चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको सरकार भएकाले पनि मन्त्री माग्नेहरूको रोइलो देखिएको हो । यसका पछाडि प्रतिपक्ष गठबन्धनको सरकार बनेपछि सो गठबन्धनमा आबद्ध विभिन्न पार्टीहरूको अपेक्षाले यसमा ठूलो काम गरेको छ । आफैं त सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस स्वयं गुटैगुटको मोर्चाका रूपमा रहेको पार्टी हो । उसकै आन्तरिक बाँकी जीवनमा सरकारलाई विश्वास दिलाउन धौधौ परिरहेको छ । त्यहाँ पनि गुट र उपगुटहरू मन्त्री खान हानथाप गरिरहेका छन् । सघाउने अन्य ठूला दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी पनि गुटैगुटका मोर्चाजस्ता पार्टी रहेका छन् । घुर्की, धम्की र बार्गेनिङको ‘बिजनेस’ चलिरहेको देखिन्छ । जसपा पनि यो रोगबाट मुक्त छैन । यी कारणले गर्दा वर्तमान सरकारलाई आफ्नै सरकार बनाउन भारी हुने देखिन्छ । भैंसीलाई भैंसीको सिङ भारी र बाख्रालाई बाख्राकै सिङ भारी भनेझंै प्रम देउवालाई आफ्नै सरकार गठन निकै भारी हुन गएको छ ।

यस्तो अवस्थामा सरकार गठन गर्ने प्रक्रिया त पेचिलो बनिरहेको नै देखिन्छ । अर्कोतिर लोभीहरूको जमात नै पार्टी बन्न पुग्दा जनताहरूमा सरकार बन्ने बेलै नकारात्मक असर पर्न थालेको छ । दिन कस्तो हुन्छ भन्ने बिहानीले देखाउँछ भनेझैं देउवाको सरकार कस्तो हुन्छ, कति लोकप्रिय हुन्छ र टिकाउ हुन सक्छ भन्ने कुराको संकेत अहिले देखिन थालिसकेको छ । तर, पनि प्रधानमन्त्री देउवाले समयमा नै संवेदनशील भएर आफ्नो सरकारलाई चुस्त र क्षमतावान् व्यक्तिको समूहका रूपमा स्थापित गराउन सक्नुपर्छ । विकृति देखिन थाले भने त्यसले जनतामा फेरि पनि निराशा ल्याउन सक्छ ।

अहिले मन्त्रिमण्डल विस्तारका कुरा, मन्त्रालय विभाजनका कुरा र नपाए असहोय गर्ने कुरा सञ्चार माध्यममा खुलमखुला आइरहेका छन् । यसले सरकार निर्माण र सञ्चालनको तरिका, आचार विचार र संस्कार कस्तो होला भन्ने कुरा त परै जाओस्, सरकार नै गठन हुन्छ कि हुँदैन भन्ने भयले सताइरहेको देखिन्छ । नेपालजस्तो कम विकसित देशमा यस्तो प्रवृति हावी हुनु आफैंमा स्वाभाविक मान्नैपर्छ ’cause स्थिर सरकार कहिले पनि नबन्ने र राज्य सत्ता ‘कमाऔं र खाऔं’को भाँडो हुने भएकाले यसो हुने गर्छ । अर्कोतिर निम्न पुँजीवादी अधैर्यता, संस्कारको अभाव र गैरजिम्मेवारीका कारण यसो हुन गएको देखिन्छ । मन्त्री बन्नु देश र जनताका लागि काम गर्नु, सेवा सुविधा दिनुभन्दा पनि ठूलो मान्छे हुनु र समाजमा रवाफ बढ्न जानु आदि कारणले पनि मन्त्री खानका लागि निकै हानथाप परेको देखिन्छ ।

अर्कोतिर संसदीय प्रणालीको प्रयोग र विकास पनि उचित किसिमले हुन सकिरहेको छैन । संसदीय व्यवस्था, न्यायपूर्ण राज्य र यसलाई चलाउने विधिपद्धतिको विकास हुन नसकेर पनि यसो हुन जाने गरेको छ । नेताहरू स्वयंले ‘जोगी हुनका लागि’ राजनीति गरेको होइन भन्ने कुरा बारम्बार भनिराखेका हुन्छन्् । यसले राजनीति कमाऔं र खाऔंका लागि हो भन्ने अर्थ दिन्छ । यो राजनीतिक संस्कारका हिसाबले कदापि सुहाउने कुरा होइन । त्यसैले पार्टीले अवलम्बन गरेको विचार, नीति, विधि र पद्धति संसदीय प्रणालीअनुरूप छ वा छैन यसले पनि असर गर्ने गरिरहेको छ । योे सरकारको चुनौती भनेको यी सबै कुरा नीति, विचार र पद्धति जोगाउन यी सबै नकारात्मक पक्षसँग लड्नु हो र चुस्त प्रकारको मन्त्रिमण्डल निर्माण गर्नु हो ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित