काठमाडौं । राजधानीको सीतापाइलास्थित चलचित्र उपकरण व्यवसाय कम्पनी भिडियोक्राफ्ट नेपाललाई केही दिनयताबाट राहत मिलेको छ । सो कम्पनीका सञ्चालक विष्णु श्रेष्ठका अनुसार गत साताबाट म्युजिक भिडियो, वेभ सिरिज र हास्य सिरियलको छायांकन बढेको छ । दैनिक २ वटासम्म भिडियो तथा वेभ सिरिजको छायांकनका लागि आफूहरूले गत साताबाट उपकरण भाडामा पठाउँदै आएको श्रेष्ठले बताए ।
सीतापाइला, स्वयम्भु, कलंकीदेखि नैकपा, बलम्बु क्षेत्रसम्मका सिनेकर्मी तथा संगीतले यही कम्पनीबाट म्युजिक भिडियो तथा टेली शृंखलाको छायांकनका लागि यही कम्पनीबाट उपकरण भाडामा लैजाने गरेका छन् । कोरोनाको संक्रमणमा कमी आएसँगै आफूहरूको उपकरण भाडामा जाने क्रम बढेको पनि श्रेष्ठले बताए ।
काठमाडौंको अनामनगरस्थित चलचित्र छायांकन उपकरण भाडामा दिने कम्पनी प्रोड्युर नेपाललाई अहिले भ्याइनभ्याई छ । चलचित्रका लागि भाडामा उपकरण दिने यो सबैभन्दा ठूलो कम्पनी हो । यो कम्पनीको अध्यक्ष तथा नेपाल चलचित्र उपकरण व्यवसायी संघका महासचिव केशव घिमिरेका अनुसार प्रोड्युर नेपालबाट दैनिक ४ वटासम्म म्युजिक भिडियोको छायांकनका लागि उपकरण भाडामा जान थालेको छ । एक साथ ३ देखि ४ वटासम्म चलचित्रको छायांकनका लागि उपकरण प्रदान गर्दै आएको आफ्नो कम्पनीले दैनिक ६ वटासम्म म्युजिक भिडियो छायांकनका लागि उपकरण भाडामा दिन सक्ने पनि उनले बताए ।
घिमिरेका अनुसार दुई वर्षअघि यो सिजनमा दैनिक ५ देखि ६ वटासम्म भिडियोको छायांकनका लागि उपकरण भाडामा जान्थ्यो । तर, कोरोना महामारीपछिको सुस्तताका कारण अहिले शनिबार ४ वटासम्म र अरू दिन २ देखि ३ वटासम्म म्युजिक भिडियोका लागि उपकरण भाडामा जाने गरेको पनि उनले जानकारी गराए । ‘गत वैशाखको दोस्रो साताबाट निषेधाज्ञा जारी भएपछि भिडियो छायांकन ठप्प भयो, जसका कारण बैंकको ऋण र ब्याज बुझाउन गाह्रो थियो । अहिले भने भिडियोको छायांकन सुरु भएपछि केही राहत मिलेको छ,’ प्रोड्युर नेपालका अध्यक्ष घिमिरेले भने ।
यस्तै, छायांकनका लागि उपकरण भाडामा दिँदै आएको कम्पनी क्लासिक सिने वर्कका प्रकाश महरा पनि केही दिन यताबाट छायांकन सुरु भएपछि भिडियोका लागि उपकरण भाडामा जान थालेको बताउँछन् । सो कम्पनीमा पनि छायांकनको उपकरण लैजान बिहान २ देखि ३ वटासम्म टोली पुग्छन् । महराका अनुसार क्लासिकबाट दैनिक २ देखि ३ वटासम्म म्युजिक भिडियोको छायांकनका लागि उपकरण भाडामा त्यहाँबाट जान थालेको छ । दुई महिनादेखि ठप्प रहेको छायांकन कार्य गत साताबाट सुरु भएपछि आफूहरूलाई थोरै भए पनि राहत मिलेको पनि उनले बताएका छन् ।
चलचित्र तथा भिडियोका लागि उपकरण भाडामा दिने काम्पनी काठमाडौंमा मात्र करिब दुई दर्जन छन् । तीमध्ये एक दर्जनभन्दा बढी कम्पनीको उपकरण यतिबेला भिडियो छायांकनका लागि भाडामा जान थालेका सम्बन्धित व्यवसायी बताउँछन् । विगत एक वर्षदेखि यस्तै उपकरण भाडामा दिँदै आएका छायाकार तथा उपकरण व्यवसायी रामशरण उप्रेती पनि केही दिन यताबाट बल्ल उपकरण भाडामा जान थालेको भन्छन् । आइतबार मात्र आफ्नो कम्पनीमा ३ वटा भिडियोका लागि छायांकन उपकरण भाडामा गएको उनले जानकारी गराए । मूलतः अहिले तीज पर्व आएका कारण दैनिक एकदेखि डेढ दर्जनसम्म तीज गीतको छायांकन हुने गरेको छ । निषेधाज्ञा केही खुकुलो भएपछि अन्य शैलीका गीतको पनि धमाधम छायांकन हुँदै छ । सोही कारण पनि गत साताबाट आफूहरूको उपकरण भाडामा जान थालेको उप्रेतीको कथन छ । फेरि कोरोना संक्रमण बढ्न थालेका कारण अब कहिलेसम्म छायांकन हुने हो र उपकरण भाडामा जाने हो भन्ने निश्चित नभएको पनि यी उपकरण व्यवसायीले बताए ।
यसरी नजिकिँदै गएको तीजका कारण गीतको भिडियो छायांकन गर्ने क्रम बढेपछि चलचित्र तथा भिडियो छायांकन उपकरण व्यवसायीलाई थोरै भए पनि राहत मिलेको छ । सरकारले चाँडोभन्दा चाँडो सम्पूर्ण सिनेकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइदिएमा छायांकन नरोकिने र आफूहरूको उपकरण भाडामा जाने नेपाल चलचित्र उपकरण व्यवसायी संघका महासचिब केशव घिमिरेले राजधानीलाई बताए ।






