लन्डन । यूरोकप अन्तर्गत आज बिहीबार भोलि शुक्रबार कुनै पनि खेल हुने छैनन । शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुनेछ । शनिबार ९:४५ मा वेल्सले डेनमार्कविरुद्ध नकआउट चरणको पहिलो खेल खेल्नेछ ।
आइतबार दुई खेल हुनेछन् । इटाली र अस्ट्रिया १२:४५ मा भिड्ने छ भने त्यसभन्दा अगाडि ९:४५ मा नेदरल्यान्ड र चेक रिपब्लिक आमनेसामने हुनेछ ।
सोमबार बेल्जियम र पोर्चुगलबीचको खेल १२:४५ मा हुनेछ भने ९:४५ मा क्रोसिया र स्पेनले प्रतिस्पर्धा गर्ने छन् । मंगलबार १२:४५ मा फ्रान्स र स्वीट्जरल्यान्डबीच खेल हुनेछ भने ९:४५ मा इग्ल्यान्ड र जर्मनीबीच खेल हुनेछ । बुधबार नकआउट चरणको अन्तिममा स्वीडेन र युक्रेन भिड्ने छन् । त्यसपछि क्वाटरफाइनलका खेल हुनेछ ।
यसैगरी गएराति सम्पन्न छनोट खेलमा फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन र युक्रेन पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।
समूह ‘एफ’ का अन्तिम खेलहरुमा जर्मनी र हंगेरी तथा फ्रान्स र पोर्चुगलले २–२ गोलको बराबरी खेलेका छन् । यो समूहबाट विजेता फ्रान्स, उपविजेता जर्मनी तथा तेस्रो स्थानको पोर्चुगल राउण्ड अफ सिक्सटिनमा पुगेका छन् । यसैगरी समूह ‘ई’ का अन्तिम खेलहरुमा स्पेनले स्लोभाकियालाई ५–० ले पराजित गर्दा स्विडेनले पोल्याण्डमाथि ३–२ को जित निकालेको छ ।






