तर, वर्तमान उही छ

लक्ष्मी विलास कोइराला

कविता

आज बाँचियो भन्ने खुसीले
हरेक साँझ बितेको छ,
भोलि शान्ति आउने आशले
हरेक रात बितेको छ,
नवीन बिहानीको खोजीमा
हरेक बिहान बितेको छ
तर,

तर, वर्तमान उही छ ।

मान्छेको जमघटदेखि पर
मान्छेदेखि भाग्दै
नाकमुख छोपेर
पहिचान लुकाउँदै
बाँचेका यथार्थ दिनहरू
बिर्सन मन लाग्छ
तर,

तर, वर्तमान उही छ ।

अनिश्चितताको बादलभित्र
रोजगारीको क्रम टुटेको छ
आकांक्षाहरू खुम्च्याउँदै
रहरहरू थाँती राखेर
बाँच्न सिक्ने कोशिस जारी छ
तर,

तर, वर्तमान उही छ ।

विचार हराएको छ
सिर्जना मुर्झाएको छ
हाँसो उडेको अनुहारमा
आशाको जलप लगाउँदै
बाँच्ने साहस बटुल्ने प्रयास जारी छ
तर,
तर, वर्तमान उही छ ।

आशा एक साथी छ
आशा एक भरोशा छ
आशा सारथी बनेको छ
र त, जीवन छ
जीवन बाँच्ने कोशिश जारी छ

तर,
तर, वर्तमान उही छ ।

– गीतानगर, चितवन
हाल काठमाडौं ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध