थ्री नेसन्स कप विजेता टोली पुरस्कृत

काठमाडौं । सरकारले गत चैतमा घरेलु मैदान दशरथ रंगशालामा भएको थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीलाई आइतबार नगद पुरस्कार प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेका हुन् ।

खेलाडीले जनही ४ लाख, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ले समान २ लाख रुपैयाँ प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीले १६ चैतमा भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको च्याम्पियन बनेको थियो । च्याम्पियन बनेको केही दिनपछि सरकारले टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

प्रतियोगितामा अर्को टोलीका रूपमा किर्गिस्तानको यू–२३ टोलीले भाग लिएको थियो । नेपालले घरेलु मैदानमा खेल्नपर्ने विश्व कप छनोटका ३ खेल दशरथ रंगशालममा नहुने भए पनि एन्फाले थ्री नेसन्स कप आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशाला पुगेर फाइनल हेरेका थिए । समापनका क्रममा खेलाडीले ‘केपी बा वि लभ यु’ भन्दै नारा लगाएका थिए ।

थ्री नेसन्स कप विजेता टोली
किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु, दिप कार्की, रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान, अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास र बालगोपाल महर्जन (मुख्य प्रशिक्षक), किरण श्रेष्ठ (सहायक प्रशिक्षक) र विकास मल्ल (गोलकिपर प्रशिक्षक)

साफ आयोजना गर्न स्वीकृति
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप आयोजनाका लागि प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् र एन्फालाई स्वीकृति दिएका छन् । सेप्टेम्बर दोस्रो सातामा (असोज पहिलो साता) बंगलादेशमा हुने भनिएको प्रतियोगिता विविध कारणले गर्दा सम्भव नहुने भएपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ ।

अब बंगलादेशले आयोजना नगरेको खण्डमा नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री ओलीले दसैंका बेलामा पर्ने हुनाले खेलाडीले साफ जितेर दसैं मनाउन पाउने बताएका थिए । उनले नेपालले खेल्न नभएर जित्नका लागि साफ च्याम्पियनसिप आयोजना गर्ने समेत जनाए । खेलाडीले प्रधानमन्त्री ओलीले साफ आयोजना गर्न भनेसँगै ताली बजाएर निर्णयको स्वागत गरेका थिए । सरकारबाट नै स्वीकृति पाएपछि अब नेपालले यसै साता हुने साफ बैठकमा आयोजनाको प्रस्ताव लाग्ने बुझिएको छ ।

भुटानले सेप्टेम्बरमा नै साफ च्याम्पियनसिप भएको अवस्थामा सहभागी हुन नसक्ने मौखिक जानकारी दिएको छ । त्यस्तै पाकिस्तान पनि फिफाबाट प्रतिबन्धमा रहेका कारण सहभागी हुने छैन । यस्तो अवस्थामा बढीमा ५ राष्ट्रले साफमा प्रतिस्पर्धा गर्ने देखिन्छ । गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना संक्रमणका कारण एक वर्षपछि धकेलिएको थियो ।

यसपटक सेप्टेम्बरमा नै प्रतियोगिता आयोजना भए पनि राजधानी ढाकामा नहुने बंगलादेश फुटबल संघले यसअघि नै जनाएको छ । बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माण जारी रहेका कारण सिल्हेट वा चटगाउँमा प्रतियोगिता हुने सम्भावना रहेको साफका महसचिव अन्वरुल हकले जानकारी दिएका थिए । नेपालले पछिल्लोपटक सन् २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

त्यति बेला नेपाल सेमिफाइनलसम्म पुगेको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन । सेमिफाइनलसम्म पुग्नु नै नेपालको अहिलेसम्मको उच्च प्रदर्शन हो । पछिल्लोपटक सन् २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम