काभ्रेपलाञ्चोक विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिमयुक्त देशको सुचिमा राखे सँगै देशै भर सतर्कता अपनाई रहँदा जिल्ला विपत व्यवस्थापन समिति काभ्रेले मानिसको जमघट हुने सभा, सम्मेलन नगर्न अनुरोध गरेको छ । समितिको मंगलबार बसेको आकस्मिक बैठकले सभा, सम्मेलन, महोत्सव जस्ता जमघट हुने कार्यक्रमहरु तत्कालका लागि स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।
विवाह, व्रतबन्ध, धार्मिक, सास्कृतिक, कृयापकलाप समेत कम भन्दा कम सहभागितामा हुन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले अनुरोध गरेका छन । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले जनसंख्या मन्त्रालयको अनुरोध अनुसार कोभिड १९ अथार्त कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै उक्त रोग सर्न नदिन र रोगबाट बच्न हाललाई भिडभाड हुने सभा सम्मेलन, महोत्सवका साथै बनेपा नगरपालिकामा आयोजना हुन लागेको घरेलु महोत्सवलाई स्थगन गर्ने निर्णय गरेको बताउदै उनले भने, ‘अर्को निर्णय नहुँदासम्म जिल्लामा कुनै पनि मेला महोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न÷नगराउन सबै स्थानीय तह र प्रशासनलाई अनुरोध गरे’ ।
पूर्व तयारी स्वरुप धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा ५÷५ शैयाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको स्वास्थ्य कार्यलय काभ्रेका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाकाले बताए । संक्रमणको जोखिम हुने भन्दै नेपाली सेनाले शनिबार आयोजना गरेको एकिकरण पदयात्रा पनि स्थगित गरेको छ । धेरै जनाको जमघट हुँदा संक्रमणको उच्च जोखिम हुन सक्ने भन्दै समितिले ठूला जमघट हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ ।






