी ओलीकै राजनैतिक सहकर्मी, निकटतम सहयोगी, विरोधी एवं प्रतिपक्षसँगै राखेर उनलाई तुलनात्मक रूपमा अध्ययन गर्दा मैले पाएको केपी शर्मा ओलीको नितान्त व्यक्तिगत व्यवहार र कार्यशैलीमा आधारित टिप्पणी यहाँ प्रस्तुत गरेको छु । यसलाई अन्यथा नठानीदिन अनुरोध गर्छु । साथै ओलीको सम्माननीय प्रधानमन्त्रीको पदीय हैसियतसँग भने यो टिप्पणी सम्बन्धित छैन, किनकि प्रधानमन्त्रीको पदीय हैसियत, पदीय गरिमा, कार्यसम्पादन प्रणाली एवं कार्य प्रकृतिको आफ्नै विशेषता हुन्छ । गहन सार्वजनिक दायित्व वहन गर्ने व्यक्तिको पदीय दायित्व सम्पादनमा व्यक्तिगत व्यवहार र कार्यशैलीको अन्तरसम्बन्ध भने रहन्छ । यस आलेखमा मैले अनुभूति गरेका केपी शर्मा ओलीको व्यक्तिगत बानीव्यहोरा, जविनशैली र व्यक्तित्वसँग सम्बन्धित विषय वस्तुलाई नै स्रोत सामग्री बनाएको अवगत गराउँछु ।

कुशल र दृढ नेतृत्वः केपी शर्मा ओलीमा विद्यार्थी जीवनदेखि देखापरेको नेतृत्व क्षमता क्रमिक रूपले सुदृढ र विस्तारित हुँदै अहिले राष्ट्रियस्तरमा फैलिएको छ । ओलीमा एक कुशल र दृढ नेतृत्वमा हुनुपर्ने गुण र क्षमता छ । यसले अहिलेसम्म नेपाली जनतालाई प्रभावित बनाउँदै ल्याएको छ । गन्तव्यतर्फ क्रियाशील रहँदा पहिल्याउँदै जानुपर्ने मार्ग पनि सबैका लागि सधैं प्रशस्त भइरहँदैन । कतिपय स्थानहरूमा खाल्टाखुल्टी हुन सक्छन् । कति स्थानमा अवरोधको पहाडै ठडिएको हुन सक्छ । बाटोमा आइलागेका यस्तै चुनौतीसँग डराउने व्यक्ति सफलताको शिखरमा पुग्दैन । त्यस्तो व्यक्तिको नेतृत्व दृढ र सफल पनि हुँदैन । यो एक कुशल नेतामा हुने गुण होइन । जघाँर पनि तर्न खोज्ने तर खुट्टा पनि कमाउने व्यक्तिको नेतृत्व कुशल हुन सक्दैन । आइलाग्ने जस्तोसुकै परिस्थितिलाई सामना गरी अगाडि बढ्ने व्यक्ति नै सफलताको शिखरमा पुग्छ । चुनौतीको पहाड भत्काउन व्यक्तिमा आवश्यक पर्ने गुण भनेकै दृढ अठोट, उत्साह र साहस, आत्मबल, निरन्तर प्रयास एवं असफलतालाई स्वीकार गर्दै निरन्तर अगाडि बढ्ने जुझारु प्रवृत्ति हो । केपी शर्मा ओलीमा यस्तो आदम्य साहस र उत्साह छ, जसले उनलाई कुशल र दृढ नेतृत्ववाहक नेताकै रूपमा चिनाउँछ ।

ओली अत्यधिक आलोचनाका बाबुद पनि पदमा रहिरहनुको मुख्य कारण नै उनको राजनीतिक चातुर्यता हो

राष्ट्रभक्त आदर्श व्यक्तित्वः केपी ओली राष्ट्रभक्तिले अभिप्रेरित व्यक्ति हुन भन्ने कुरा उनका पछिल्ला काम कार्यले नै पुष्टि गर्दै ल्याएको छ । राष्ट्रभक्तिको भावना सबैको समान नहुन सक्छ । आफूमा निहित राष्ट्रभक्तिलाई स्वार्थमा सम्झौता गर्ने उच्च पदस्थ व्यक्ति विगतमा पनि थिए, अहिले पनि छन् । कनिष्ट व्यक्तिमा राष्ट्रभक्तिको भावना नहुने वरिष्ठमा हुने भन्ने कुरा हुँदैन । सामान्य नागरिक पनि राष्ट्रभक्तिको उदाहरण बनेका सयौं दृष्टान्त छन् । हाम्रै वीर पुर्खाले राष्ट्रभक्तिको निम्ति पु¥याएको योगदानको छाप हाम्रो मनमस्तिष्कबाट कहिल्यै हट्न सक्दैन । विगतका केही उच्चस्तरीय राजनीतिक व्यक्तिकै राष्ट्रभक्तिको भावना हेर्ने हो भने तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको कार्यकालमा २००९ सालमा नेपाली सेनाको सुदृढीकरणको लागि झिकाइएका भारतीय सैनिक अहिलेसम्म कालापनी क्षेत्रबाट हटेको छैनन् । मातृकाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालसम्म २० जना नेपालका प्रधानमन्त्री बने । राजाकै कुरा गर्ने हो भने त्रिभुवनदेखि ज्ञानेन्द्रसम्मको तीनपुस्ताका चार जना राजा भए । तर उनीहरू चौबिसै जनाले भारतीयले कब्जा गरेको भूमि हाम्रो हो । भारतीय सेना सो क्षेत्रबाट हटोस् भनेर भारतीय समकक्षीसँग स्पष्टसँग कुरा राख्ने हिम्मत गरेनन् । उल्टै आफ्नै अतिक्रमित क्षेत्र कटौती गरेरै नेपालको नक्सा प्रचलनमा ल्याए । यसो गर्नुको मुख्य कारण उनीहरूको सत्ता लिप्सालाई राष्ट्रिय भावनासँग सम्झौता गर्नु नै थियो । केपी शर्मा ओलीले अतिक्रमित आफ्नो भूमि समेटेर कमसेकम नेपालको नक्सा त बनाए । भारतीय सेना सो क्षेत्रबाट फर्कियोस् भन्ने उद्घोष पनि गरे । तर पछिल्लो नक्सालाई प्रचलनमा ल्याउन उनले तत्परता देखाएका छैनन् । तथापि यो उनको राष्ट्रभक्तिको अनुपम नमुना हो । नयाँ नक्सा सबै क्षेत्रमा उपयोगमा ल्याइयोस् । नेपाली नागरिकहरू यही चाहन्छन् ।

निर्णायक क्षमता अब्बलः केपी शर्मा ओलीमा अनुकरणीय निर्णायक क्षमता छ । जुन नेतामा हुनुपर्ने महत्वपूर्ण विशेषता हो । उच्च ओहदामा रहने व्यक्ति अनिर्णयको बन्दी बने देश र जनताको कल्याण हुँदैन । राज्य सञ्चालन गर्दा, राजनीति गर्दा, महत्वपूर्ण निर्णय गर्नुपर्दा, मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक चुनौती आइलाग्दा, कार्यकारी प्रमुखले उत्पन्न परिस्थिति’bout तत्कालै विविध कोणबाट विश्लेषण गरी निर्णय गर्नुपर्नेहुन्छ । अन्यथा छोटो समयमै समस्या झन् भयावह र विकराल नै बन्न पुग्छ । मौकामा गरिने उचित निर्णय नै समस्या समाधानको अचुक अस्त्र पनि हो । मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटना क्रमको सन्दर्भमा ओलीले लिएका निर्णयले ओली आफैंलाई मजबुद बनाएको देखिन्छ । यस क्रमको ओलीको निर्णायक क्षमता अब्बल र दुरदृष्टिमा आधारित भएको पुष्टि हुन्छ । अवस्थाअनुसार लिनुपर्ने निर्णय सबैका लागि मान्य नहुन सक्छ । न त सबैको मान्य हुने उद्देश्यले नै निर्णय गरिन्छ । व्यक्ति वा समूह रिझाउन होइन देश र जनताको हितमा निर्णय आयो आएन भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण हो ।

परिस्थितिअनुसार चल्न सक्ने खुबीः केपी ओलीले आफूमा परिस्थितिअनुसार चल्न सक्ने खुबी छ भन्ने कुरा युवा अवस्थाबाटै प्रदर्शित गर्दै ल्याएका हुन् । २०२९ सालकै ओली सम्बद्ध एक घटना यस व्यवस्थाकारको बालमनस्थितिमै घुसेको र अहिलेसम्म ताजै रहिरहेको छ । जुन स्मरण गर्न लायक छ । झापा काण्डपछि त्यसताकाका युवा कम्युनिस्ट नेता सबै चिल्ली बिल्ली भई भूमिगत भए । केपी ओली सुरक्षित बन्ने उद्देश्यले तेह्रथुमको आठराई इवास्थित जन्मथलो पुगेको सुइँको प्रशासनले पायो । प्रशासनको धरपकडबाट बच्न स्थानीय तमोर खोला किनारमा लुकामारी गर्दै भागेका केपी ओली सुरक्षाकर्मीसहितको दलबलको घेराभित्र पर्दा प्रशासनले एकपट्टिको प्राकृतिक मजबुद घेरा ठानेको तमोर नदीमै हाम फालेर पारीपट्टि ताप्लेजुङ क्षेत्रमा उतिखेरै उत्रिए । प्रारम्भमा त खड्ग ओलीलाई सुरक्षकर्मीले जीवितै तमोरमा फाल्यो भन्ने हल्ला नै चल्यो तर वास्तविकता त्यो थिएन । त्यो हल्लाले उनको आयु बढायो । तमोर नदीमा हाम फाल्ने कुरो सामान्य थिएन । किनकि अरुणपछिको तमोर सप्तकोसीको दोस्रो ठूलो सहायक नदी हो । जहाँ जोसुकैले सामान्य अवस्थामा पौडिएर वारपार गर्न सक्दैन । ओलीमा परिस्थितिलाई टेकल गर्ने क्षमता उच्च छ ।

लगनशिलताः केपी ओली आफ्नो सिद्धान्तप्रति, काम कर्तव्यप्रति, उद्देश्यप्रति सधैं लगनशील र दृढ भई लागि पर्दछन् । यही लगनशिलताले उनलाई सफलताको सिँढी चढाउँदै अहिलेको अवस्थामा ल्याइपु¥यायो । आफ्नो अठोट र उद्देश्यप्रति ओलीले कहिल्यै कसैसँग सम्झौता गरेनन् । युवा अवस्थादेखिको उनको अविचलित लगनशलिता नाता सम्बन्धको बन्धनले घेरिएन । आफ्ना काम कर्तव्यमा बाधक बन्ने आफन्तसमेत उनको विश्वास र नजरबाट अलगिँदै गए । यसलाई अहिले पनि ओलीले निरन्तरता दिँदै आएका छन् ।

सोचलाई कार्यमा परिणत गर्ने व्यक्तिः हुन त ओलीको बोली चटकेशैलीको भन्ने टिप्पणीकार पनि प्रशस्त छन् । प्रधानमन्त्रीको पदीय हैसियतमा उनीद्वारा व्यक्त विचारमध्ये कतिपय व्यवहारमा नउत्रिएको कारण यस्तो टिप्पणी आउनु अस्वाभाविक होइन । उनले उद्घोष गरेका विषयवस्तुमध्ये कतिपय पूरा भएका छैनन् । अधिकांश त पूरा हुँदै आएका छन् भन्ने कुरा कसैको नजरमा छिपेको छैन । अन्य राजनीतिज्ञले जस्तै आमनागरिकलाई प्रभावित गराउने राजनीतिकशैली ओलीबाट प्रयोग नभएको होइन । यस्तो संस्थागत राजनीतिक शैली छोडेर ओलीको नितान्त व्यक्तिगत कार्यशैलीलाई हेर्दा मैले उनीमा वचनबद्धताप्रति कटिबद्ध, सोचेको र गर्छु भनेको कार्य पूरा गर्ने व्यक्तिका रूपमा लिन्छु । यही विशेषताले केपी ओलीलाई राजनीतिक उचाइमा पु¥याएको हो ।

सामान्यतया असक्षम व्यक्ति जनविश्वासको धरातलमा टेकेर राजनीतिमा स्थापित हुन सक्दैन

नेता कार्यकर्ता प्रभावित बनाउने कलाः सहकर्मी नेता, पार्टीका कार्यकर्ता र सर्वसाधारण नागरिकलाई प्रभावित बनाउने कला केपी ओलीमा छ । यो नेतामा हुनुपर्ने आदर्श गुण हो । एकोहोरो सोचविचार भएको अदूरदर्शी व्यक्ति राजनीतिको कुशल खेलाडीमा स्थापित हुन सक्दैन । आदर्श राजनीतिज्ञमा रोइरहेकालाई हँसाउने, हाँसी रहेको हाँसो नटुटाउने तथा सर्वसाधारण जनतालाई प्रभावित बनाउने आकर्षक कला हुनुपर्छ, जुन केपी शर्मा ओलीमा छ । आफूमा भएको कलाकारिताकै विशेषतालाई वाक चातुर्यताकै माध्यमबाट प्रयोग गर्दे प्रतिद्वन्द्वी र प्रतिपक्षी एवं विरोधीलाई नै आफ्नो बसमा ल्याउन सक्ने खुबी ओलीमा छ । केपी ओलीले निरन्तर जनताको साथ पाउनुको कारण पनि यही हो ।

खरो स्वभावः निर्णायक तहमा रहेको व्यक्तिले सबैको कुरा सुन्नुपर्छ । सुनेको कुरालाई विविध कोणबाट आफैंले विश्लेषण गर्नुपर्छ । निर्णय गर्नु पहिले उचित निष्कर्षमा पुग्नुपर्छ । जसले जे भन्छ त्यही ठीक भनी लैवरीमा चल्ने व्यक्ति निर्णायक क्षमतामा कमजोर ठानिन्छ । यो राजनेतामा हुने अवगुण नै हो । यसैले नेतृत्व गर्ने व्यक्ति लुरे र फित्तलो हुनुहुँदैन । शारीरिक रूपमा दुर्बल भए पनि मानसिक रूपमा सबल र खरो व्यक्तिको नेतृत्व प्रायः गरी सफलै हुन्छ । उसको स्वभावले जनतालाई प्रभावित बनाउँछ । त्यस्तो व्यक्तिप्रति जनता पनि आकर्षित हुन्छन् । आशा र भरोसा गर्छन् । मैले केपी ओलीमा यस्तै खरो स्वभाव भएको अनुभूति गरेको छु । हुन त खरो स्वभाव अधिकांशका लागि स्वीकार्य हुँदैन । नरम, मिजासिलो र मृदुभाषी तर हुतिहरा निम्जो व्यक्तिभन्दा खरो स्वभावको दृढ नेतृत्व राष्ट्र र जनताको हितका निम्ति उपलब्धिपूर्ण बन्छ । यही विशेषताले केपी ओलीप्रति जनता आकर्षित भएका हन् ।

रिझाउने शैलीः केपी ओलीमा राजनीतिक कार्यकर्ता मात्र होइन जनता रिझाउने खुबी छ । आवश्यकताको पहिचान गर्न र त्यसलाई जनचाहना अनुरूपै सम्बोधन गरी जनता रिझाउन कुन ठाउँमा कुन समयमा कस्तो कार्य गर्नुपर्छ भन्ने कुरामा केपी ओली निपूर्ण छन् । दृष्टान्तका निम्ति ओलीको भ्युटावर निर्माणलाई नै लिन सकिन्छ । केन्द्रदेखि स्थानीय तहसम्म कतिपय स्थानमा अहिले भ्युटावर निर्माण भइरहेको छ । आलोचकले यसलाई ‘मुखमा मोही छैन खुट्टामा घिउ’ उपमा दिएका छन् । तर, सम्बन्धित क्षेत्रका बासिन्दाले भने यसलाई प्रशंसनीय ठानेका छन् । यसैगरी कुन स्थानका बासिन्दाको आवश्यकता के छ ? र त्यसलाई पूरा गरी उनीहरूलाई आफूप्रति कसरी आकर्षित बनाउन सकिन्छ भन्ने कुरामा निपूर्ण ओलीले मुलुकको विभिन्न पकेट क्षेत्रमा नागरिकका निम्ति विविध विकास निर्माणको कार्य प्रारम्भ गर्दै आएका छन् ।

उच्च मनोबल र आत्मविश्वासः उच्च मनोबल र आत्मविश्वास व्यक्तिमा हुने विशिष्ट गुण हो उच्च मनोबल र आत्मविश्वास हुने व्यक्तिले गर्छ भनी सोचेको कार्य सोचसँगै ५० प्रतिशत सम्पन्न भएको अनुभूति हुने तथा बाँकी ५० प्रतिशत पनि पूरा हुने ठानिन्छ । हरेस नखाने, लक्षित कार्य सम्पन्न पार्न लागिपर्ने व्यक्तिले उद्देश्य पूरा गरेरै छोड्छ । यो गुण केपी शर्मा ओलीमा छ । प्रतिकूल परिस्थितिमा पनि विचलित नहुने, समस्या र चुनौतीलाई सामान्य ठान्ने, चिन्तामा नडुब्ने, शिर नझुकाउने, शारीरिक असक्ततालाई परवाह नगर्ने ओलीको शैली उच्च मनोबल र आत्मविश्वासको प्रतीक हो । सबैसँग यस्तो गुण हुँदैन । सफलताको शिखरमा पुग्न व्यक्तिमा यस्तो गुण अपरिहार्य ठानिन्छ । यही विशेषताले केपी ओलीलाई राजनीतिक कुशल खेलाडीमा स्थापित गराएको हो ।

सामान्यतः असक्षम व्यक्ति जनविश्वासको धरातलमा टेकेर राजनीतिमा स्थापित हुन सक्दैन । स्थापित राजनीतिज्ञमा परिस्थितिजन्य चुनौतीलाई बसमा ल्याउने क्षमता हुन्छ । विरोधकै लागि विरोध गर्ने शैलीले त सक्षम व्यक्तिलाई थप ऊर्जा प्रदान गर्ने भएकाले सावधानीका साथ अगाडि बढ्ने प्रेरणा प्रदान गर्छ । जनधरातलमा उभिएको सक्षम र दृढ व्यक्ति आफैंमा मजबुद हुने भएकाले चुनौती पनि उसको निम्ति प्रभावहीन हुन्छन् । केपी शर्मा ओली अत्यधिक आलोचनाको बाबुद पनि पदमा रहिरहनुको मुख्य कारण नै उनको राजनीतिक चातुर्यता हो ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

epaper

ताजा समाचार

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई