‘डम्पिङ’ राजनीति रोक

सागर पण्डित

कोरोना महामारीले सिंगो मुलुकको जनजीवन ठप्प जस्तै छ । मानिसहरू आफ्नो जीवन कसरी बचाउने भन्नेमा नै चिन्तित छन् । दैनिक मृत्युको खबरले जोसुकै नागरिकलाई पनि ज्यान सिरिंग पार्ने गरेको छ । लामो समयसम्मको लकडाउनका कारण श्रमिक मजदुर तथा सर्वसाधारण नागरिकको जनजीवन कष्टकर बन्दै गइरहेको छ । बिहान बेलुकीको जोहो टार्न नै समस्या परिरहेको छ । यस्तो अवस्थामा यहाँका राजनीतिक दल र तिनका शीर्षस्थ नेताहरू एकजुट भएर महामारीविरुद्ध लड्नुपर्ने र जनतालाई अहिलेको महामारीबाट सहजै मुक्ति दिलाउन सक्नुपर्ने हो । तर, अहिले हाम्रो मुलुकमा राजनीतिक दलहरू र तिनका शीर्ष नेताहरूले निकै खेदजनक कार्य गरिरहेका छन् । जनताको स्वास्थ्य सुरक्षा तथा जनजीविकाको सवाललाई कुनै ध्यान नै नदिएर राजनीतिक दल र तिनका नेताहरूले कसरी हुन्छ सत्तामा जाने र सत्तामा रहिरहने फोहोरी खेल खेलिरहेका छन् । यस्तो संकटको अवस्थामा सरकारले पनि निकै लचकता प्रदर्शन गरेर सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा त्यस्तो गर्न सकेको छैन । यस प्रकारको राजनीतिक फोहोरी खेलका कारण आमजनता निकै प्रताडित छन् । जनतालाई प्रताडित हुनेगरी गरिने राजनीति दिगो हुँदैन भन्ने कुरा उनीहरूले समयमा नै बुझ्न जरुरी छ । यसो त धेरै राजनीतिकर्मीले यो विषय थाहा पाउँदा पाउँदै पनि आफ्नो स्वार्थका कारण जनताका विषय तिलाञ्जली दिँदै आइरहेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास भइरहेको अवस्थामा एकाएक राजनीतिक माहौल बिग्रन थालेपछि अब यो संघीय शासन प्रणालीमाथि नै गम्भीर खालका संकट आइपर्न सक्ने भय बढ्दै गएको छ । सत्ताधारी दल र विपक्षी दलहरूको सत्ता संघर्ष र टकरावका कारण यतिखेर आमजनता आजित छन् । राजनीतिप्रति यति धेरै वितृष्णा फैलिरहेको छ कि समयमा नै दल र नेताहरू सच्चिएनन् भने मुलुकले अकल्पनीय राजनीतिक दुर्घटना बेहोर्नुपर्ने हुन सक्छ । त्यसतर्फ यी दल र नेताहरूले केही सोच्न सकेका छैनन् । कसरी हुन्छ एकले अर्कोलाई निषेध गर्दै सत्तामा रहने र सत्तामा जाने खेलमा नै दल र नेताहरूको दैनिक दिनचर्या बितिरहेको छ ।

यो महासंकटको समय हो, राजनाीतिको फोहोरी खेल खेल्ने समय होइन । त्यसैले सबैले फोहोरी खेल खेल्ने हर्कत रोकेर जनताको चहराइरहेको घाउमा मलम लगाउनेगरी कोभिड नियन्त्रणमा विशेष ध्यान दिन जरुरी छ ।

विशेषगरी केही महिनाअघि जब तत्कालीन सत्तारूढ दल नेकपामा ठूलो विग्रह आयो त्यहीँबाट नै राजनीतिक अस्थिरताको सुरुवात हुन थाल्यो । तत्कालीन नेकपाका दु्ई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई वर्षसम्म सत्ता सञ्चालमा राम्रो सहकार्य र सहयोगको वातावरण थियो । त्यति बेलासम्म राजनीति सिधा रेखामा अघि बढिरहेको थियो । जब यी दुई जनामा फुट, दम्भ र इगोको बीजारोपण सुरु भयो त्यहीँबाट राजनीति उल्टो दिशातर्फ जान थालेको यथार्थतालाई नकार्न मिल्दैन । एकातिर नेकपाको विघठन भई पूवर्वत् अवस्थामा पुगेको एमाले र माओवादी दल एकै ठाउँमा बस्ने अवस्था रहेन भने अर्कोतर्फ एमाले दलमा झाँगिएको अनुशासनहीनता र अराजकताका कारण अहिले राजनीति उल्टो दिशातर्फ हिँडिरहेको छ । जसका कारण मुलुकको राजनीति, दल र नेताप्रति नै आमजनतामा वितृष्णा पैदा भइरहेको छ । जुन मुुलुकका लागि निकै घातक छ र दुर्भाग्यपूर्ण छ । नेपालीहरूले विगतदेखि नै राजनीतिक अस्थिरताबीच राजनीतिमा सुरा, सुन्दरी र पजेरो काण्ड भोग्दै आएका हुन् । २०७४ सालको निर्वाचनमा आमजनताले राजनीतिक स्थिरताका लागि एमाले र माओवादी केन्द्रको गठबन्धनलाई अत्यधिक बहुमत दिएर सत्तामा पठाएका थिए तर यी दुवै दलका नेताहरूले जनताको मतको सम्मान गर्न नसक्दा नै आजको अवस्था आएको हो ।

अहिले त विशेषगरी प्रमुख दलबीचमा नै एकले अर्कोलाई सिध्याउने र निषेध गर्ने अत्यन्तै घृणित र फोहोरी खेल भइरहेको छ । हिजो आफ्नै दलभित्रबाट सरकारलाई चरम असहयोग गर्दै सरकार ढाल्ने कुटिल चाल चालियो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि आफ्नै दलभित्र सन्तुलनकारी भूमिका खेलेर सबैलाई समेटेर अघि बढ्न सकेको भए अहिलेको जस्तो जटिल अवस्था आउँदैनथ्यो कि ? भन्न्ने विश्लेषण पनि गर्न सकिन्छ । तर, आफ्नै पार्टीभित्र अन्तरघाती काम गर्ने र आफ्नै प्रधानमन्त्रीलाई हटाउन विपक्षी शक्तिहरूसँग साँठगाँठ गर्ने कार्यलाई संसदीय राजनीतिमा अपराधपूर्ण नै मानिन्छ । त्यस्तै, अपराधपूर्ण कार्यले पनि राजनीतिलाई थप विकृत र फोहोरी बनाइदिएको हो ।

हाम्रो नेतृत्व विगतमा ठूलाठूला संघर्ष गरेर संसारमा नै उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयो । तर, सोही शासन प्रणालीअनुसारको सोच, चरित्र र आचरणमा सुधार हुन नसक्दा अहिले शासन सञ्चालनमा विभिन्नखाले समस्या आएको हो । राजनीतिक विकासमा अनेकौं समस्या हुन्छन् । जसमध्ये सबैभन्दा ठूलो समस्या भनेकै नैतिकता, क्षमता र इमानदारिताको समस्या हो । जब दलका नेता तथा शासक भ्रष्ट हुन थाल्छन् । त्यसपछि शासकीय प्रणालीमा थुप्रै समस्या देखा पर्छन् । हामीकहाँ २०४६ सालमा लोकतान्त्रिक शासन प्रणाली स्थापना भएपछिका शासकमा विकास भएको भ्रष्ट चरित्र र नैतिक स्खलनका कारण शासकीय सञ्चालनमा कहिल्यै पनि स्थिरता आउन सकेन् । छोटोछोटो समयमा सरकार फेरबदल भइरहने रोगले मुलुकको विकास, प्रगति र उन्नति अवरुद्ध हँुदै आयो । जसका कारण हामीकहाँ राजनीतिक विकास हुनै सकेन् । समग्र राजनीति आज मात्रै होइन वर्षौंअघि देखि नै अग्रगमन होइन कि प्रतिगमनतर्फ उन्मुख हँुदै आएको हो । राजनीतिक विकासका अनेकांै समस्या छन् । जसममध्ये सबैभन्दा ठूलो समस्या नै राष्ट्र निर्माणको समस्या हो । यसैगरी राजनीतिक प्रणालीको क्षमता अभिवृद्धि गर्ने समस्या, समानता ल्याउने समस्या, सहभागिता सिर्जना गर्ने समस्या रहेका छन् । हाम्रोजस्तो विकासोन्मुख देशमा राजनीतिक स्थायित्वको समस्या, राजनीतिक विकासको मोडल चयन गर्ने समस्या, राजनीतिक दल तथा दबाब समूहहरू समुचित ढंगले संगठित र विकसित हुने समस्या देखापर्ने गरेको छ । यस्ता समस्याको समयमा नै पहिचान गरी समाधानको पहल गर्न नसकिएकाले पनि हाम्रा राजनीतिक दल र नेतृत्व दिनानुदिन असफल हँुदै गइरहेका हुन् ।

राजनीतिप्रति यति धेरै वितृष्णा फैलिरहेको छ कि समयमा नै दल र नेताहरू सच्चिएनन् भने मुलुकले अकल्पनीय राजनीतिक दुर्घटना बेहोर्नुपर्ने हुन सक्छ

हामीकहाँ अहिले राजनीतिक नेतृत्वको असफलता एकातिर छ भने अर्कोतिर समाजका सबै तह र क्षेत्रका व्यक्तिमा देखापरेको नकारात्मक सोच र चिन्तनले पनि मुलुकलाई अझै समस्याग्रस्त पारेको छ । यहाँ सबै पक्ष र क्षेत्र कुनै न कुनै पार्टी र नेताका पिछलग्गु बनिरहेका छन् । स्वतन्त्र र निष्पक्ष रूपमा विश्लेषण गरेर कमीकमजोरी आंैल्याइदिने मान्छेहरू निकै कम संख्यामा छन् । समाजलाई भाँड्ने, उत्तेजित बनाउने र गोयबल्स शैलीमा गलत समाचार सम्प्रेषण गर्नेहरूको बिगबिगी बढ्न पुगेकाले पनि उनीहरूको त्यस्तो हर्कतले राजनीतिलाई थप विकृत बनाइरहेको छ ।

अहिले मुलुकमा कोरोना महामारी फैलिरहेको अवस्थामा महामारीसँग जुध्न सरकार, सबै राजनीतिक दल र आमजनताबीच आपसी सहयोग र सद्भाव जरुरी छ । सरकारले अहिले जनतालाई कोभिडबाट बचाउने गरी कोभिड रोकथाम, नियन्त्रण र उपचारका सबै उपाय अपनाएर कोभिडको प्रभावलाई न्यूनीकरण गराउन सक्नुपर्छ । सबै नागरिकलाई भ्याक्सिन लगाउन सकियो भने त्यो सरकारका लागि धेरै उपलब्धिमूलक हुनेछ । त्यसैले सरकारी निकायले भ्याक्सिन खरिद गर्ने कार्यलाई छिटोभन्दा छिटो टुंगोमा पु¥याउन सक्नुपर्छ । यो महासंकटको समय हो, राजनीतिको फोहोरी खेल खेल्ने समय होइन । त्यसैले सबै नेताहरूले फोहोरी खेल खेल्ने हर्कत रोकेर जनताको चहराइरहेको घाउमा मलम लगाउने गरी कोभिड नियन्त्रणमा विशेष ध्यान दिन जरुरी छ । अहिले सत्तामा को रहने र कसलाई सत्तामा पठाउनेभन्दा पनि जनता सुरक्षित रहे नरहेको, जनताले बिहान बेलुकी खान पाए नपाएको विषयलाई प्रमुख ध्यान दिएर सबै दल जनकेन्द्रित अभियान लिएर जनताको घरघरमा पुग्नुपर्छ न कि सत्ता स्वार्थको घृणित र फोहोरी खेलमा । त्यसो गर्न सकिएमा मात्रै राजनीतिलाई स्वच्छ राख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग