अटो एम्बुलेन्स चालकको पीडा : हामीलाई देख्दा यात्रु भाग्न थाले

 

चुरे मकवानपुर । कोरोना महामारीको कारण जारी निषेधाज्ञाले बजार चकमन्न छ, आक्कलझुक्कल सुनिन्छन् अटोको आवाज, अनि एम्बुन्सको साइरन । चर्को घाममा आक्कलझुक्कल देखिने अटोका चालकहरु पीपीइले ढाकिएका हुन्छन् । कारण कोरोनाको त्रास छ ।

जारी महामारीको समयमा संक्रमितलाई स्वास्थ्यसंस्था छिटो छरितो रुपमा लैजनाका लागि प्रयाप्त एम्बुलेन्सहरु नभएको भन्दै हेटौंडा उपमहानगरपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले अटोहरुलाई ‘एम्बुलेन्स’को स्वरुप दियो । अटो एम्बुलेन्सको कारण बिरामी ओसार्न धेरै सहजता भएको छ । तर अटो एम्बुलेन्स चालकहरु भने जोखिम मोलेर आफूले सेवा गर्दा स्यावासी र प्रोत्साहन भन्दा तिरस्कार भोग्नु परेको गुनासो गर्छन् ।

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो–एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित हुनु परेको भन्दै सञ्चारकर्मीहरुसँग गुनासो गरेका हुन् ।

कोरोना संक्रमित अस्पतालसम्म पुग्न एम्बुलेन्स अभाव हुन थालेपछि मकवानपुरको प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा अटो–एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो । ज्यान जोखिममा राखेर अटो चलाएका चालकहरूमाथि समाजबाट अमानवीय व्यवहार हुने गरेको उनीहरू बताउँछन् ।

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो–एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित हुनु परेको भन्दै सञ्चारकर्मीहरुसँग गुनासो गरेका हुन्

‘कोरोनासँग जुधिरहेका संक्रमितलाई अस्पतालसम्म साहारा दिन यो महामारीमा पनि अटो चलाउन सुरू गरें, आफैं जोखिममा छु तर सबैले रोग गाउँमा ल्याउने भइस भन्छन’ हेटौंडा उपमहानगरपालिका–१२ का अटो–एम्बुलेन्स चालक प्रकाश अछामीले भने ।

कोरोनालाई पराजय गर्न लागिपरेका समाजसेवी, जेसिज तथा लायन्सका स्वयम् सेवकहरुबाट भने माया पाएको उनले बताए । ‘नत्र हामी आफैँ सहाराविहीन छौ’ उनले भने ।

‘कोरोनाले छट्पटाइरहेका बिरामीलाई अस्पतालसम्म पु-याउँदा, महामारीबाट बँच्न मेरो पनि योगदान छ भनेर सन्तुष्टि पाउने छु’ उनले भने ‘तर समाजले गाउँमा कोरोना ल्याइस् भन्दै धम्कीपूर्ण गालीगलौज गर्छन् ।’ आफूहरुले अटो एम्बुलेन्स चलाए वापत कुनै पनि अतिरीत्त सेवा सुवधिा नपाएको उनले बताए । ‘परिवारले समेत साथ दिएका छैनन्,” उनले भने “रोगको डरले यस्तो भएको हो भन्ने बुझेर आफूलाई सेवामा समर्पित गर्दै आएको छु ।’ ३ सातादेखि अटो एम्बुलेन्स सेवा दिन थालेका अछामी घरमा छुट्टिएर बसेका छन् ।

यस्तै अनुभव छ हेटौंडा–१८ का अटो–एम्बुलेन्स चालक बुद्ध थिङसँग पनि । संधै माया दिनेहरु नै टाढिएको बताउँछन् उनी । ‘मलाई देख्नासाथ गाउँका बाटोमा उभिएकाहरू पनि दौडिँदै घरभित्र पस्छन्’ उनले भने । ‘कोरोनाको बिरामी बोकेर आएको हो भन्दै बाटोमा उभिरहेकाहरू पनि मेरो अटो देख्नासाथ भागाभाग गर्छन’ उनले भने । ‘मलाई परैबाट हेर्दा र बोल्दा मात्रै त कोरोना सर्दैन नी ।’ उनले भने ।

कोरोना महामारी फैलिएसँगै समाजमा सामाजिक सामाजिक सद्भाव हराउँदै गएको टिप्पणी गरे ‘घरमा २२ महिनाको छोरो छ, मलाइ पनि महामारीमा रमाइलो छैन हिड्न’ उनले भने । छोरालाई पनि आफूबाट जोखिम हुने होकि भन्ने डरले उनी घरको छुट्टै कुनामा एक्लै बस्दै आएका छन् । एउटै घरमा बसेर पनि उनले छोरालाई काखमा नलिने गरेको बताए ।

‘मसँग टोलवासीहरु बोल्दैनन्, देख्दा पनि मुन्टो उता फर्काएर हिँड्छन, मेरो परिवारलाई कोरोना बोकेर आएको मान्छेले सबैलाई सार्छ भनेर सुनाउने गर्छन’ हेटौंडा–५ का गोविन्द तिमल्सिनाले आफ्नो पीडा सुनाए ।

जिल्ला प्रशासन र वडा कार्यालयले बेवास्ता गर्दा पनि समाजबाट यस्तो व्यवहार हुने गरेको बताए । स्थानीय प्रशासन र स्थानीय सरकारले काखिच्यापिदिएको भए यो अवस्था नआउने उनीहरुको बताए । यस’bout बताउँन वडा अध्यक्षहरूलाई पनि आफैँले फोन गर्दा समेत वास्ता नगरेको उनीहरूको गुनासो छ । हामीले नियमभन्द बढी भाडा लिएका छैनौ, तर पनि भाडा बढी लिएको भनेर आरोप आउँछ तिमल्सिनाले भने ।

पानी पर्दा र मैलो हुँदा फेरफारको लागि पीपीइ सेट नहुदा आफूहरुले समस्या भोग्नु परेको स्थानीय सामाजिक संस्थाहरुले वासेबल पीपीइ दिएपछि केही राहत भएको तिमल्सिनाले बताए । महामारीमा हामीले नागरिकको पीडामा साथ दिन खोजेका हौं, हामीमाथि पनि समाजले सद्भाव नै राखिदियोस भन्ने चाहन्छौ ।’ अटोचलकहरुले भने ।

हेटौंडाको सबै वडामा बिरामीलाई तत्काल उपचारको लागि अटो एम्बुलेन्सले धेरै सहयोग गरेको भन्दै उनीहरुलाई मानविय सहयोग गर्नु पर्ने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । ‘स्थानीयवासीबाट सहयोग होस् भन्ने हामी चाहन्छौ, उनीहरुलाई पर्ने अन्य समस्यामा समन्वय गर्न नगरपालिका तयार छ ।’ मेयर महतले भने ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ: पारस खड्का