बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका साथ मनाउने गर्छन । भाद्र शुक्ल पूर्णिमाका दिन सुरु हुने पर्व विधिवत रुपमा सकिसकेको छ ।
पर्व विदा भएपनि अनन्ते पर्वको मेला अझै सकिएको छैन् । मार्तडी स्थित रावलवाडाको अनन्ते मेला लाग्ने स्थल देउडामय बनेको छ । अनन्ते मेला महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा लिने गरिएको छ ।
तर स्थानीयले यसलाई यत्तिमा मात्र सीमित राख्दैनन् । उनीहरुले हरेक देउडा सँस्कृतिको जगेर्नालाई पहिलो प्राथमिकता दिने गरेका छन् । महिला पुरुष एक अर्का बीच जीवन जगतका सुख दुखका कुरा प्रेमका प्रसंग र विकास निर्माण राजनीतिका कुरा देउडा गीतबाटै पोख्ने गर्छन् ।
देउडालाई बाजुरा लगायत सुदूरपश्चिमका बासिन्दाले मनको ढुकढुकी र मौलिक पहिचानका रुपमा लिने गर्छन् । जस्को झल्को यो वर्षको अनन्ते मेलामा पनि देखिएको छ । अनन्ते खेल्न भन्दा बढी देउडा खेलहरु भएको देखिन्छ ।
आफन्तसँगको भेटघाट र मित्रता गाँस्न मिल्ने र देउडा गीतकै भाकाबाट मनोरञ्जन लिने पर्वका रुपमा अनन्तेको पहिचान भएको पाइन्छ । छिमेकी गाउँ टोल, लेक खर्क बेसीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा हुने र रमाईलो अनन्तेको अवसरमा गरिन्छ ।
मार्तडी स्थित अनन्ते मेलामा स्थानीय देउडा खेलाडीहरुले भव्य देउडा गाएका छन् । युवा देउडा खेलाडी शंकर मल्ल सहितको प्रस्तुतिको देउडा दिनभर चलेको थियो । नेताहरु देखि सरकारी कर्मचारी, विद्यार्थी देखि महिला सबै देउडामा नै झुमेका छन् ।
जिल्ला प्रशासन कार्यालय र नगरपालिकाबाट ९ बजेपछि मेला नगर्न पत्राचार गरिएपनि त्यसको कुनै प्रवाह गरिएको छैन् । आज दिनभर देउडा मै रमाएका छन् । केटा र केटी एक आसपमा माया प्रेमसँगै महाभारतको कथाबस्तुलाई कलात्मक पाराबाट व्यक्त गरेको देख्दा वास्तविक देउडा साहित्य पनि अनन्ते पर्वमा झल्किएको छ ।
अनन्ते मेलामा पुरुषहरु गोल घेरामा लाम लागि हातमा काँसाका घातुबाट निर्मित मिजुरा बजाएर दुई समुहले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्दछन् । भने महिलाहरुले अनन्तेको पहिले दिन जमरा कलशमा सजिएर भित्र्याउने चलन रहेको छ ।
मेला अवधी भर स्थानीयले कुले देवता कैलाश र मष्टाको पूजा आजा गर्ने र पारिवारीक खुसी, दिर्घायु र सुख शान्तिका लागि कामना गर्ने गर्दछन् । यो अवधिमा ग्रह दशाका लागि भन्दै दर्जनौ बोका बलि दिने गरेका छन् ।






