नेपाली कांग्रेसको महाधिवेशन केन्द्रित भएर बहस चल्न थालेका छन् । पटकपटक स्थगित हुँदै र समय तोकिँदै गरेको नेपाली कांग्रेस पार्टी महाधिवेशन सबैको आँखामा परेको छ । कसले जित्छ ? कसले हार्छ ? भन्नेभन्दा पनि नेपाली कांग्रेस पार्टीभित्र प्रजातान्त्रिक परिपार्टी सजीव रहन सक्छ वा सक्दैन भनेर सबैमा चिन्ता र चासो जागेको छ । चिन्ता यस मानेमा कि प्रजातान्त्रिक परिपार्टी जीवितै रहला वा नेताहरूको गुटगत लडाइँले खिइँदै र सकिँदै जाला भन्ने अर्थमा देखिएको छ । चासो यस अर्थमा कि कम्तीमा पनि नेपालको प्रजातान्त्रिक प्रक्रिया सजीव बनाउन पार्टी आन्तरिक जीवनमा प्रजातान्त्रिक अभ्यास गर्ने प्रजातान्त्रिक पार्टी यही नै हो । त्यसैले, प्रजातान्त्रिक प्रक्रिया सुदृढ हुँदै जाओस् जसले देशमा चलिरहेको शासन व्यवस्थामा थप मद्दत पु¥याओस् र अन्य पार्टीलाई पहिलो गतिलो शिक्षा दिन सकोस् भन्ने आशय सबैको रहेको देखिन्छ । हरेक देशको शासन व्यवस्था कति सुदृढ हुन सक्छ । कति सजीव हुन सक्छ र त्यसलाई सही ढंगले अघि बढाउन सकिन्छ वा सकिँदैन भन्ने कुरा देशभित्र रहेका शासन व्यवस्थासँग सम्बन्धित विचार, नीति, विधि र आचरण पालन गर्ने पार्टीमा निर्भर रहन्छ । यसैले प्रजातान्त्रिक संस्कार बोकेर आएको पार्टी भएकाले पनि अन्य पार्टीभन्दा नेपाली कांग्रेसमाथि सबैको आशा, भरोसा र गुनासो केन्द्रित हुन गएको छ ।
हाल पार्टीका सभापति रहेका शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालाको शेषपछि लामो समय पार्टी सभापति बन्दै आएका छन् । फेरि पनि उनी महाधिवेशनमा आफू पनि सभापतिको प्रत्यासी हुने घोषणा गरेपछि देउवाको उम्मदेवारीको विषय लिएर विभिन्न टीकाटिप्पणी पनि भइरहेको छ । आफू बाँचुन्जेल सत्ता र शक्ति बाहिर रहन नसक्ने सोच, चिन्तन र व्यवहार प्रजातान्त्रिक प्रणालीसम्मत हुन्छ कि हुँदैन ? भन्ने चिन्ताको विषय हो । यद्यपि, उनी प्रजातान्त्रिक प्रणालीअनुसार निर्वाचित भएर पुनः सभापति चुनिए भने त्यसलाई आश्चर्य मान्नुपर्दैन । तर, विगतमा उनी सभापति हँुदा पार्टीको अवस्था कहाँ पुग्यो भन्ने’bout गहन विश्लेषण हुनु पनि स्वाभाविक हो ।
पार्टी नेता तथा कार्यकर्ता पार्टीको सभापति बन्न विधानतः योग्य हुन्छन् र उम्मेदवारी दिने हैसियत र अधिकार राख्छन् । यो अर्थमा देउवाको पुनः सभापतिको उम्मेदवारी अस्वाभाविक देखिँदैन । तर, राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हालको नेपालको सन्दर्भमा देउवाको पुनः उम्मेदवारी कति उपयुक्त हुन सक्छ बहसकै विषय हो । प्रजातान्त्रिक प्रणाली रहने वा नरहने भन्ने कुरो प्रजातान्त्रिक विचार, नीति र विधि पार्टीको सिद्धान्त मान्ने पार्टी र यसका नेताहरूले अवलम्बन गर्नैपर्छ ।
प्रजातान्त्रिक प्रणाली प्रतिस्पर्धात्मक प्रणाली हो । यसमा व्यक्तिहरू स्वतन्त्र हुन्छन् । उनीहरू समान रूपले राजनीतिक क्रियाकलापमा भाग लिन पाउँछन् । एकअर्कामा प्रतिस्पर्धा गर्न पाउँछन् । जसले बहुमत प्राप्त गर्छ उसलाई आउँदो एक अवधिका लागि आफ्नो नेतृत्वका रूपमा स्वीकार गर्छन् । त्यसपछि प्रणालीगत हिसाबले पार्टी तथा शासन व्यवस्था परिचालनका लागि परिचालित हुने गर्छन् । यसअनुसार सभापति देउवा फेरि पनि सभापतिको उम्मेदवार हुन सक्छन् । उनलाई यो अधिकार छ । तर, एउटै व्यक्ति सदासदाका लागि पार्टी वा शासन व्यवस्थाको हर्ताकर्ता भइराख्ने हो भने आउँदो पुस्ताले कुनबेला प्रजातान्त्रिक अभ्यासमा भाग लिने, खारिने र आफूलाई नयाँ नेतृत्वका रूपमा परिपक्व बनाउने भन्ने विषय निकै जटिल हुन जान्छ । यसलाई मध्यनजर गरी नेपाली कांग्रेसले प्रजतान्त्रिक परिपाटीअनुसार नै आगामी महाधिवेशनका लागि पार्टी नेतृत्व चयन गर्न गम्भीर बन्नैपर्छ ।