भक्तपुरका फाँटमा ४० वर्षपछि गहुँ लहलह

भक्तपुर । भक्तपुरका फाँटमा अहिले किसानलाई भ्याई नभ्याई छ । गहुँबाली भित्र्याउन भ्याइनभ्याई छ । ४० वर्ष पछि हिउँदे बाली लगाएका किसानलाई अहिले बाली भित्र्याउनकै चटारो छ ।

कोरोना महामारीका कारण भक्तपुरका इट्टा भट्टाले इट्टा नपार्ने भनेपछि भक्तपुरका फाँटमा यसपाली गहुँ तथा आलु बाली लगाईएको थियो ।

कोरोना महामारीका कारण इट्टा बनाउने मान्छे ल्याउन गा¥हो भएपछि ईट्टा उद्योगले नै गहुँ लगाउन किसानलाई सहयोग गरेको ईट्टा ब्यवसायी संघका अध्यक्ष नातीभाई हेम्वाले बताए । ‘हामीले खेत जोत्नदेखि पानी लगाउन सम्म किसानलाई मद्दत गरेका छौं ।’ उनले भने । इट्टाले भरिभराउ हुने फाँटमा अहिले लह लह गहुँ झुलेको छ ।

भक्तपुरमा २०३१ सालदेखी इट्टा उद्योग चल्दै आएको उनले जानकारी दिए । भक्तपुरमा ईट्टा उद्योग संचालन भएदेखि आफ्नो खेत हिउँदमा उद्योगलाई दिदै आएको बताउने मिलन गनेजु यो वर्ष आफूलाई भ्याइनभ्याइ भएको बताउँछन् ।

‘कोरोना महामारीका कारण सवै तिर बन्दाबन्दी छ तर हामीलाई दिन भर फुर्सद छैन ।’ उनले भने । आफ्नो १० रोपनी खेतमा लगाएको गहुँ काट्न सपरिवार नै विहान देखि बेलुका सम्म खेतमै हुने गरेको उनले बताए ।

करिव २ दश भन्दा बढि देखि आफ्नो खेतमा हिउँदे बाली नलगाएको उनले जानकारी दिए । ईट्टा उद्योग चल्दा सबैले ईट्टा पार्न खेत दिने गरेका कारण आफूहरुले पनि दिने गरेको उनको भनाई छ । ‘यो वर्ष भट्टावालाले आधा खेतको भाडा पनि दियो । गहुँ पनि आयो ।’ उनले भने । बन्दाबन्दीले परिवारका सवै सदस्य साथमा भएकाले काम गर्न सहज भएको उनले बताए ।

पहिला जस्तो गहुँ चुट्न गाह्राे नभएको उनले सुनाए ‘अहिले मेसिन आएकाले एकै छिनमा गहुँ र छ्वाली छुटिने रहेको अझ सजिलो भयो ।’ उनले भने । यसपाली फलेको गुहुँले आफ्नो परिवारलाई दुई वर्ष सम्म खान पुग्ने अनुमान गरेका छन् ।
उनी जस्तै अधिकांस किसानलाई अहिले बाली भित्र्याउनकै चटारो छ । भक्तपुरमा ६२ वटा ईट्टा भट्टा संचालनमा रहेका छन् । एउटा ईट्टा उद्योगले करिव एक सय रोपनी देखि एक सय पचास रोपनी सम्म जग्गा ओगट्ने गरेको ईट्टा ब्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाले जानकारी दिए । उनी भन्छन् ‘भक्तपुरमा मात्र करिव आठ हजार रोपनी जग्गा ईट्टा पार्न प्रयोग हुने गरेको छ ।’

हिउँदमा बाली नलगाएपनि वर्षातमा भने धान लगायत विभिन्न अन्नबाली किसानले लगाउने गरेका थिए । अहिले किसानलाई गहुँ भित्राउन सँगै धानको विउ राख्न भ्याइनभ्याई रहेको छ ।

३५ हजार मजदुर बेरोजगार

कोरोना माहामारीका कारण भक्तपुरका ईट्टा उद्योगहरुमा काम गर्ने ३५ हजार भन्दा बढि मजदुर बेरोजगार भएको ईटा ब्यवसायी संघका अध्यक्ष हेम्बाले जानकारी दिए । खेत भरी गहुँ त फल्यो तर यो सँग सँगै भक्तपुरमा काम गर्न आउने देश भरका ३५ हजार भन्दा बढि मजदुर बेरोजगार भएको उनले सुनाए । एउटा भट्टामा कम्तिमा पनि पाँच सय देखि एक हजार सम्म मनिस हिउँदे रोजगारीका लागि आउने गरेका थिए । उनीहरुको एक परिवारले हिउँद भरमा तीन लाख देखि दश लाख सम्म कमाई गर्ने गरेका उनले सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 438 times, 1 visits today)

epaper

ताजा समाचार

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित