अप्सरा दिदी तिमीलाई सेतो सारीमा कसरी हेर्नु ?

 

फागुनको महिना थियो । स्कुल लागेको दुई महिना पूरा भएको थिएन । कतिपय विद्यार्थीले किताबमा गाता हाल्न भ्याएका थिएनन् । राम्रो गाता हाल्नेले थपलियाको पसलमा गैंडा चुरोटको पेटी अर्डर गर्थे, एक सुक्का पथ्र्यो एउटालाई । ‘फस्ट कम फस्ट सर्भिस’ थियो । कतिपयले गातै नहाली वर्ष कटाउथे । जे होस् एकखालको उमंग थियो गाउँमा । हिउँदका दिनमा खास काम हुन्थेन । गाउँमा बिहे ब्रतबन्ध हुन्थ्यो । झैंझैं बाजा बजाउँदै जन्ती आउने जाने गर्थे । समी भन्ज्याङमा बसेर कालो चश्मा लगाएर कार्पेसमा बसेको दुलहा हेर्दा खुब मज्जा आउँथ्यो ।

गाउँमा हल्ला चल्यो । अप्सरा दिदीको बिहे हुने भो । नातेदारमै बिहे हुने भएपछि उत्साह अलि बढी नै हुन्थ्यो । सेलरोटी च्युरा, कसार खान पाइने । लिंगा चौकाका लागि पँधेरामा कहाँ राम्रो फूल फूलेको छ टिप्ने जिम्मा हाम्रै भागमा पथ्र्यो । छिमेकमै बिहे पर्दा दुई दिन स्कुल नगए पनि सरहरुले किन नआएको भन्दैन थे ।

अप्सरा दिदीको बिहे हुने कुरा हुने बित्तिकै महिलाहरुले काम पाए पात टिप्ने दुना टपरी लगाउने, सिन्का चिर्ने बत्ती कात्ने आदि । धान कुट्नका लागि अमराईमा रहेको भट्टराईको मिलमा जानु पथ्र्यो । आँगनभरि मान्द्रो फिँजियो । भकारीका धान झिक्दै बिस्कुन सुकाउन थाले भाउजु बुहारीहरु । पुरुषहरुको काम भोजका लागि दाउराको जोहो गर्ने, भोजमा दाल, भात तरकारी पकाउन खड्करो जम्मा गर्ने काम । हाम्रो सदाबहार काम थियो । जगियाको लागि फूल बटुल्ने ।

‘क्रान्तीकारी बिहे हुने रे ।’ मन अलि खिसिक्क भयो । सेल, कसार, च्युरा खान नपाइने पो हो कि ? के हो क्रान्तिकारी विवाह राम्रोसँग थाहा थिएन ।

‘विद्यार्थी राजनीतिक गरेका केटा अरे । नलाङबाट जन्ती आउने रे ।’ हामीले त्यसभन्दा बढी बुझ्न चाहेनौ । सेल, कसार र च्युरा खान पाइएन भने हाम्रा लागि बिहे हुनु न नहुनु बराबर थियो । सोध्ने आँट पनि आएन ।

बिहेको मिति आयो, कसार बटारे, च्युरा ल्याए । सेल पनि पाक्यो । हाम्रो एउटा इच्छा पूरा भयो । जन्ते बाख्रो नल्याउने रे अप्सरा दिदीकै घरबाट खसी काटेर खुवाउने रे ।’ हाम्रो खुसीको दायरा थप फराकिलो भयो । जन्तिबाख्रो ल्याउँदा विवाहको दोस्रो दिन खसी काटेर जन्ती पक्षले मात्रै मासुभात खाने चलन थियो । दुलही पक्षले खसी काटेर खुवाउने भएपछि हामीले पनि भोजमा मासुभातै खान पाउने भयौं ।

अप्सरा दिदीको बिहे हुने कुरा हुने बित्तिकै महिलाहरुले काम पाए पात टिप्ने दुना टपरी लगाउने, सिन्का चिर्ने बत्ती कात्ने आदि । धान कुट्नका लागि अमराईमा रहेको भट्टराईको मिलमा जानु पथ्र्यो । आँगनभरि मान्द्रो फिँजियो । भकारीका धान झिक्दै बिस्कुन सुकाउन थाले भाउजु बुहारीहरु

आँगनमा लिंगा गाडिएन । पँधेराको फूल फूल्यो मात्रै । हामीलाई कसैले पनि टिप भनेर अह्एनन् । लिंगा नगाडे पनि हाम्रो भागको अर्को काम आइलाग्यो । पाँच बजेपछि स्कुलबाट बेञ्ची लिएर आउने । हामी मख्ख पर्दै केही बेञ्ची र अफिसमा भएका कुर्ची ओसा-यौं । आँगनकै एक छेउमा स्टेज बनाइयो । त्यही स्टेजमा अग्लो बाँसमा हसिया हथौडा अंकित झन्डा गाडियो ।

बिहे घर हेर्दाहेर्दै आमसभा स्थलजस्तै भयो । पाहुना पाच्छाले आँगन भरियो । स्कुलका सरहरु चार बजेपछि जम्मा भए । जन्ती आइपुगेपछि थाहा भयो क्रान्तिकारी बिहेको अर्थ । दुलहाले चश्मा लगाएका छैनन्, बाजा छैन, कार्पेस छैन । नमस्कार भन्दा पहिला जोड जोडले हात मिलाए हुनेवाला ज्वाइँ ससुरा र जेठानहरुले पालै पालो ।

दुई जना दुलाहा जम्मा २० जना जति जन्ती । (अप्सरा दिदीको सानीआमाकी छोरी भक्तिको पनि त्यही घरबाट एकै लगन बिहे भएको थियो ।) दुवै दुलहाको नाम बैकुण्ठ थर पनि एउटै अर्याल । गाउँ पनि एउटै । ‘दिदी बहिनी एउटै गाउँमा परे रमाइलै हुने भो ।’ बिहे छिने लगत्तै भाउजु बुहारीले कुरा गरेका थिए ।

अप्सरा दिदी गोरी थिइन् । स्कुल पढ्दा सरसफाइमा पुरस्कारै पाएकी थिइन् । कपाल जन्मदै कर्ली । अहिले भा भए ‘स्टाइलिस्’ हुन्थ्यो उ बेला तिनको कपालको भाउ थिएन । कर्ली हटाउन उनी प्रायः धागोले बाटथिन् । धागो फुकाल्ने बित्तिकै कपाल उस्तै कर्ली परिहाल्थ्यो । उनका दुलहा उस्तै राम्रा, ठूल्ठूला आँखा, खाइलाग्दो ज्यान । दिदीजस्तै गोरा ।

विवाह कार्यक्रम सुरु भयो । जगियामा पूजा पाठ भएन पण्डित आप्रीछापका डबाडी भिनाजुले केही मन्त्रोच्चारण गरेपछि बेहुला बेहुली स्टेजमा चढे । दुई बेहुला दुई बेहुली । आफ्ना आफ्ना बेहुला बेहुलीलाई माला लगाइदिए । हात मिलाए । हामी सबैले ताली बजायौं परर । सिन्दुर पोते एकछिनपछि गर्ने कुरा भयो ।

स्व. विष्णुप्रताप शाह (पूर्वअञ्चलाधीश) आउने कुरा थियो । हामी उनको प्रतिक्षामा थियौ । ‘उनी त राजा वीरेन्द्रको खास मान्छे अरे’ गाउँमा उनको ’boutमा कुरा हुन्थ्यो । उनी प्रायः काठमाडौं बस्थे बेला बेलामा मैदी जान्थे । अप्सरा दिदीका आफन्त कम्युनिष्ट विष्णुप्रताप शाहका खान्दानै पञ्च र कांग्रेस । सम्बन्ध राम्रो थिएन । दुई परिवारबीच खान्दानी ‘इगो’ को थियो । तर, विवाह ब्रतबन्ध जस्ता कार्यक्रममा निम्ता गर्थे र सहभागी हुन्थे पनि ।

साँझ झमम्म भयो । आँगनमा दुईटा मइन्टोल बालेको थियो । ४/५ जनाको साथमा विष्णुप्रताप शाह आए । नमस्कार आदान प्रदानपछि खाटमा बसे । ‘राजाको साथीजस्ता मान्छेले कसार च्युरा कसरी खान्छन् होला ?’ हाम्लाई एकखालको उत्सुकता थियो । हामी भुराभुरी खाटको बार समातेर शाहलाई हेर्न घेरा लाग्यौं । अप्सरा दिदीकी आमाले खाजा खाऔ भन्नु भो । त्यसरी विवाहमा आउने पाहुनालाई टपरीमा रोटी, कसार, च्युरा, झिलायाँ र अचार दिने चलन थियो । ‘हामीलाई अर्थोक पर्दैन कालो चिया खान्छौं ।’ भने शाहले । उनले कसार खाएको हेर्न हाम्रो इच्छा अधुरै रह्यो । विवाह सकियो अप्सरा दिदी घर गइन् ।

अर्को वर्ष हाम्रो एसएलसी दिने बेला भयो । सेन्टर धादिङबेसी । होटल त्यति धेरै थिएन । एसएलसीको बेला बजारमै १० दिनका लागि कोठा लिएर बस्ने चलन थियो । कोठा सजिलै पाइदैन थियो । ‘अप्सरा दिदीको घर छ पुछार बजारमा दुईटा कोठा खाली छ । त्यही बस्ने ।’

विवाह कार्यक्रम सुरु भयो । जगियामा पूजा पाठ भएन पण्डित आप्रीछापका डबाडी भिनाजुले केही मन्त्रोच्चारण गरेपछि बेहुला बेहुली स्टेजमा चढे । दुई बेहुला दुई बेहुली । आफ्ना आफ्ना बेहुला बेहुलीलाई माला लगाइदिए । हात मिलाए । हामी सबैले ताली बजायौं परर । सिन्दुर पोते एकछिनपछि गर्ने कुरा भयो ।

नारन, म, धर्मराज र अप्सरा दिदी (उनले पनि एसएलसी उत्तीर्ण गरेकी थिइनन् ।) चार जना दुई कोठा । स्टोप पकाउने भाँडा र भात खाने थाल केही पनि लान नपर्ने । हामी किताब, गेसपेपर, नुन बेसार, चामल र केही तरकारी झोलामा हालेर हिँड्यौं । अप्सरा दिदीको घर । किनकी धादिङबेसीमा रहेको उनको कोठाको साँचो नलाङमै थियो । साँचो लिएर त्यही दिन धादिङबेसीमा जाने योजनाका साथ हिँड्यौ तर, अप्सरा दिदीको सासुले जान दिनु भएन । आज त यही बस्नुपर्छ भनेपछि नारन (अप्सरा दिदीको भदा) र म (फूपुको छोरा) ज्वाइँ (बुहारीको भाइलाई ज्वाइँको सम्मान गर्ने चलन अहिले पनि छ गाउँमा) बनेर बस्यौं । भोलिपल्ट मात्रै धादिङबेसी गयौं ।

खासमा परीक्षा अवधिभर हाम्रो मुख्य काम पढ्नु मात्रै थियो । रुम पार्टनर नारनले पूरै जिम्मेवारी पूरा ग-यो । धर्मराजले र मैले पढाईसँग उटपट्याङ कुरा पनि गरेर १० दिन बितायौं । अप्सरा दिदी सोझी थिइन् । पढिन् जाँच दिइन् जाँच सकेपछि आफ्नै घर गइन् हामी हाम्रै घरतिर लाग्यौं ।

एसलएसलीको रिजल्ट भयो । एसएलसी पास गरेको मान्छे गाउँमा बस्ने कुरै भएन । हामी के न हुन्छ भन्दै काठमाडौं छिर्यौ । अप्सरा दिदी घर सम्हालेर बसिन् । अप्सरा दिदीसँग भेटघाट पातलियो । दसैंमा मामाघर जाँदा कहिलेकाँहि भेट हुन्थ्यो । भिनाजु असाध्यै कम बोल्थे । ‘नमस्कार भिनाजु’ भनेपछि के छ भनेर सोध्थे । ठीक छ भनेपछि संवाद सकिन्थ्यो ।

१५ वर्षपछि फेरि पुगेँ अप्सरा दिदीको घर नजिकै । मेरो ससुराली र अप्सरा दिदीको घर वल्लो पल्लो घर थियो । अप्सरा दिदीको देउरानी सीता पनि हामीसँगै पढेकी । नातामा मेरो श्रीमतीले काकी भन्नुपर्ने । टिकाटालोकै दिन भेट भयो अप्सरा दिदीसँग । म हुनेवाला बेहुलो गमक्क परेर बसेँ । आँगनमा गाउँका थुप्रै मान्छे थिए । त्यही भिडमा थिइन् अप्सरा दिदी । मलाई हेरेर मुसुक्क हाँसिन । म पनि हाँसेँ । कपाल उस्तै कर्लि थियो तर, धागोले बाटेकी ।

दुई छोरी र एक छोरा छन् अप्सरा दिदीका । भिनाजु राजनीति छाडेर सिद्देश्वर माबिमा शिक्षक थिए । दिउँसो स्कुल पढाउथे, बिहान प्लस टु । एउटा भैंसी पालेकी अप्सरा दिदीले खेती सम्हाल्थिन् । हिउँद वर्खा बा-हैमास भित्रिबारीमा अग्र्यानिक तरकारी फल्थ्यो । गाउँकै नमुना परिवार । ससुराली जाँदा भेनासँग अलि बाक्लो भेट भयो । भेनाको स्कुल जाने बाटो मेरै ससुरालीको आँगन थियो । भेना स्कुल आउँदै गरेको देख्ने बित्तिकै ‘मेरी श्रीमति लुसुक्क भित्र पस्थि ।’ म भिनाजु नमस्कार भन्थे । उहाँले कहिले आ भन्नुहुन्थ्यो । मैले हिजो भनेर जवाफ दिएपछि संवाद सकिन्थ्यो ।

मैले श्रीमतिसँग सोधेँ । बैकुण्ठ भेनालाई देख्ने बित्तिकै किन भित्र ? श्रीमतीले हाँस्दै भनि ‘बैकुण्ठ अंकलले म्याथ पढाउनु हुन्थ्यो । म म्याथमा ल्वाँठ अहिले पनि देखेपछि डर लाग्छ ।’ मेरी बुढीकै भनाइमा बैकुण्ठ सरले कसैलाई एक शब्द गाली गरेका छैनन् तर, सबै विद्यार्थी सबैभन्दा धेरै उनैसँग डराउथे । अजीवको व्यक्तित्व थियो उनको ।

१५ दिन अघि फेसबुक हेर्दै गरेकी श्रीमतिले अलि आत्तिएको भावमा भनि ‘ला बैकुण्ठ अंकललाई पनि कोरोना भएछ ।’ माइती गाउँकै केही मान्छेलाई फोन गरेर सोधेपछि थाहा भयो । आइसियुमा राखेको छ रे । त्यसपछि सोधीखोजी अलि बढी नै गरियो । आत्तिन पर्ने केही छैन । अक्सिजन कमी भाको हो । खाना खानु हुन्छ ।’ अस्पताल जाने आउनेले यस्तै खबर सुनाउथे । क्रमशः ठीक हुन्छ भन्ने सुन्दा सुन्दै फेसबुकमा एउटा तस्विर सार्वजनिक भयो । अस्पताल प्राङ्गणमा स्टे्चरमा सेतो प्लाष्टिकले बेरेको एउटा लासमा राजेन्द्र पाण्डेलगायत एमाले नेताहरुले फूल चढाउँदै गरेको । लेखिएको थियो ‘हार्दिक श्रद्धाञ्जली बैकुण्ठ सर ।’

जन्मपछि मृत्यु त सांसारित रित नै हो । हामी ज्युँदाहरु नमरेर बाँचेका छौं भन्नेमा पनि म सचेत छु । तर, एउटा मान्छेको मृत्युपछि उसको परिवारमा पर्ने पीडाको बयान गर्ने शब्द नै भेटिँदो रहेनछ कहिलेकाँहि ।

यस्तो अवस्थामा अरुले दिने भनेको सान्त्वना हो । सान्त्वना दिँदा जे पनि आश्वासन दिन मिल्छ । तिमी नरोउ, तिम्रा लागि हामी छौं, कुनै कुराको कमी हुन दिने छैनौं आदि इत्यादि । उनको जीवनमा आइपरेको अपुरणीय क्षति कहिल्यै पूर्ति हुने छैन र कसैले पुर्ति गर्न सक्दैन ।

हिन्दु धर्मको रितअनुरुप अब अप्सरा दिदीको निधारमा त्यो ठूलो रातो टिका, कम्बरमा रातो पटुकी र बुट्टेदार चोली दुर्लभ हुनसक्छ । थोरै आशावादी यस अर्थमा छु कि उनले हिन्दु धर्मसँग जोडिएका केही परम्परागत थाेत्रा सुत्रहरुलाई तोड्नेछिन् । किनकी आज भन्दा ३० वर्ष अघि क्रान्तिकारी बिहे गरेकी थिइन् । अप्सरा दिदी तिमीलाई रातो साडी असाध्यै सुहाउँछ । लाउन नछोड्नु ल म दसैंमा ससुराली आएको बेला आँगनको डिलबाट तिमीलाई हेर्छु । तिमी त्यो कर्ली कपालमा रातो धागा बाँधेर त्यही ढ्याब्रे रातो टिका लगाएर उभिनु ।

तिमी त स्कुल पढ्दै क्रान्तिकारी कुरा सुनेर हुर्केकी मान्छे । याद छ । स्कुल सकिएपछि गंगा तुलाधर (पूर्वशिक्षमन्त्री) ले समाजवादको व्याख्या कसरी गरेका थिए । राजेन्द्र पाण्डे त जहिले पनि तिम्रै घरमा बास बस्थे । रातभरि तिम्रा ठूल्दाइ रामप्रसाद अधिकारीसँग समाज परिवर्तन कसरी गर्ने भनेर छलफल गर्थे । सुन्थ्यौ होला नि !

हो, हिजो समाजवाद ल्याउँछौं भन्दै लाल्टिन बोक्दै गाउँगाउँ डुल्नेहरु बिजुली बत्तीको उज्यालोमा बसेपछि रनभुल्लमा परे । तर, सत्तामा पुगेपछि भ्यु टावरभन्दा अस्पताल र स्कुल महत्वपूर्ण हो भन्ने कुरा थाहा पाएनन् । नेतृत्वमा त्यो चेत भएको भए आज दैनिक दुई सय बढीलाई चितामा जलाउदै गरेको दृश्य देख्न पर्दैन थियो । हामीसँग उपाय पनि त छैन । भ्युटावरमा राखेर विरामीको उपचार हुन्न अस्पतालमा ठाउँ छैन ।

 अप्सरा दिदी तिमीलाई रातो साडी असाध्यै सुहाउँछ । लाउन नछोड्नु ल म दसैंमा ससुराली आएको बेला आँगनको डिलबाट तिमीलाई हेर्छु । तिमी त्यो कर्ली कपालमा रातो धागा बाँधेर त्यही ढ्याब्रे रातो टिका लगाएर उभिनु ।

एउटा कुरामा तिमीले आफूलाई भाग्यमानी मान कम्तिमा तिमीले त दुई चार दिन भए पनि श्रीमानलाई अस्पतालमा राख्न पायौं । यही हेर न २२/२४ वर्षका युवा युवती अस्पतालमा ठाउँ नपाएर नाकमा अक्सिजनको पाइप जोडन नपाएर पक्लक पक्लक ढलिराछन् । तिमीले हामीले यस्तै हेरेर चित्त बुझाउने त हो । अर्को कुरा पनि छ । चारवटी दिदी हुँदाहुँदै पनि तिमी कान्छी छोरीको रुपमा जन्मियौ । सबको माया पायौं । धन्न तिमी तिम्रो आमाको पेटमा हुँदा यन्त्र उपकरण थोरै थियो मान्छेहरु मतिभ्रष्ट थिएनन् र यो धर्तीमा आउन पायौं ।

अहिले हुँदो हो त भ्रुणमै तिम्रो हत्या हुन सक्थ्यो । शहरको कुरा सुनेकी होल्यौ नि, अहिले त मान्छेहरु पेटभित्रै छोरीको हत्या गरेर नयाँ समाज निर्माणमा लागेको दावी गर्दैछन् । तिम्रो त ५० वर्ष मस्तिमा बित्यो । अब फेरि उस्तैगरि रमाउन सिक । रातो, साडी, टिका र चुरा लाउन नछोड् है, तिम्रो त्यो कर्ली कपाल स्टाइल बन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 529 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?