जयसिंह धामी तुइनमा चढेपछि एसएसबीले डोरी काटिदिए, धामी महाकालीमा बेपत्ता

धनगढी । दार्चुला–भारत जोड्ने दार्चुलाको ब्याँस गाउँपालिका–२ मालमा रहेको तुइँन चढेर महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइँन काटिँदा दिँदा एक जना महकाली नदीमा बेपत्ता भएका छन् ।
ब्याँस गाउँपालिका २ राप्लाका ३३ वर्षीय जयसिंह धामी एसएसबीले तुइँन काटिँदा दिँदा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय आक्रोसित भएका छन् । शुक्रबार बिहान ब्यास गाउँपालिका–२ मालमा तुइँन तर्ने क्रममा एसएसबीले कुनै जानकारी नदिई तुइँन काटेको स्थानीयको आरोप छ ।

जयसिंह सहित ५ जनाको टोलि शुक्रबार बिहान गाउँबाट सदरमुकाम जान हिडेका थिए । नेपाल तर्फ दार्चुला ब्यासमा तुइन छ । तुईन चड्दै गर्दा भारतबाट एसएसबीको टोली आएर तुइन काटेको स्थानियको भनाई छ ।

उनी कोरोना महामारीका कारण एक वर्षअघि नेपालमा लकडाउन जारी भएकै अवस्थामा दुबईबाट घर फर्किएका थिए । लामो लकडाउन र बेरोजगारीले घरपरिवारमा आर्थिक समस्या पर्न थालेपछि उनी पुनः वैदेशिक रोजगारीको तयारीका लागि घरबाट निस्किएका हुन् ।

व्याँस गाउँपालिका–२ का स्थानीयहरु सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्छन् । शुक्रबार विहान जयसिंह ४ जना साथीहरू तुइन चढेर नदी पार गरे । उनको पालो आयो । उनी पनि तुइनमा बसे । तर, जब उनी नदीको बीचमा पुगे, तब भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि नदीमा खसे र महाकालीको तेज धारमा बेपत्ता भएको उनी संगै गएका जनकसिंह धामीले बताए ।

‘हामी निकै पीडित छौँ । आफ्नै जिल्ला सदरमुकाम जान हामीले भारतीय बाटो भएर जानुपर्छ,’ उनले भने, ‘बर्खा र हिउँदमा हामीले तुइन चढेर पारि रहेको भारतको उत्तराखण्डको धार्चुला जानुपर्छ । त्यसपछि पुनः गाडी चढेर सदरमुकाम खलंगा जानुपर्ने हुन्छ ।’

एसएसबीको यो गैरमानवीय हर्कत भने नयाँ नभएको स्थानीयवासी दुखेसो सुनाउँछन् । चार दिनअघि पनि भारतीय एसएसबीले खलंगाबाट फर्किने क्रममा निकै धम्क्याएको स्थानीहरुको दुखेसो छ । महाकाली नदीमा बेपत्ता भएका जयसिंहको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले जनाएको छ । ‘स्थानीयका अनुसार एसएसबीले तुइन काटेको भन्ने छ, तर ठ्याक्कै के भएको हो अनुसन्धान जारी छ,’ दार्चुला प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले भने, ‘चार जना तुइन चढेर पारि पुगेछन्, पाँचौं व्यक्ति जयसिंह महाकाली नदीमा बेपत्ता भएका छन् ।’

तुईनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् । सरकारले तुईनमुक्त कार्यक्रम अन्र्तगत तुईन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भएपनि पुल निर्माण अलपत्र छ । व्यासका नागरिकहरु खाद्यान्न, औषधी, र आवतजावत यहि तुइनमार्फत आउतजावत गर्दै आएका छन् ।

बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भएपनि स्थानीयले लुकी छिपीे तुइन लगाउने गरेका छन् ।

प्रशासनमा उजुरी

भारतीय एसएसबीको गैरमानवीय कार्य गरेको भन्दै स्थानीयहरुले सत्यतथ्य छानबिनको माग गरी घटनामा संलग्न एसएसबीलाई कारबाही हुनुपर्ने मागसमेत गरेका छन् ।

व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेन्द्र बुढाथोकीका अनुसार पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी दिएको बताए ।

दार्चुला जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले पीडित परिवारको उजुरी आएपछि पिथौरागढ जिल्लाका डीएम (जिल्ला प्रमुख) लाई छानबिनका लागि पत्राचार गरी गृह मन्त्रालयलाई बोधार्थ पत्र पठाएको जानकारी दिइन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश