जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ६ खलढुँगाका कि ८० वर्षिया वृद्धा रुपकला बुढाको असार ४ गतेको पहिरोले घर भत्कियो । आंशिक रुपमा भत्किएको घर जोखिममा परेपछि लेकमा बसीरहेकी उनी हरेक दिन घरको रेखदेख गर्न गाउँमा पुग्ने गरेकी छन् । दिनभर घर कुरेर साँझपख तिन घण्टा उकालो चढेर ज्यान जोगाउन लेकमा फर्कनु पर्छ, उनलाई । ‘सबै अन्नपात, भाँडाकुँडा घरभित्रै छन्, कसैले चोरेर नलैजाउन् भनेर घर कुर्न आउँछु, घरमा बसौ भने फेरि पहिरो आउने डर छ, सुत्नको लागी लेकमा जानुपर्छ ।’ उनले भनिन् । यो उमेरमा उनलाई ज्यान बचाउनको लागी लेकबेंसी, उकाली ओराली गरेको देख्दा गाउँलेका आँखा रसाउने गरेका छन् । ‘८० वर्षिया वृद्धलाई समेत ज्यान जोगाउन संघर्ष गर्नुपरेको छ, सिंगो गाउँ नै पिडामा छ, सुरक्षित घर नभएपछि लेकमा बस्नुको विल्प छैन ।’ स्थानीय धमेन्द्र अधिकारीले दुखेसो पोखे ।
यो बस्तिमा असार ४ गतेको पहिराले १० वटा घर भत्किएका थिए । निरन्तरको वर्षाले जमिन भाँसिदै गएको छ । गाउँमाथी भएका ढुँगाहरु खस्ने डर पनि उत्तिकै छ । पाँच वर्ष पहिले पाखाबाट गाउँमा सयौं टनको ढुँगा खसेको थियो । वर्षायाममा गाउँले गाइभैंसीका साथ लेकमा पुगेकोले भौतिक क्षति भएन, तर घर भत्कियो । त्यतिबेला खस्नलागेका ढुँगाहरु स्थानीयले सानासाना पर्खाल लगाएर रोकेका थिए । अहिले पर्खालनै च्पापेर ढुँगाहरुले जमिन छोडिसकेका छन् । ‘भिरालो पाखोबाट सैयौं ढुँगाहरु गाउँमा खस्ने जोखिम छ, हरेक क्षण हामी मृत्यु सँग लडिरहेका छौं तर सरकार बेखबर छ ।’ स्थानीय तीर्थ अधिकारीले गुनासो गरे ।

असार पहिलो साताको पहिरोले विस्थापित भएकाहरुले छिमेकीको साहराले दिन काटिरहेका छन् । पहिरोले घर भत्काएपछि तिन साता देखी छिमेकिको घरमा बस्दै आएका स्थानीय मुनराज अधिकारी भन्छन्,‘सबैले हाम्रो समस्यालाई नजरअन्दाज गरिहेका छन्, अहिले त घर मात्रै भत्किएका छन्, बस्तिमा ढुँगा खसेपछि भोलि मानविय क्षति हुने खतरा छ, त्यो बेला हाम्रो पालिका, प्रशासन र अन्य सरोकारवाला निकाय त्रिपाल र चिउरा बोकेर सहानुभूति देखाउन आउनुको कुनै अर्थ छैन ।’ यो बस्तीमा पहिरो आउने र ढुँगा खस्ने जोखिम नौलो होइन । एक दशक अघि नै यहाँका स्थानीयले साविकको गाउँ विकास समिति मार्फत सरकारलाई बस्ति स्थानान्तरण गरिदिन अनुरोध गरेका थिए । ‘हामीले बारम्बार बस्ती स्थानान्तरण गर्न निवेदन दियौं,तर हाम्रो अनुरोधको अपमान भयो, पटक पटक दिइएका निवेदन डस्बिनमा फ्याँकियो ।’ स्थानीय धमेन्द्र अधिकारीले भने ।
निरन्तरको वर्षाले जमिन भाँसिदै गएको छ । गाउँमाथी भएका ढुँगाहरु खस्ने डर पनि उत्तिकै छ । पाँच वर्ष पहिले पाखाबाट गाउँमा सयौं टनको ढुँगा खसेको थियो
अरु गाउँका मानिस पानी पर्न थालेपछि घरभित्र पस्छन्, तर यो बस्तीका नागरिक आकाशमा कालो बादल मडारिना साथ बस्ती छोड्नु पर्ने बाध्यता छ । बस्ती स्थानान्तरण गर्नको लागी गरिएका प्रयासले सार्थकता पाउन नसकेको हिमा गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष बल बहादुर रावतले बताएका छन् । यो बस्तीलाई कर्णाली प्रदेशले जोखीम युक्त बस्तीको सुचीमा राखेपनि स्थानान्तर गर्न कुनै तदारुकता नदेखाएको उनले बताए । ‘हामी जनप्रतिनिधि पनि दुखी छौं, पालिकाबाट बस्ती सार्न सम्भव छैन, अव प्रदेशले चासो देखाउनु पर्छ ।’ उनले भने । यता गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले गाउँ कार्यपालिकाबाटै आर्थिक वर्ष ०७६/०७७ मा बस्ती स्थानान्तर गर्ने निर्णय गरेको बताउछन् ।
कोरोनाका कारण बस्ती स्थानान्तरणको काम हुन नसकेको उनको भनाई छ । ‘संघीय सरकारले हिमा ६ का २ सय ६० घरलाई स्थानान्तरण गर्ने तयारी गरेको हो, तर कोरोनाका कारण काम हुन सकेको छैन, अव पहल गर्छौं ।’ उनले भने । स्थानीयले भने आश्वासन मात्रै दिएर नागरिकको जीवनमाथी माथी खेलबाड नगर्न अनुरोध गर्दै आएका छन् ।






