सप्तरी, राजविराज । केही दिन यता गर्मी बढेसँगै यहाँका अस्पताल र निजि क्लिनिकहरुमा बिरामीको चाप बढेको छ । ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो । “दैनिक सर्पदंशको मात्रै ५÷६ जना घाइते आउने गरेको छ, गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहले भने, यसका अलावा ज्वरो, रुघा, खोकी र झाडापखालाका बिरामीहरुको संख्या पनि बढ्दै गएको छ । हाल दैनिक त्यस्ता १० देखी २५ जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् उनले भने ।
बिरामीको चाप बढ्दै गएपछि शैया भरीदा भुईमै भएपनि बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उनको भनाई छ । यस्तै जिल्लाको छिन्मस्ता र युनिक अस्पतालका साथै निजी क्लिनिकहरुमा समेत बिरामीको चाप बढेको सम्बद्ध चिकित्सकहरुले बताएका छन् ।
गर्मी मौसममा भाइरलको संक्रमण बढी हुने भएकाले बिरामी बढ्ने गरेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाको भनाई छ ।
गर्मी मौसममा यस्ता रोगबाट बच्नका लागि विशेष गरि पानी उमालेर मात्र पिउने, दिशापिसाब गरिसकेपछि राम्ररी हात धुने, बासी सडेगलेका खानेकुरा नखाने, झाडापखाला लागिसकेपछि पर्याप्त मात्रामा जिवन जल पिउने र रोगको लक्षण देखापर्ना साथ नजिकको स्वास्थ्य चौकी र अस्पतालमा सम्पर्क गरेर औषधी खानुपर्ने मेसु डा. झाको सुझाव छ ।






