काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीविचको संवाद सकारात्मक भएको छ । चार घण्टा चलेको वार्तापछि नेता नेपालले तत्कालका लागि सांसदहरुको राजीनामा टरेको बताएका छन् ।
वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले राजीनामा दुई/चार दिनलाई टरेको र कार्यदल बन्छ बन्ने जानकारी दिए ।
सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माधव नेपाल समुहले एमालेको पार्टी कमिटी पनि २०७५ जेठ २ मा फर्किनुपर्ने अडान राख्दै आएको छ । अध्यक्ष ओली जेठ २ मा फर्किन तयार छैनन् ।
बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।







