एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस्

राजनीतिमा दल विभाजित हुनु सामान्य कुरा हो । दल फुटको मुख्य उद्देश्य नै सैद्धान्तिक नीतिगत, वैचारिक विभेदकै अन्त्य गर्नु हो । जसले दलद्वारा सम्पादित विगतको कार्य र उच्चस्तरीय नेताकै कायैशैली र व्यवहारलाई समयसापेक्ष बनाउन परिवर्तनको आवश्यकतालाई महसुस गर्छ । राजनीतिक मूल्य मान्यता र सिद्धान्त सधैं यथाअवस्थामा रहने कुरा होइन । यथाअवस्थामै राजनीतिलाई संकुचित गराइरहने हो भने त्यसले समयानुकूलको जनचाहना सम्बोधन गर्न सक्दैन । यथास्थितिको सिद्धान्त जनअपेक्षा पूरा गर्न नसक्ने आउटेडेटेड ठानिन्छ । यसैले विकास र प्रगति, जनअपेक्षा र अन्तर्राष्ट्रिय राजनीतिक अवस्थासमेतलाई मध्यनजर राखी यथाअवस्थाको निरन्तरता र परिवर्तननकारी शक्तिबीच तालमेल हुन नसकेपछि अन्ततः राजनीतिक दल विभाजित हुन्छ । यसलाई सामान्य ठान्नुपर्छ । नेकपा एमालेकै तत्कालीन अवस्थालाई हेर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली यथास्थितिवादकै धरातलमा टेकेर हैकमवादी एवं स्वैच्छाचारी बनेको कारण ओलीको विचारसँग विमति राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको परिवर्तनकारी सोचबीचकै वैचारिक विभेदको कारण एमाले पार्टी अन्ततः फुट्यो ।

अत्यधिक बहुमत प्राप्त सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै अदालतको आदेशले दुई चिरामा विभाजित भयो । फुटपछि पूर्ववत् अवस्थामै फर्किएको नेकपा एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी नामको अर्को पार्टी माधवकुमार नेपालकै अध्यक्षतामा गठन भयो । लोकतान्त्रिक प्रजातन्त्रमा दल फुटपछि उदय हुने नयाँ पार्टीले निश्चित रूपमा जनताको आस्था र विश्वासलाई आकर्षित गराएको हुन्छ । नयाँ पार्टीले केही त गर्ला भन्ने अपेक्षा पनि जनताले राखेका हुन्छन् । दल फुट्यो वा चोइटियो अथवा चिराचिरामा विभाजित भयो भन्ने व्यक्ति अनुकूल आआफ्नै प्रतिक्रिया देखिए पनि आमनागरिकले भने दल विभाजनलाई उपलब्धिपूर्ण नै ठान्छन् । नवगठित पार्टीलाई जनताले उपलब्धिपूर्ण ठान्नुको आशय पनि पार्टीको विगतको निराशाजनक र उपलब्धिहीन कार्यशैलीकै परिणाम हो ।

नेकपा एमालेको फुटले अध्यक्ष केपी शर्मा ओलीलाई घायल बनायो भने माधवकुमार नेपाललाई सान्त्वना मात्र होइन उत्साहित नै बनायो । दलीय अंकगणितको हिसाबले केपी ओली आफू नै शक्तिशाली छु भन्ने ठान्नु अस्वाभाविक पनि होइन । किनकि ओलीको साथमा प्रतिनिधि सभाका ९८ र राष्ट्रिय सभाका २६ गरी १ सय २४ सांसद थिए । माधवकुमार नेपालको साथमा प्रतिनिधि सभाका २३ जना र राष्ट्रिय सभाका ७ गरी ३० सांसद मात्र थिए । पार्टी केन्द्रीय कमिटीको साविकको कुल सदस्य संख्याको विभाजित अवस्था पनि करिब यही हाराहरीमा देखिन्छ । यसैले सदस्य संख्याको आधारमा केपी शर्मा ओलीको अहंमताको गर्जन उनको लागि ठीकै देखिए पनि उनले आफ्नो पक्षको संख्यात्मक अवस्थालाई अक्षुण राख्न सक्छन्÷सक्दैन त्यो नै महŒवपूर्ण मानिन्छ । किनकि एमाले पार्टीको मात्र होइन सिंगो संसद्कै झन्डै दुई तिहाइ बहुमत नै आफ्नो पक्षमा हुँदा केपी शर्मा ओलीले त्यसलाई बाँदरको हातमा नरिवलजस्तै बनाए । त्यो पनि ओलीकै नितान्त व्यक्तिगत स्वैच्छाचारिता र हैकमवादकै कारण । यसकै परिणाम उनले सत्ताबाट हट्नुप¥यो । विगतको यही कार्यशैलीलाई ओलीले शिक्षाका रूपमा लिएको पनि देखिँदैन । यसैले माधवकुमार नेपालभन्दा आफू शक्तिशाली छु भन्ने घमण्ड गर्नु ओलीकै निम्ति प्रत्युत्पादक हुन सक्छ ।

सत्ताशक्तिको धङधङी अहिलेसम्म केपी शर्मा ओलीबाट हटिसकेको देखिँदैन । उनीबाट सार्वजनिक रूपमै व्यक्त हुने तुच्छ वचन यसेको परिणाम हो । ओलीको विगतको सत्ताशक्तिकै तुजुकको प्रभावमा साथ सहयोगी बन्दै आएकै व्यक्तिहरू क्रमशः पाखा लाग्दै नजालान् भन्न सकिन्न । ओलीले सत्तामा रहँदा सत्ता शक्तिको दुरुपयोग गरेरै भए पनि नकावधारी नेता र केही सहयोगीको जत्थालाई रिझाउँदै ल्याए । यस्तो जत्थाले नुनको सोझो पार्दै अहिलेसम्म त ओलीलाई साथ दिँदै आएको छ । तर, त्यसको स्थायित्व भने देखिँदैन । यो ओलीको पालनपोषणमा निर्भर रहने कुरा हो । उनीसँग रहेर तर मार्न पल्केका अवसरवादी व्यक्ति भोलि शेरबहादुर देउवासँग, पर्सि माधवकुमार नेपाल र पुष्पकमल दाहालसँग नलाग्लान् भन्न सकिन्न । केपी ओलीको सवैच्छाचारितामा आधारित दूषित राजनीतिले सबैलाई सधैं समान देख्न सक्दैन । आफ्नै निर्णयलाई दलीय निर्णय ठान्ने, आफूले जे गरे पनि सबैले मान्नै पर्ने हैकमवादी ओलीको शैलीले विगतमा झंै भविष्यमा पनि सबैलाई गोलबद्ध गराउन सक्दैन । ओलीले पुरानै कार्यशैलीलाई निरन्तरता दिएसम्म उनीप्रति आमनागरिकको पनि विश्वास पलाउँदैन ।

सिद्धान्त परिवर्तन भए पनि नेताको आचरण परिवर्तन नभएसम्म व्यावहारिक परिवर्तन र रूपान्तरण आउन सक्दैन

यसैगरी, माधवकुमार नेपालले अध्यक्षता गरेको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीलाई सर्वसाधारण जनताले कसरी हेरेका छन् भन्ने कुरा अहिले राजनीतिक वृत्तमा खुलदुलीको विषय बनिरहेको छ । यस दलको भविष्य माधवकुमार नेपालको विगतकै पृष्ठभूमिसँग जोडेर अनुमान गर्नुपर्नेहुन्छ । नेकपा एकीकृत समाजवादी पार्टी केवल सत्तास्वार्थकै निम्ति नेकपा एमालेबाट अगग्गिएको हो वा समयसापेक्ष सुधारको मूलभूत उद्देश्य लिएर विखण्डित भएको हो ? भन्ने कुरा त उक्त पार्टीको भावी शैलीले नै बताउँदै लानेछ । तथापि नवगठित पार्टीप्रतिको जनदृष्टिकोण भने अहिले चर्चाकै विषय बनिरहेको छ । नेताकै कारण राष्ट्रिय राजनीति स्वच्छ र पारदर्शी बन्न सकेको छैन । आमनागरिकमा राजनीतिक चेतनाको विस्तार नभएसम्म, जनस्तरबाट राजनीतिको मूल्यांकन बिरलै हुने गरेकाले सबै राजनीतिक दलहरू जनताको नजरमा ठीक देखिए । तर, जनस्तरमा राजनीतिक चेतना विस्तार हुँदै आएपछि भने जनताले नै राजनीतिक खोट पहिल्याउन थाले । अहिले त कुन दल ठीक, कुन बेठीक ? के कारणले ठीक के कारण बेठीक ? भन्ने कुरा पनि जनताले नै मूल्यांकन गर्न थालेका छन् ।

जनताको नजरमा राजनीतिक दलभन्दा नेता ठूलो, नेताहरूमध्ये पनि शीर्षस्थ नेता त्यसै ठूलो तथा शीर्षस्थ नेताको पदीय गरिमाभन्दा उसको स्वार्थ र स्वैच्छाचारिता सबैभन्दा ठूलो भएको जनताले नै अनुभूति गरिरहेका छन् । स्वार्थ र स्वैच्छाचारिताले सिंगो पार्टीपंक्तिकै मूल्य मान्यतालाई धराशायी बनाएको छ । व्यक्तिलाई सर्वोपरि ठान्ने प्रवृत्तिले दलीय सम्मानमा आघात पु¥याएको छ । सामूहिक निर्णय नै व्यक्ति केन्द्रित भइसकेको छ । व्यक्ति केन्द्रित अधिकारले स्वार्थलाई बाहेक अन्य कुरालाई देखेन । हुन त सबै दलका नेतालाई जनताले एकै नजरले हेरेका हुँदैनन् । कतिपय व्यक्ति जनताको नजरमा वास्तविक नेताकै रूपमा चिनिएका छन् भने कतिपय नकावधारी नेतामा चिनिन्छन् । नकावधारी नेताले राजनीतिलाई सेवा होइन आर्जनको पेसा बनाएका छन् । यस्तै, नकावधारी नेताकै बाहुल्यताको कारण पछिल्लो समयमा मुलुकको राजनीति जनताको नजरमा दूषित देखिएको हो ।

यही पृष्ठभूमिमा माधवकुमार नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको छ । यो पार्टीप्रति जनआस्था अहिले कारात्मक देखिन्छ । तर, यही सकारात्मक जनआस्थालाई सम्मान गरिरहन सो पार्टीले आफ्नो गतिविधि कसरी सञ्चालन गर्छ भन्ने कौतुतलता सबैमा छ । तथापि जनविश्वास सम्बोधन गर्न माधवकुमार नेपालको पार्टी सफल बनोस् । यस पार्टीको सफलताको निम्ति जनसमर्थन अक्षुण गराउन पार्टीले निम्न पक्षलाई विशेष ख्याल राख्नुपर्नेहुन्छ । राजनीतिमा स्वार्थ निहित हुन्छ तर व्यक्तिगत होइन सामूहिक दलीय स्वार्थ हुनुपर्दछ । दलीय स्वार्थ पनि देश र जनताकै हितमा केन्द्रित रहे मात्र दलको औचित्य पूरा हुन्छ । रचनात्मक कार्य लक्षित दलीय स्वार्थ आमनागरिकको आशा र भरोसाको केन्द्र बन्छ । यसले दलप्रतिको जनविश्वास बढाउँछ । जनविश्वास प्राप्त दलाई जनताले नै सत्ता सञ्चालनको जिममेवारी प्रदान गर्न सक्छन् । लोकतन्त्रको आधारभूत मूल्य मान्यता भनेकै दलको सामूहिक उदारवादी दृष्टिकोण नै हो ।

माधवकुमार नेपाल नेतृत्वको नवगठित पार्टीले आफ्नो पृष्ठभूमिलाई त्यागेर सामूहिक एकताका साथ देश र जनताको स्वार्थमा अग्रसर बने मात्र नवगठित पार्टीको सार्थकता पुष्टि हुन्छ । नेकपा एकीकृत समाजवादी पार्टीले स्वार्थ र स्वैच्छाचारिता निर्मूल गरी सैद्धान्तिक मान्यतामा आधारित राजनीतिक संस्कार स्थापित गरायो भने यसले अन्य दलहरूलाई पनि राजनीतिक शिक्षा प्रदान गराउँछ । सत्ता स्वार्थ अहिलेको मुख्य राजनीतिक चुनौती हो । सबैले सत्तामा पुग्नैपर्ने । सत्तासीन हुने मात्र होइन रोजेकै मन्त्रालयको नेतृत्व गर्नैपर्ने, सार्वजनिकभन्दा निजी स्वार्थलाई सर्वोपरि ठान्ने, सत्तामा रहेका व्यक्तिले यही मानसिकतामा गरेका कानुनविपरीतका कार्यबापत दण्ड सजाय नहुने सुनिश्चितता बढ्दै आएको छ । नेताको कार्यशैलीबाट आजित भएका जनता नेपालले नेतृत्व गरेको पार्टी विकृति र विसंगति हटाउने उदयमान शक्ति बनेको हेर्न चाहन्छन् ।

सर्वसाधारण जनतामा देखापरेको राजनीतिक जागरण अब दुर्गन्धित राजनीतिज्ञले ओझेलमा पार्न सक्दैनन्

अपराधको राजनीतिकरण गर्ने प्रवृत्ति अहिलेको अर्को मुख्य राजनीतिक चुनौती बन्दै आएको छ । आपराधिक पृष्ठभूमिका चर्चित व्यक्तिलाई राजनीतिमा प्रवेश गराउने, यस्तै व्यक्तिलाई पार्टी प्रवेश गराउन दलीय प्रतिस्पर्धा हुने, प्रवृत्ति सामान्य ठानिन्छ । अपराधिक पृष्ठभूमिका व्यक्तिलाई दल प्रवेश गराए पार्टीको गौरव बढ्ने, सत्तासीन बनाए अपराधिक समूहले नै सत्तालाई साथ दिने भएकाले सरकार मजबुद बनेको ठान्ने मानसिकता विकसित भएको छ । राजनीतिक सिद्धान्तविरुद्धको यस्तो प्रवृत्तिलाई नेकपा एकीकृत समाजवादी पार्टीले पूर्णरूपमा नियन्त्रण गरी जनविश्वास आकर्षित गराउनुपर्छ । दलको नामअनुसारै समाजवादी मान्यतालाई आधारस्तम्भ बनाई क्रियाशील हुने हो भने सामाजिक विभेद निर्मूल हुन्छ । प्रशासनिक स्वच्छता स्थापित हुन्छ । विधिले नै राज्य सञ्चालन गर्ने भएकाले जनताको हकअधिकार सुनिश्चित बन्छ ।

एकीकृत समाजवादी पार्टीले जनतालाई दिनुपर्ने अर्को सकारात्मक सन्देश राजनीतिक भ्रष्टाचारको अन्त्य हो । राज्यसत्ता पछिल्लो केही वर्षयता भ्रष्टलाई संरक्षण गर्ने संस्थाकै रूपमा विकसित भइसकेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त यो प्रवृत्तिलाई मलजल गरेरै हलक्क बढाइदिए । उनै ओलीसँगको वैचारिक विभेदमध्येकै एक बुँदा माधवकुमार नेपालले उठाएको भ्रष्टाचार नियन्त्रण पनि थियो । राजनीतिक भ्रष्टलाई कारबाही गर्ने ओलीको नजिर सत्ता गठनबन्धन दलको हैसियतले एकीकृत समाजवादी पार्टीले उन्मूलन गर्ने पहल गर्नुपर्छ । सत्ता साझेदार दलको हैसियतले ओली कार्यकालका संरक्षित चर्चित भ्रष्टलाई छानबिनको कसीले परीक्षण गरी निर्दोष प्रमाणित भए सम्मान गर्ने, दोषी प्रमाणित भए दण्ड सजायको भागीदार बनाउन माधवकुमार नेपालले खुट्टा कमाउनु हुँदैन । यो कार्यका निम्ति आमनेपाली जनताले नेपाललाई साथ दिनेछन् । भ्रष्टलाई कारबाहीको दायरामा ल्याए देउवा नेतृत्वको गठबन्धन सरकार लोकप्रिय बन्नेछ ।

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा एमालेको तर्फबाट भएको विगतको कमीकमजोरी सच्याई सामाजिक रूपान्तरणको सन्देश प्रवाह गरे पार्टी फुटको औचित्य स्थापित हुन्छ । अन्यथा विचार र दृष्टिकोण परिवर्तन नगर्ने केबल विरोधकै लागि विरोध गरी पार्टी फुटाउने, सत्ताशक्तिकै मोहमा डुब्ने, स्वैच्छाचारितालाई नै निरन्तरता दिने तथा सामूहिक होइन दल र व्यक्तिगत स्वार्थलाई नै यथावत् महŒव दिँदै जाने हो भने नेकपा एकीकृत समाजवादी पार्टीको कुनै औचित्य हुँदैन । सर्वसाधारण जनतामा देखापरेको राजनीतिक जागरण अब दुर्गन्धित राजनीतिज्ञले ओझेलमा पार्न सक्दैनन् । स्वार्थको राजनीति गर्दै आएका स्वैच्छाचारी नेताहरू जनताको नजरबाट अब क्रमशः टाढिदै जाँदै छन् । अहिलेको सत्ता गठबन्धनभित्र पनि राजनीतिक सिद्धान्तले भन्दा स्वार्थले प्रभाव पार्ने संकेत देखापरिसकेको छ । सिद्धान्त परिवर्तन भए पनि नेताको आचरण परिवर्तन नभएसम्म व्यावहारिक परिवर्तन र रूपान्तरण आउन सक्दैन यसर्थ यसतर्फ एमाले एकीकृत समाजवादी पार्टी संवेदनशील बनोस् । परिवर्तनको सन्देश जनतामा पु¥याउन सफल होस् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण