पाल्पा खस्यौलीको खुदो संस्कृति

गुल्मीमा एउटा प्रसिद्ध उखान छ, ‘दिगाम जानु खुदाको पाहुर ।’ दिगाममा प्रशस्त खुदो उत्पादन हुने हुँदा त्यहाँ खुदोको कोसेलीप्रति रुचि हुँदैन भन्ने अर्थमा यो उखान चलेको हो । स्वादिलो र तागतिलो खुदो खान पाउनु सर्वसाधारणको हैसियतको कुरा थिएन । जसको घरमा हुन्थ्यो, उनीहरू पनि भने जति खान पाउँदैनथे । विशेष अवसरमा विशेष परिकारमा प्रयोग गर्न र पैसाको हर्जा भएका बखत बेचेर खर्चको जोहो गर्न काम लाग्ने हुँदा घरपतिले खुदोलाई आफ्नै नियन्त्रणमा राख्ने गर्थे । यसै अनुपलब्धतालाई लिएर पश्चिम पाल्पाली गाउँलेहरूमाझ, ‘म राजा हुन पाए त खुदै खुदो खाएर मोटाउँथें’ भन्ने कथन प्रचलित थियो । दुब्लो पातलो राजा देखेर कुनै निर्दोष ग्रामीणले अनायास व्यक्त गरेको त्यो उद्गार पछि गएर लोकोक्तिमा परिणत भयो ।

नेपाली बृहत् शब्दकोशमा खुदो शब्दलाई संस्कृतको इक्षुद्रवको पर्यायका रूपमा उखुको रस पकाएर तयार गरिएको लस्सादार बाक्लो लेदो भनेर उल्लेख गरिएको छ । त्यस्तै, वसन्तकुमार शर्मा नेपालको नेपाली शब्दसागरमा यो शब्दलाई प्राकृतको खुद्दो शब्दसँग सम्बन्धित देखाइएको छ । उत्तरी भारत र नेपालमा प्राचीन समयमै खुदोको व्यावसायिक उत्पादन हुने गरेको र प्राकृत भाषा प्राचीन जनभाषा भएको हुँदा खुदो प्राकृत शब्द खुद्दोको नजिक देखिन्छ ।

८ हजार इसापूर्वमा न्युगिनी टापुमा उखुको खेती हुने गरेको पत्ता लागेको छ । तर त्यहाँका बासिन्दाहरु उखुको रस निकालेर पकाउने कला’bout अनभिज्ञ थिए । सर्वप्रथम नेपाल र भारतको उत्तरी भागमा उखुको रस निकाली पकाएर खुदो र ठोस मिठाईको रुपमा गुड तयार गर्न थालिएको थियो । इसापूर्व सयतिर यतैबाट ग्रिस र रोमसम्म पुगेको थियो गुड । अत्यन्त दुर्लभ र महँगो भएको हुँदा त्यहाँ गुडको औषधीय उपयोग मात्र हुन्थ्यो । यताबाट सर्करा (संस्कृत)का रूपमा ग्रिस पुगेको गुड त्यहाँको सर्करोन हुँदै अरेबिकमा सक्खर र अंग्र्रेजीमा सुगर बन्यो ।

मनुस्मृति एवं कौटिल्यको अर्थशास्त्रमा प्रशोधित गुड उत्पादन र बुद्धको समयमा उखुको भिक्षा दिने गरेको पाइएको हुँदा दक्षिण एसियामा उखुखेतीको प्राचीनता प्रस्ट हुन्छ । दक्षिण एसियाका मानिसहरू प्राचीन समयदेखि नै गुलियो खान अभ्यस्त थिए । १५औंं र १६औं शताब्दीमा अमेरिकी महादेशमा उखुखेतीको विकास भएपछि युरोपमा चिनीको व्यापार बढ्यो । गुलियो खान पल्केको युरोपमा चिनीको माग अचाक्ली बढेको हुँदा गोराहरूले लाखौं मानिसलाई उखुदास र बँधुवा मजदुर बनाएका थिए ।

आधुनिक समयमा दक्षिण एसियामा पाइने उखुलाई पश्चिमा वैज्ञानिकहरूले ‘सक्करम बार्बेरी’ नामकरण गरेका छन्

चरक र सुश्रुत संहितामा उखुको रस पकाएर बनेको पदार्थको औषधीय विशेषता’bout वर्णन गरिएको छ । त्यस बखतमा पौण्ड्रक, भीसक, तापसेक्ष, नैपाल, दीर्घपाल र कौशिक आदि प्रजातिका उखुको खेती हुने गरेको बुझिन्छ । नैपाल र कौशिक नेपाली प्रजातिका उखु भएको हुँदा नेपालमा उखुखेतीको प्राचीनता र प्रचुरता प्रमाणित हुन्छ । आधुनिक समयमा दक्षिण एसियामा पाइने उखुलाई पश्चिमा वैज्ञानिकहरूले ‘सक्करम बार्बेरी’ नामकरण गरेका छन् ।

पश्चिम पाल्पामा अवस्थित खस्यौली र त्यस वरिपरिका गाउँहरूमा परापूर्व कालदेखि नै उखुखेती गर्ने चलन थियो । फलफूल र गोरसजन्य सामग्रीहरूको बेचबिखन गर्नुहुँदैन भन्ने लोकपरम्परा रहेको त्यस बखतमा मानिसहरूसँग नगदको जोहो गर्ने एउटै मात्र उपाय थियो खुदो । हिन्दुस्तानतिरबाट आएका मानिसहरूले बुटवलमा बजार स्थापना गरेपछि मात्र अन्य कृषिउपज र घिउ बेच्ने प्रचलन सुरु भएको बुझिन्छ ।

आधुनिक मेसिनको आपूर्ति नहुँदासम्म तोरी, सर्सिउँ र उखु काठको कोलमा पेलिन्थ्यो । ससाना टुक्रा बनाएर कोलमा राखी उखु पेल्नु र रस झार्नु सानो परिश्रमको कुरा थिएन । तथापि, खुदो र गुडजस्ता स्वादिष्ट खाद्यपदार्थ उत्पादन गर्नु सुखद कुरा थियो । फलामबाट निर्मित भारी मेसिन (मुड्का)को आपूर्ति हुन थालेपछि भने उखु पेलाइको काम धेरै सरल भयो । मुड्काहरूको बीचमा सिंगो उखु घुसार्दै मानिस या गोरुको बलबाट कोलमा पेल्ने प्रविधिले उखुखेती र खुदो उत्पादनमा क्रान्ति ल्यायो । यो सुविधा प्राप्त भएपछि गुल्मीको थोर्गा लगायत गाउँहरू र पाल्पाको खस्यौलीले उखु व्यवसायमा ठूलो उन्नति गरे । थोर्गाको गुड अहिले पनि प्रसिद्ध नै छ तर खस्यौलीको प्रसिद्ध उखु व्यवसाय करिब ४० वर्षअघि नै हरायो ।

उखुखेती गर्न सजिलो थियो । तर त्यसका लागि प्रशस्त मकै फल्ने मलिलो बारी प्रयोग गर्नुपर्ने हुँदा सबै किसानको पहुँचमा थिएन । उखुको रस पोषिलो हुन्थ्यो किन्तु त्यसबाट छाक टर्दैनथ्यो । आम्दानीका लागि उखु पेल्नै पथ्र्यो, परन्तु पेल्नु मात्र पर्याप्त थिएन । उखुको रस पकाउन ठूलाठूला ताउला र अडिलो खालको प्रशस्त दाउरा चाहिन्थ्यो । एकै ठाउँमा चार÷पाँचवटा ताउला राख्न मिल्ने गरी ठूलो रसेटो (रस पकाउने चुलो) बनाउनुपथ्र्यो । यसरी पकाउँदा पनि खुदो तयार हुन घटीमा ४ घण्टा लाग्थ्यो । सामूहिक रसेटामा पकाएको खुदो आआफ्नो सुविधाअनुरूप भण्डारण, गर्ने, गुड बनाउने, प्रयोग गर्ने र बेचबिखन गर्ने परम्परा थियो । विशेष गरेर दसैं र तिहारको समयमा खुदो नहुनेहरू खुदेगाउँमा आएर किनेर लैजान्थे ।

झन्झटिलो, धेरै जनशक्ति आवश्यक पर्ने, प्रशस्त इन्धन चाहिने र लामो प्रक्रिया पूरा गर्नुपर्ने हुँदा उखु पेल्ने कार्यका लागि अलग्गै समयको आवश्यकता पथ्र्याे । पारस्परिक सहयोगबिना उखु पेल्नु र खुदो पकाउनु सम्भव नहुने हुँदा किसानहरूले आपसी सरसल्लाह गरेर समयको निर्धारण गर्थे । त्यही सामूहिक प्रयत्नबाट सम्पन्न हुने हुनाले नै उखु पेलाइको समय सबैको भेटघाट हुने अवसर बन्थ्यो । जमघटले समारोहको रूप लिन्थ्यो ।

परापूर्वकालमा खुदो पश्चिम पाल्पामा अवस्थित खस्यौलीलगाएतका गाउँमा मानिसहरूसँग नगदको जोहो गर्ने एउटै मात्र उपाय थियो

उखु पेलाइ समारोह उखु पेल्नु र खुदो पकाउनुमा सीमित थिएन । जाडो ऋतुमा दिनभरिको घमाइलोमा उखु पेलिने र रातको ठण्डीमा खुदो पकाइने हुँदा शीतबाट जोगिन छाप्रो बनाउनुपथ्र्याे । त्यो समय सामूहिक खानपिन, आपसी छलफल, सल्लाह र ठट्टामजाक गर्ने वार्षिक पुनर्मिलन समारोहजस्तै हुने गथ्र्याे । खुदो मीठो खाद्य मात्र नभई संस्कृतिको अंगसमेत बनेको थियो ।

खुदो संस्कृतिले गाउँलेहरूलाई गुलियो खानेकुरा र आयस्रोत मात्र प्रदान गरेन । त्यसले सामूहिक भेटघाट र कुराकानीको माध्यमबाट नेपाली भाषालाई समृद्धसमेत बनाएको छ । उखुको टुप्पो मुलाको फेद गास्से पाल्यो घरको छेद, गुल्मीको गुलियो मीठो पाल्पाको पीरो मीठो, खुदो खाएको मुखमा सिन्कीको झोल, खुदो खानेको मुखै उज्यालो, खुदेगाउँको खिरै मीठो, मकैको ढोड चुस्नेले उखुको धाक र वैशाखको खुदेपानी ( खुदोको सर्बत ) पुसको खाजा जस्ता उखान प्रचलित भए । खुदो संस्कृतिकै उपजका रूपमा ठगिनुलाई खुदो खानु, सफल हुनुलाई खुदो हुनु या खुदो पल्टिनु आदि टुक्काको विकास भयो ।

रातभरि खुदो पकाउने सिलसिलामा उखुको रसमा मुछेको कोदाको पीठो बाँसको ढुंग्रोमा भरेर रसेटाको भुंग्र्रोमा पकाएर खाँदा, रसेटामा उखु रोपेर तातो भएपछि ढुंगामा हानेर पड्काउँदा, आधा पाकेको रसमा कागती निचोरर पिउँदा र खुदो पाकेर तयार भएपछि उपस्थित सबैले एकेक बटुको तातो खुदो खान पाउँदाको मजा नै अर्कै । उखु पेल्ने समारोहको समयमा सके जति खान पाइने हुँदा खुदेगाउँका केटाकेटीहरू निरन्तर एक महिना उखु चुसेर पोसिन्थे । उखुखेती नगर्ने गाउँका मानिसले पनि पेल्ने समयमा इच्छाअनुसार उखु खान पाउँथे ।

रातभरि रसेटाको वरिपरि जागराम बसेर फागु गाउनु, गाउँखाने कथा भन्नु, भजन गाउनु, कविता रचेर सुनाउनु र उखान हाल्नुको निद्र्वन्द्व आनन्द खुदो संस्कृतिमा हुर्केको व्यक्तिले मात्र महसुस गर्न सक्छ । सहरीया हावाले प्रहार नगरेको ग्रामीण समाज आफंैमा पूर्ण थियो । खुसी हुने वाहना आँगन, चौतारी, वन र बारीमै पर्याप्त थिए । कुन प्रेरणाले जीवन आनन्दिलो हुन्छ र कस्तो वातावरणले रागद्वेषहीन निर्दोष प्रसन्नता र सहजता प्रदान गर्छ भन्ने कुराको कुनै सीमा छैन । तथापि सामूहिक प्रयत्नबाट हुने कार्यले मनुष्यमा सहकारीभाव र सहानुभूतिको विकास अवश्य गथ्र्याे ।

त्यो प्रवृत्तिले सुख र दुःख मात्र नभई हृदयभित्रको प्रेम र सद्भावसमेत बाँड्ने काम गथ्र्याे । अरू समयमा द्वन्द्वरत खस्यौलीका छिमेकीहरू उखु पेलाइ समारोहका बखत छलफल, सहभोज र सहश्रमको माध्यमबाट आपसी द्वन्द्वको निवारण गर्न सफल हुन्थे । अनुभवी वृद्धहरू, कर्मशील अधबैंसे र जोसिला युवा एवं किशोरहरूको पुनर्मिलनमा विचारहरूको संवाद, मन्थन र संश्लेषण हुने हुँदा आगामी योजना बनाउनसमेत सहज हुन्थ्यो । ती सबै कुरा आफ्नै सामुन्नेमा देखेका ससाना केटाकेटीहरूमा पनि सहकारी भावनाको जागरण हुन्थ्यो ।

तपाइको प्रतिक्रिया
(Visited 804 times, 1 visits today)

epaper

ताजा समाचार

सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ