वासिंगटन । कोरोना भाइरसविरुद्धको सबैभन्दा भरपर्दो उपचार मानिएको खोपका लागि विश्वका विभिन्न देशले पहल गरिरहेका बेला अमेरिकामा भने युवाहरुलाई आकर्षित गर्न एउटा विशेष प्रकारको कार्यक्रम नै ल्याउनु परेको छ । मध्य अप्रिलदेखि कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम ओह्रालो लागेपछि अमेरिकी सरकारले विशेष प्रकारको कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रमले खोप लगाउन अमेरिकी युवाहरु आकर्षित हुने सरकारको विश्वास छ ।
मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको पैसाबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ । यस्तै, पछिल्लो कार्यक्रम हो, कोरोनाविरूद्धको खोप लगाउने २१ वर्ष माथिका आफ्ना नागरिकलाई एक खिल्ली गाँजा उपहार दिने घोषणा ।
न्युयोर्क टाइम्सका अनुसार वासिङ्टन राज्यले कोरोनाविरूद्धको खोप लगाउने २१ वर्ष माथिका आफ्ना नागरिकलाई एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको छ । सोमबार मात्र घोषणा भएका यो कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ राखिएको छ । यो कार्यक्रम १२ जुलाइसम्मका लागि मात्रै राखिएको छ ।
वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएकोमा दुवै डोप खोप लगाउनेहरू ४९ प्रतिशत छन् ।
त्यसो त, यसअघि अन्य राज्यमा पनि खोप लगाउन प्रेरित गर्ने हेतुले विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । खोप लगाउने व्यक्तिलाई निः शुल्क बियर, सय डलर तथा गाँजा प्रस्ताव गरिएको थियो । एरिजोना राज्यमा कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम यसअघि नै सुरू गरिएको थियो । केही राज्यले विश्वविद्यालयमा छात्रवृत्ति दिने र केहीले लाखौं डलरको चिठ्ठा राखेका थिए ।
वैज्ञानिकहरुका अनुसार खोप लगाएको खण्डमा मात्र मानिसहरु यस भाइरसबाट सुरक्षित रहन सक्छन् । खोप लगाएका मानिसमा कोरोना भाइरस देखिए पनि त्यो एकदम न्यून हुने जानकारी पनि सो कार्यक्रममा दिइने छ ।