काठमाडौं । नेपाल र भारत दक्षिण एसियाली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र भारतबीचको खेलले माहोल नै छुट्टै बनाउने गर्दछ । यही दुई टोली बिहीबार दशरथ रंगशालामा ६ वर्षपछि मैत्रीपूर्ण खेलमा उत्रँदै छन् । यी दुई टोली सन् २०१७ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि हुनेछ ।
दुवै टोली अर्काे महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा रहेका छन् । सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियो ।
गर्व गर्न लायक खेल हुनेछ
भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जितका लागि खेल्ने र गर्व गर्न लायक प्रदर्शन गर्ने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् । खेलको अघिल्लो दिन बुधबार प्रि–म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले भने, ‘समर्थकका लागि खुसी होइन गर्व गर्न लायक प्रदर्शन गर्नेछौं । हामी इतिहास हेरेर होइन भविष्यका लागि खेल्नेछौं ।’ अलमुताइरीले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले असर नपर्ने बताए । ‘विगतको नतिजा हेर्दा हामीले भारतविरुद्ध २ जित मात्र हासिल गरेका रहेछौं ।
तर, त्यसले यो दुई खेलमा असर गर्दैन । हामी भविष्यलाई ध्यानमा राखेर तयारी गरिरहेका छौं । यो दुवै खेलमा जित हासिल गर्ने नै लक्ष्य हुनेछ ।’ उनले थपे । ६ महिनाअघि नेपाली टोली सम्हालेका अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले पहिलोपटक दशरथ रंगशालमा खेल्दै छ । ‘नेपालमा त्यो पनि भारतविरुद्ध पहिलोपटक खेल्न पाउँदा खुसी छौं । भारत निकै बलियो टोली हो । वरियतामा हामीभन्दा धेरैमाथि छन् ।
तर, हामी उनीहरूलाई सजिलै खेल्न दिने छैनौं’, उनले भने । प्रशिक्षक अलमुताइरीले भारतलाई दुई मैत्रीपूर्ण खेलमा हराउन सकेको खण्डमा फिफा वरीयतामा ७ देखि १० स्थान उक्लने सम्भावना रहेको जनाउँदै भने, ‘वरीयतामा पनि असर पर्ने हुनाले हामी बराबरीका लागि होइन जित्नका लागि खेल्नेछौं ।’ भारतविरुद्ध रक्षात्मक रणनीतिमा नखेल्ने र नयाँ खेलाडीले पनि मौका पाउने उनले बताए । उनले टोलीको मानसिकतामा परिवर्तन गरेको दाबी गरे । उनले भने, ‘मानसिकतामा परिवर्तन नहुँदासम्म कही पुगिन्न । उनले साफ र एसिया कप तयारीलाई मध्यनजर गर्दै टोलीको तयारी भइरहेको पनि बताए ।’
टोली शारीरिक र मानसिक रूपमा तयार
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले नेपाली टोली भारतविरुद्धको खेलका लागि शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन् । किरणले दुई महिनादेखि टोली तयारीमा रहेकोले शारीरिक रूपमा पनि राम्रो अवस्थामा रहेको बताउँदै घरेलु मैदानमा भारतविरुद्ध खेल्न पाउनुले आउने साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताए । ‘यो हाम्रा लागि राम्रो मौका हो । साफ खेल्नुअघि हाम्रो बलियो र कमजोर पक्ष थाहा पाउन यसले मद्दत गर्नेछ ।’ किरणले भने, ‘खेल फिफा डेटमा हुन लागेको छ । वरीयतामा असर गर्ने भएर पनि हाम्रा लागि यो जरुरी खेल हो । इज्जतका लागि खेल्छौं । ‘नतिजा आफ्नो ठाँउमा छ । खेल पक्कै पनि निकै प्रतिस्पर्धात्मक हुनेछ ।
भारतलाई हामीले कहिल्यै सहज लिएका छैनौं । हामीले पनि राम्रो प्रदर्शन गर्दै आएका छौं,’ उनले भने । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिक रूपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको बताएका छन् । भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमध्ये बिहीबार हुने पहिलो खेलअघि बोल्दै कप्तान किरणले टोलीको तयारी राम्रो रहेको बताए । ‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिक रूपमा मात्र बलिया थियौं’, अलमुताइरीको तारिफमा उनले भने, ‘अहिले हामीलाई उहाँले मानसिक रूपमा पनि बलियो बनाउनुभएको छ । हाम्रो प्रशिक्षक मात्र होइनन्, बाबु समान व्यवहार गर्नुहुन्छ । टोलीको मनोबल पनि उच्च छ ।’ किरण भारतविरुद्ध खेलमा उत्रिए ७३औं पटक राष्ट्रिय टोलीबाट खेल्नेछन् । उनले यससँगै विराज महर्जनको राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबर गर्नेछन् । यो उपलब्धि हासिल गर्न पाउँदा निकै खुसी रहेको उनले बताए । ‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशका लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ उनले भने ।
घरेलु टोलीसँग खेल्न सहज भने छैन
भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाचले घरेलु टोली नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । कोरोनाका कारण उत्पन्न कठिन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दै धन्यवाद दिएका छन् । उनले आउने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले फाइदा पुग्ने विश्वास व्यक्त गरे । भारतीय प्रशिक्षकले पछिल्लो समय नेपालले प्रदर्शनमा सुधार गरिरहेको र आफ्नो नेपाली समकक्षी प्रशिक्षकले टोलीलाई राम्रो गरिरहेको बताए । उनले भने, ‘नेपाली टोलीले रक्षापंक्तिमा निकै राम्रो गरेको छ । युवा खेलाडीलाई पनि मौका दिइरहेको छ । हामीले पनि राम्रो तयारी गर्न पाएका छैनौं,’ उनले भने, ‘यसले हाम्रो साफ च्याम्पियनसिपको तयारीमा मद्दत पुग्नेछ ।’ प्रशिक्षक स्टिमाच टोलीमा रहेका युवा खेलाडीलाई पनि अवसर दिने बताए । ‘हामीसँग टोलीमा युवा खेलाडी पनि छन् । सम्भवतः सेरिटन फर्नान्डेसले दोस्रो खेलमा डेब्यु गर्नेछन् । उनी टोलीमा भर्खर आएकाले पनि पहिलो खेल नखेल्न सक्छन् । गोलरक्षक धिरज पनि युवा नै छन् । उनलाई हामीले भविष्यका रूपमा लिएका छौं’, स्टिमाचले भने ।
नेपाल कठिन प्रतिद्वन्द्वी
भारतीय कप्तान सुनिल क्षेत्रीले नेपालसँग खेल्न सधैं कठिन हुने बताएका छन् । ‘हामीले पछिल्लोपटक सन् २०१५ मा विश्वकप छनोट खेल्दा गोलरहित बराबरीमा टुंगिएको थियो । त्यो खेलमा पनि हामीलाई सहज थिएन ।’ पछिल्लोपटक खेलेको भन्दा टोलीमा केही परिवर्तन देखिए पनि नेपाल जहिले चुनौतीपूर्ण टोली हो । नेपाली टोलीले बाहिर र घरेलु मैदानमा खेल्दा फरक हुन्छ ।’ उनले भने, ‘त्यसमा पनि घरेलु मैदानमा खेल्दा उनीहरू फरक हुन्छन् । त्यसैले खेल सजिलो हुनेछैन । तीव्र प्रतिस्पर्धात्मक खेल हुनेछ ।’ सुनिलले मैत्रीपूर्ण खेल आयोजना र व्यवस्थापनका लागि एन्फा र नेपाल सरकारलाई पुनः धन्यवाद दिए । उनले नेपालमा आफ्नो मामाघर र पुर्खा रहेका कारण पनि भावनात्मक रूपमा केही नजिक रहेको स्विकारे । तर, खेल मैदानमा पसेपछि भने खेलमा त्यसले असर नगर्ने उनको बुझाइ छ ।
रंगशालामा दर्शकलाई प्रवेश
नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ । तर, त्यसका लागि भने दर्शकले केही सर्त पूरा गरेको हुनुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दशरथ रंगशालामा बुधबार साँझ ५ः३० बजे सुरु हुने पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका अथवा पीसीआर परीक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दुवै खोप लगाएकाले खोप कार्ड देखाउने तथा खोप नलगाएकाले पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ ।
सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरी तयारी भइरहेको बताइएको छ । एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । मन्त्रालय र प्रशासनबाट आवश्यक स्वीकृति आइसकेको उनले जानकारी दिए । दर्शक प्रवेशका लागि रंगशालाका पाँचवटा गेट प्रयोग गरिने भएको छ । टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदै छ ।
सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि टिकट दर तोकेको छ । एन्फाले भीआईपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ । सरकारको स्विकृति लिएर एन्फाले दर्शकसहित खेलाउने भएको छ । एन्फाले ५ हजार १ सय दर्शकको स्विकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । मन्त्रालय र प्रशासनबाट आवश्यक स्विकृति आइसकेको उनले जानकारी दिए ।
हेड टु हेड
नेपाल र भारत हालसम्म १९ पटक आमाने–सामाने भएका छन् । इतिहास हेर्दा नेपालले भारतलाई जहिल्यै कडा चुनौती दिए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । नेपालले १३ खेल भारतलाई सुम्पदा २ खेल मात्रै आफ्नो पक्षमा पारेको छ । ४ खेल बराबरीमा सकिएको छ ।
२० डिसेम्बर १९८५ साफ गेम्स (०–०)
२१ डिसेम्बर १९८५ साफ गेम्स (२–०)
३० नोभेम्बर १९८७ साफ गेम्स (१–०)
२६ अक्टोबर १९८९ साफ गेम्स (२–१)
२१ जुलाई १९९३ साफ च्याम्पियनसिप (१–०)
१८ डिसेम्बर १९९३ साफ गेम्स (२–२) पेनाल्टीमा नेपाल विजयी
५ डिसेम्बर १९९८ एसियन गेम्स (०–१)
३० सेप्टेम्बर १९९९ साफ च्याम्यिनसिप (०–४)
८ डिसेम्बर २००५ साफ च्याम्पियनसिप (२–१)
३ जुन २००८ साफ च्याम्पियनसिप (४–०)
७ डिसेम्बर २००९ साफ च्याम्पियनसिप (१–०)
२८ अगस्ट २०१२ मैत्रीपूर्ण (०–०)
५ सेप्टेम्बर २०१३ (२–१) साफ च्याम्पियनसिप (नेपाल विजयी)
१९ नोेभेम्वर २०१३ मैत्रीपूर्ण (२–०)
१२ मार्च २०१५ फिफा विश्वकप (२–०)
१७ मार्च २०१५ फिफा विश्वकप (०–०)
२७ डिसेम्बर २०१५ साफ च्याम्पियनसिप (४–१)
६ जुन २०१७ मैत्रीपूर्ण (२–०)






