डिजिटल प्लेटफर्म खोज्नुपर्ने सिनेकर्मीको भनाइ

काठमाडौं । कोरोना संक्रमणका कारण १६ वैशाखदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा लकडाउन सुरु भएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यतीबेला डिजिटल माध्ययमबाटै भर्चुअल रूपमा आयोजना गरिएको छ । यो महोत्सवमा अनलाइनबाटै फिल्म देखाउने र बहस तथा अन्तरक्रिया गर्ने क्रम जारी रहेको छ । निफद्वारा आयोजित यो महोत्सवका चौथो दिन आइतबार कोरोनापछिको नेपाली चलचित्र विषयक अन्तक्र्रिया गरिएको छ ।

महोत्सवमा आइतबार भएको बहसमा कोभिडका कारण सिनेमा हल बन्दको क्रम लम्बिने भन्दै सिनेकर्मीले चिन्ता व्यक्त गरेका छन् । नेपाली सिनेमा भनेकै थियटर कल्चर भएकाले हलमा चलचित्र प्रदर्शन रोकिएकोमा उनीहरूले चिन्ता पोखेका हुन् ।

सो कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र निर्माता अर्जुन कुमारले कोरोनाका कारण चलचित्रका सबै क्षेत्र मारमा परेको हँुदा हलबाहेक अन्य विकल्प खोज्नुपर्ने अवस्था आएको छ भने, ‘युट्युवबाहेकका अन्य माध्यमबाट चलचित्र हेर्नेको संख्या अत्यन्तै न्यून रहेको छ । हाल नेपाली सिनेमा हेरिएको नभई जबर्जस्ती देखाइएको अवस्था रहेको छ ।’ त्यसैले नेपाल टेलिभिजनलगायत सरकारी निकायबाट चलचित्र हर्ने सजिलो माध्यम बनाइनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अभिनेत्री एवं चलचित्र निर्माता रेखा थापाले नेपाली चलचित्र हलमा हेर्न नै रमाइलो हुने कुराको जिकिर गरिन् । डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भए पनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा हाललाई उपयुक्त नहुने यी अभिनेत्रीको कथन थियो ।

अभिनेत्री थापाले भनिन्, ‘म्युजिक भिडियो र सानो पर्दाका टेलिफिल्मको छायांकन तथा निर्माण भइरहेको छ । तर, ठूला चलचित्रको छायांकन र निर्माण अझै राम्ररी सुरु नभएको अवस्था रहेको छ ।’ त्यसैले सरकारले गरेको निषेधाज्ञा खुलेको अवस्थामा पनि चलचित्र क्षेत्र नियमित गतिविधिका पहिले झंै फर्कन आझै आधा वर्षभन्दा बढी समय लाग्ने रेखाले बताइन् । अहिलेको यो अवस्थाले चलचित्रकर्मीलाई लामो समय बेरोजगार बनाउने यी अभिनेत्रीको कथन थियो । यस्तै अवस्थाले सिनेकर्मीले वैकल्पिक पेसा रोज्न बाध्य हुनुपर्ने पनि उनले बताइन् ।

नेपाल चलचित्र संघका महासचिव तथा चलचित्र निर्माता अशोक शर्माले चलचित्र हलमै हेर्ने प्रचलन रहेकाले यसलाई हलमै रिलिज गर्नुपर्नेमा जोड दिए । सिनेमा बनेपछि चलचित्र घरमा फिल्म प्रदर्शन गराउन प्रचारप्रसार गरिन्छ । दर्शक पनि सिनेमालाई हलमै हेर्न रुचाउने गरेको उनले बताए । त्यसैले सिनेमाको प्रारम्भिक बजार भनेको फिल्म हल नै भएको हुँदा पारिवारिक एवं बाहिरी दृष्टिकोणले पनि यसलाई उपयुक्त रूपमा लिन उनले आग्रह गरे ।

फिल्म हलको अहिलेको अवस्था’bout महासचिव अशोक शर्माले भने, ‘अहिले काठमाडौंको जय नेपाल हल बन्द भयो भने कुमारी हल बन्द हुने अवस्था छ । यो कोरोना अवधिमा २२ वटा सिनेमा हल बन्द भएको अवस्था छ भने मल्टिपेल्सहरू पनि भाडामै सञ्चालन भएको हुँदा टिक्ने अवस्था न्यून रहेको छ ।’ कोरोना महामारी लम्बिँदै गयो भने १० वर्ष चलचित्रमा असर पार्ने पनि अशोक शर्माले बताए । सोही कार्यक्रममा बोल्दै नेट टिभीका सञ्चालक मनोज अग्रवालले कोरोनाको महामारीलाई चलचित्र जगत्लाई अवसरमा बदल्न सकिने बताए ।

बनिसकेका चलचित्रलाई रेभिन्यु सेयरिङबाट पनि डिजिटल प्लेटर्फममार्फत प्रसारण गर्न सकिने सुझाव उनले कार्यक्रममा राखे । नेटफिलिक्स, एमाजोनको उदारण दिनै अब डिजिटल प्रविधिबाट नेपाली चलचित्रलाई लान सकिने उनको जानकारी गराए । चलचित्र आमाको डिजिटल प्रविधिबाट राम्रो आम्दानी भएको स्मरण गर्दे हलको विकल्पमा नयाँ प्रविधि खोज्नुपर्ने उनको भनाइ छ ।

यसरी सिनेकर्मीबीच आइतबार बहस चलिरहँदा निफमा विभिन्न फिल्म देखाउने कार्य पनि गरियो । महोत्सव अध्यक्ष केपी पाठकका अनुसार कोरोनाका कारण लकडाउन भएपछि हलमा महोत्सव गर्न सकिएन । त्यसैले डिजिटल प्लेटर्फमबाटै विभिन्न बहसको सञ्चलनसँगै सिनेमा देखाउने कार्य जारी रहेको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

आज आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै