निषेधाज्ञा कहर : बिरामी कुरुवा भोक भोकै

धनकुटा । कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा धनकुटा अस्पतालका विरामी कुरुवा भोकभोकै भएका छन् । होटल बन्द भएका कारण खाना खान नपाउँदा विरामी कुरुवा भोकभोकै बस्न बाध्य भएका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रशासनले धनकुटा नगरक्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म नौ दिन निषेधाज्ञा जारी गर्यो । तर, संक्रमण घट्नुको सट्टा उल्टै बढ्दै गएपछि बैशाख ३१ गते राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न दिइएको छैन । दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्न दिइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

होटल, रेष्टरेन्ट, खाजा तथा चिया पसलहरु बन्द गराइएको छ । अस्पतालबाट घर नजिक हुँनेहरुले घरबाटै खाना ल्याएर खाने गरेका छन् भने बजारमा आफन्त हुनेहरुलाई पनि खासै गाह्रो छैन । तर, टाढाबाट उपचारका लागि धनकुटा जिल्ला अस्पताल आएकाहरुले खान नपाएर भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् । छोरा विरामी भएर उपचारका लागि धनकुटा जिल्ला अस्पताल लिएर आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमर्जुङका खगेन्द्र भट्टराईले होटल बन्द हुँदा दुई दिनदेखि खाना खान नपाएको गुनासो गरे । ‘हस्पिटल आसपासका सबै होटलहरु बन्द छन्, होटल नखुल्दा खाना खान पाइएन् ।’ उनले भने, ‘यहाँ भएका क्यान्टिनमा पनि खान खुवाउन छोडेका रहेछन्, केही उपाय नपाएपछि चाउचाउको भरमा दिन कटाउँनु परिरहेको छ ।’

खगेन्द्र जस्तै घर टाढा भएका र अस्पताल नजिक आफन्त नभएका अन्य विरामीका आफन्तको पनि पीडा उस्तै छ । हस्पिटलमा भएका क्यान्टिनले कोरोना संक्रमण र निषेधाज्ञाको कारण देखाउँदै खाना बेच्न छोडेको विरामीका आफन्तले गुनासो सुनाए । यता, अस्पतालमा भर्ना भएका विरामीलाई भने सरकारी खर्चमै अस्पतालले खानाको व्यवस्था मिलाउँने गरेको छ । जिल्ला अस्पतालमा अहिले ६ जना विरामी भर्ना छन् । दुई जना सोमबार डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा