बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै आइरहेको छ । भूगर्भविद्हरूले त्यहाँको भू–बनोट निकै कमजोर रहेको र २०७२ सालको भूकम्पपछि झनै कमजोर बनेको तथ्य प्रकाशित गरिसकेका छन् । यसलाई मध्यनजर गरेर बढी तथा पहिरो रोकथामका लागि सरकार तथा सम्बन्धित निकायले सचेत पहल लिनु जरुरी हुन गएको छ । बाढीपहिरोको अहिलेको स्थितिलाई हेर्दा लापर्बाही भयो भन्ने त होइन । तर, तयारी भने पुगेको छैन । बाढी पहिरोबाट अति प्रभावित क्षेत्रहरूको भूगर्भको अध्ययन र सम्भावित क्षतिको आँकलनसहित बाढीपहिरो नियन्त्रणका लागि नीति, योजना तथा कायक्रम बनाइनु जरुरी हुन गएको छ । हरेक वर्ष खेप्दै आएको समस्यालाई मध्यनजर गरेर के कस्ता नियन्त्रणका उपाय त्यहाँको विशिष्टता अनुरूप अनुकूल हुन सक्छन् तदनुरूप योजना, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्नु जरुरी हुन गएको छ । बाहिरी रूपमा हेर्दा भू सतह स्खलन नभई यसको भौगर्भिक बनावट नै कमजोर भएकाले यी समस्या निरन्तर आइरहेका हुन् भन्ने कुरालाई गम्भीरतापूर्वक मनन गर्नु जरुरी हुन गएको छ ।

त्यसो त हिमालयको रेन्जमा पर्ने सबै देश र त्यहाँ रहेका पहाडी भूभाग भूकम्पको जोखिममा रहेका छन् भन्ने कुरा भूगर्भविदहरूले गम्भीर चेतावनीसहित जानकारी गराइरहेका छन् । यसको असर २०७२ को भूकम्पपछि नेपालमा व्यावहारिक रूपमा देखापरेको छ । मनसुन सुरु भएपछिका सुरुका दिनमा नै नेपालमा थेगी नसक्नुको समस्या आइपरेको छ । बाढी र पहिरो दुवै एकअर्कासँग सम्बन्धित प्राकृतिक जोखिम हुन् । यी जोखिम एकआपसमा अन्तरसम्बन्धित भएर देखापर्छन् । यी दुवै समस्याले ल्याउने अर्काे समस्या भनेको डुबानको समस्या हो । पहाडमा बाढी र पहिरोका समस्या जति गम्भीर रूपमा प्रकट हुन्छ त्यत्तिकै तराईमा यसले गम्भीर प्रकृतिका डुबानका समस्या निम्त्याइरहेको हुन्छ । अन्तरसम्बन्धित यी जोखिमका पछाडि नेपालको पहाडी इलाकाको भौगर्भिक बनोवटले ठूलो काम गरिरहेको छ । त्यसैले पनि विस्तार भइरहेका पहाडी तथा तराईका बस्ती यी समस्याबाट कम प्रभावित हुने र बसाइँका हिसाबले बढी सुरक्षित हुने इलाका सरकार र राष्ट्रिय योजना आयोगको प्राथमिकतामा पर्नुपर्छ । यसका लागि सम्बन्धित बस्तीहरूमा रहेका जनसाधारणसम्म सबैले बुझ्ने र महसुस गर्नेगरी सचेतनाको अभियान तथा सूचना प्रवाह गरिनु जरुरी हुन जान्छ ।

नेपालको भू सतहमाथि प्रकट रूपमा देखापर्ने गरेको बाढीपहिरो तथा डुबानको समस्या तथा जनधनको क्षति आदि रोक्न सरकारले ती इलाकाको भौगर्भिक बनोवट’bout बिनाढिलाइ अध्ययन अनुसन्धान र वैकल्पिक योजना तयार गरिनुपर्छ । यसका लागि भूगर्भविद्हरू, भूगोलबेत्ताहरू, विषय विषेशज्ञ तथा सम्बन्धित प्रादेशिक र स्थानीय सरकारको सहभागितासहित स्थानीय जनताको प्रत्यक्ष क्रियाशील भूमिका नै ग्यारेन्टी गरिनुपर्छ । यसले मात्र बाढीपहिरो तथा डुबानको समस्यालाई न्यूनीकरण गर्न मद्दत पु¥याउनेछ । तात्कालीन तथा दीर्घकालीन नीति तथा योजना निर्माण र कार्यान्वयनका लागि सरकारले भौगर्भिक अध्ययन अविलम्ब थाल्नैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ