रहेनन् साहित्यकार प्रा. राजेन्द्र सुवेदी

काठमाडौं । साहित्यकार तथा प्रा. राजेन्द्र सुवेदी अब हामीमाझ रहेनन् । उनको ७६ वर्षको उमेर सोमबार बिहान उपचारका क्रममा कोरोना संक्रमणबाट निधन भएको छ ।

काठमाडौंको बाँसबारीस्थित समालोचक स्रष्टा सुवेदीको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनको निधन भएको हो । पछिल्लो समय उनको सो अस्पतालमा भेन्टिलेटरमा राखेर कोरोनाको उपचार भइरहेको थियो ।

दुई साताअघि ज्वरो आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । सो क्रममा कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि ह्याम्स अस्पतालमा राखेर उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ह्याम्सबाट उनलाई गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सारेर उपचार थालिएको परिवारजनले बताएका छन् ।

उनको सोमबार अपराह्न पशुपतिमा दाहसंस्कार सम्पन्न भएको छ । साहित्यकार राजेन्द्र सुवेदीका परिवारमा श्रीमती, एक छोरा र तीन छोरी छन् ।

दिवंगत सुवेदीको जन्म २००२ साल साउन १९ गते पाँचथरको अमरपुरमा भएको थियो । नेपाली साहित्यमा स्नातकोत्तर सुवेदी नेपाली भाषाको विज्ञ थिए । उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग कीर्तीपुरमा ३८ वर्ष नेपाली विषय पढाएका थिए । सो क्रममा उनी केही समय त्रिवि केन्द्रीय कार्यालय नेपाली विभागको प्रमुखसमेत भएका थिए ।

प्राध्यापनसँगै लेखनमा पनि त्यत्तिकै सक्रिय सुवेदी नेपाली साहित्य क्षेत्रमा समालोचक, निबन्धकार र उपन्यासकारका रूपमा चिनिएका छन् । उनले नेपाली भाषा, व्याकरण र स्कुल तथा कलेजका नेपाली पाठ्य सामग्रीमा आधारित दर्जन बढी पुस्तक एकल तथा संयुक्त लेखन गरेका थिए ।

सहित्य क्षेत्रमा उनको पछिल्लो उपन्यास ‘धितो कोख’ दुई वर्षअघि प्रकाशन भएको थियो । उनका धितो कोखसहित सुद्युम्न र स्वप्न संसार गरी तीनवटा उपन्यास प्रकाशित छन् । उनका डेढ दर्जन बढी साहित्यिक कृति छन् । निबन्ध र समालोचनाका सिद्धहस्त सुवेदी राम्रा कवि पनि थिए । खाली ‘सिसी पुराना कागज’ चर्चित निबन्ध संग्रह हो ।

बनारसबाट प्रकाशित ‘मञ्जरी’ र समर्पण’ तथा ‘वाङ्मय’ पत्रिकाको सम्पादन गरेको सुवेदीले गोरखापत्र संस्थानको अध्यक्ष र महाप्रबन्धकसमेत भएर काम गरेका थिए । उनले नेपाल प्राज्ञ प्रतिष्ठानमा रहेर विभिन्न पुस्तकको सम्पादनसमेत गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै साहित्यकार तथा प्राध्यापक राजेन्द्र सुवेदीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 918 times, 1 visits today)

epaper

ताजा समाचार

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार