काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । आर्मीले आयोजक ढोरपाटनलाई तथा पारामाउन्ट स्कुललाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा दोहोरो जित हात पारेको हो ।
पहिलो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि २५–९, २५–९ र २५–११ को सहज जित हात पारेको आर्मीले दोस्रो खेलमा पारामाउन्ट स्कुलमाथि २५–१०, २५–२० र २५–३ को सहज जित निकाल्यो । बुधबार दोहोरो जितसँगै आर्मी ७ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ७ खेलबाट ९ अंक जोडेको ढोरपाटन सातांै स्थानमा छ । पारामाउन्ट ८ खेलबाट ३ अंक जोडेर आठौं स्थानमा छ ।
बुधबारै साबिक विजेता तथा उपाधि दावेदार नेपाल एपएफ क्लबले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा तीन इरानी खेलाडी सम्मिलित चितवन टाइग्रेसलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एक पक्षीय खेलमा एपीएफले चितवनमाथि २५–१०, २५–१८ र २५–१० को सहज जित निकाल्यो । अपराजित रहेको एपीएफ ८ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा यथावत् रहेको छ । त्यसअघि अघिल्ला ३ खेलमा अपराजित रहँदै उच्च प्रदर्शन गरेको चितवन बुलबुले रारा भलिबल क्लबसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । पहिलो सेट १९–२५ ले गुमाएको चितवनले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट पनि चितवनले २४–२६ ले गुमाएको थियो ।
चौथो सेट पुनः चितवनले २५–२२ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचांै सेटमा धकेलिएको थियो । चितवनले पाँचौ सेट बुलबुलेलाई १४–१६ सुम्पियो । बुलबुले ६ खेलबाट ११ अंक जोडेर पाँचांै स्थानमा उक्लँदा ५ खेलबाट १० अंक जोडेको चितवन छैटांै स्थानमा रहेको छ । यस्तै, अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले सुरुवाती सेट १४–२५ ले गुमाए पनि त्यसपछिको तीनै सेट २५–१९, २७–२५ र २५–१७ ले जित्न सफल भयो । जितसँगै पुलिसले ७ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहँदा डायमन्ड ६ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा यथावत् छ । सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेव) र चुली युवा क्लबले अंकको खाता खोल्न सकेको छैन । लिगमा बिहीबार ५ खेल हुने आयोजकले जनाएको छ ।