कोरोना भाइरसको प्रभाव : मास्कको माग बढ्यो

बुटवल । चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिम नेपालमा पनि फैलिन सक्ने सम्भावनाकाबीच प्रदेश नं. ५ मा मास्कको अभाव हुन थालेको छ । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव देखिन थालेको हो । बिक्रेताका अनुसार मास्कको मूल्यमा भारी वृद्धि भएको छ ।

बुटवलका सर्जिकल व्यवसायी विष्णु भण्डारीले बजारमा सबै प्रकारका मास्कको अभाव बढेको जनाए । उनका अनुसार कोरोनाको सन्दर्भमा शनिबार प्रधानमन्त्रीले बैठक बोलाएपछि बजारमा मास्कको माग उच्च छ । मागअनुसारको आपूर्ति नहुँदा मास्कमा कालोबजारी हुने सम्भावना बढेको छ । चीनमा कोरोना भाइरस देखिएलगत्तै मास्कको माग खासै थिएन । तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठनसमेतले नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेको जनाएयता सामान्य र एन ९५ मास्कको माग अत्यधिक बढेको हो ।

तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले अभावले मास्क खरिद गर्न नसकिएको बताए । विगतमा १÷२ वटा मात्र मास्क किन्नेहरुले पछिल्लो समय पाएसम्म बट्टानै किन्ने गरेका छन् । नेपालबाट चीनमा मास्क पठाइएकाले पनि यहाँ अभाव भएको विक्रेताहरु बताउँछन् । ‘बजारमा मास्क अभाव नै भइसकेको छ । मैले कपडाको बनाएर काम चलाएको छु ।’ तिलोत्तमाका सुनिलकुमार जयसवालले भने ।

सर्जिकल पसलहरु मास्कविहीन छन् । विगतमा धुलोधुवाबाट बच्न मात्र मास्क प्रयोग गरिँदा अभाव थिएन । यस्तै अवस्था रह्यो भने कपडाको मास्कको व्यापार फष्टाउने कतिपयको अनुमान छ ।
नेपालमा मास्क उत्पादन गर्ने कम्पनी सीमित छन् । यी कम्पनीले साधारण पेपर मास्क मात्र उत्पादन गर्छन् । कोरोना भाइरसबाट जोगिन उपयुक्त मानिने एन ९५ मास्कको उत्पादन चीनमा हुन्छ । चीनबाटै नेपाल आयात गरिँदै आएको एन ९५ मास्क पछिल्ला दिनमा नेपाल भित्रिएको छैन ।

यसैबीच विदेशबाट नेपाल आउने सबैको अनिवार्य जाँच हुने भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारस्थित बसेको बैठकले कोरोना संक्रमण स्वदेशमा फैलन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येकको जाँच गर्ने निर्यण गरेको हो । यस अघि भने आफूलाई स्वास्थ्य विग्रिएको शंका लागेपछि स्वइच्छाले जाँच गराइने व्यवस्था थियो भने अब भने अनिवार्य सबै यात्रुले फारम भरेर जाँच गराउनुपर्ने नियम आइतबारबाट लागू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले हालसम्म यस कोभिड–१९ भाइरसको संक्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । उक्त संगठनले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम न्यूनीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ लाई सक्रिय बनाइएको दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोस्रो स्थानीय तह निर्वाचन आज