पानीको लयलाई रोक्न खोज्दा बस्तीमा पस्यो बाढी

 

इटहरी । भनिन्छ – ‘पानीको आफ्नै लय हुन्छ । यसको बाटोलाई न कसैले रोक्न सक्छ, न त कसैले छेक्न नै ।’ तर इटहरीमा पानीको लयलाई रोक्न खोज्दा बस्तीमा बाढी पसेको छ । पानीको लयलाई मिचेर बनाइएका संरचनाहरुका कारण बस्तीमा बाढी पसेको हो । बस्तीमा बाढी पसेका कारण इटहरीमा दुई सय घरहरु डुबानमा परेका छन् । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६, १० र ११ वडाका दुई सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डीएसपी) नरेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार विशेषगरी सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी नगरपालिका, हरिनगरा, भोक्राहा–नरर्सिङ, कोसी गाउँपालिकाका बस्तीहरु डुबानमा परेका छन् । ‘सुनसरी खोलामा पानी ओभरफ्लो भएर बस्तीमा पस्दा दर्जनौ घरहरु डुबानमा परेका छन् भने केही घरहरु बिस्थापित भएका छन्,’ कार्कीले राजधानीसँग भने, ‘सुनसरी खोला सिंगो बस्तीमै पसेका कारण इनरुवा ४ का एक सय ५० घर डुबानमा परेका छन् ।’

उनका अनुसार इनरुवा ९ को बबिया भोक्राहा–नरर्सिङ गाउँपालिकाको वडा नम्बर ७ को सुनसरी खोला किनाराका घरपरिवार विस्थापित भएका छन् । उता, कोसी गाउँपालिकाको वडा नम्बर ८ का ४० घर डुबानमा परेका छन् । रामधुनी नगरपालिकाको वडा नम्बर १ का दर्जन बढी घरहरु डुवानमा परेका छन् । हरिनगर गाउँपालिकामा विभिन्न वडाहरुमा सय घर भन्दा बढी डुबानमा परेको डीएसपी कार्कीले जानकारी दिए ।

शनिबार बिहान इटहरीस्थित टेङ्ग्रा र बुढीखोला किनार आसपासमा छाता ओढेर पानीको सतह हेर्दै गरेका केही पाकाहरु भन्दैथिए – ‘प्रकृतिलाई कसले रोक्न सक्छ र ? खोला मिचेर बनाएका घरहरुमा बाढी पस्नु स्वभाविक नै हो ।’ बढ्दो शहरीकरणसँगै बनेको संरचनाहरुका कारण बर्सेनि इटहरीमा बाढीले पिरोल्दै आएको छ । इटहरीसहित सुनसरीका विभिन्न ठाउँ तथा पूर्वी नेपालको मोरङ, झापामा समेत बाढीले बर्सेनि भौतिक तथा मानवीय क्षति गर्दै आएको छ ।

प्रदेश १ का सांसद सर्वध्वज साँवा स्वयम्ले आफ्नो घरमा बाढी पसेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । इटहरी ४ घर भएका साँवाले फेसबुकमा लेखेका छन्, ‘बाढी पसेर घर त चुर्लुप्पै भयो, आफैँ जनप्रतिनिधि कसलाई हार गुहार गर्नु !’ सांसद साँवाले स्वयम् आफ्नो घर डुबानमा परेको सूचना दिएपछि प्रष्ट हुन्छ कि, इटहरीमा बाढीको समस्या उस्तै छ ।

इटहरी ४ मा रहेको सबैभन्दा ठूलो बुढी खोला नजिकैको गैरीगाउँ र इटहरी ३ का सुनौलो बस्तीमा पनि बर्सेनि बाढीले पिरोल्दै आएको छ । इटहरी २० मा पर्ने पानीपिया खोलाले इटहरी २, २० लगायतका विभिन्न क्षेत्रमा बाढी पसेका कारण डुबानमा परेका छन् । इटहरी बजारै भएर बग्ने खेती खोला र टेङ्ग्रा खोलामा पानी थुनिएर बजारसँगै बस्तीमा पस्ने गरेका छन् । खोलाहरु मिचेर संरचनाहरु निर्माण भएका कारण बर्सेनि बाढी बस्तीमा पस्ने इटहरीका पाकाहरु बताउँछन् ।

विशेषगरी टेङ्ग्रा खोला, बुढीखोला, खेती खोलाले खासगरी इटहरीका वडा नं. ३, ४, ५, ६, ९, १०, ११ १६, १२, १३, वडा बाढीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । यी वडाहरुमा खोला तथा सप्तकोसीबाट आउने खनार क्षेत्रको नहरले इटहरी डुबानमा पर्ने गरेको छ । यता, इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन् ।

यसवर्ष मनसुन सुरु भएपछि सुनसरी र मोरङमा रहेका विभिन्न खोलाहरुमा शनिबार ठूलो बाढी आएको छ । सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टासम्म निरन्तर वर्षा भएको जनाएको छ । यस्तै, मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा पानीको सतह बढेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार विभिन्न ठाउँमा बाढीका कारण घरहरु डुबान पर्ने तथा विस्थापित नै हुने समस्या भएपनि हालसम्म सुनसरीमा कुनै मानवीय क्षति भएको छैन । केहीदिनदेखि पहाडी क्षेत्रमा लगातार परेको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव समेत बढेको उनले बताए ।

सप्तकोसीमा २७ वटा ढोका खुल्ला

कोसी ब्यारेजको कन्ट्रोल रुमका अनुसार शनिबार साँझ ५ बजेसम्ममा सप्तकोसीका २७ वटा ढोका खुल्ला गरिएको छ । त्यस्तै, नदीमा पानीको बहाव एक लाख ८८ हजार नौ सय ५५ क्यूसेक रहेको कन्ट्रोल रुमले जनाएको छ । शनिबार दिउँसो ३० वटा ढोका खुल्ला गरिएको थियो भने पानीको बहाव दुई लाख २२ हजार ४७५ क्यूसेक पुगेको थियो ।

सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ । बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार छान्न कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक बस्ने