कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी २०७१/७२ सालमा आयोजनाको ठेक्का भएको थियो । सुरुदेखि नै कछुवा गतिमा निर्माण भइरहेको छ ।

३ सय ५९ कुल लम्बाइ रहेकोे सेती राजमार्गको दुई खण्ड बनाएर निर्माण कार्य भइरहेको छ । अछाम र बझाङ जिल्लामा २ वटा कार्यालय स्थापना भएका हुन् । नेपालको उत्तरी दक्षिण जोड्ने सबैभन्दा छोटो दूरी रहेको सुदूरपश्चिम प्रदेशको गौरवको योजना सेती राजमार्ग हो । कैलालीको टिकापुर भारतसँग जोडिएको तिकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि सेती लोकमार्गको १ सय ९२ किलोमिटर सडकमा ट्रयाक खोल्नै बाँकी छ । कुल तीन सय ५९ किलोमिटर लामो लोकमार्ग निर्माणको काम बजेट अभावका कारण अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको हो । सेती लोकमार्ग दक्षिणी खण्ड २ सय ४२ किलोमिटर सडक योजना कार्यालय साँफेबगरले हेर्दै आएको छ ।

दक्षिणीखण्ड बौनियादेखि ठूलीगाडसम्म रुख कटानको आदेश नआउँदा तीन वर्ष निर्माणको काम अवरुद्ध भएको थियो । गत वर्ष मात्र रुख कटानको आदेश आएपछि निर्माणको काम अघि बढाइएको थियो । यो खण्डअन्तर्गत हाल चारवटा पुल र बौनियादेखि ठूलीगाडसम्म सडक निर्माणको काम भइरहेको योजना कार्यालयले जनाएको छ । कैलालीको भागमा ६.५ किलोमिटरभित्र कालोपत्रेको काम गरिएको छ । कालोपत्रे गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झन्डै २०.५ किलोमिटर सडकखण्ड मिसिएको छ । चैनपुरदेखि कैलालीको टीकापुरसम्मको करिब २ सय ४२ किलोमिटर लामो सेती लोकमार्ग दक्षिणी खण्डमध्ये डोटी, बझाङ र अछाममा रेखांकन गरिएको कतिपय ठाउँमा समेत ट्रयाक खोल्न बाँकी छ ।

ठूलीगाड हुँदै सेरीगाड साँफेबगरसम्म १ अर्ब ५० करोडको बहुवर्षीय ठेक्का स्वीकृतका लागि आयोजना कार्यालयले मन्त्रालयमा फाइल पेस गरेको छ । यो खण्डअन्तर्गत ३० करोडको ठेक्का सम्झौता गरिएको भए पनि ७ करोड बरावरको काम भएर सम्झौता अवधि सकिएपछि थप निर्माणको काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जानकारी दिएको छ । बजेट अभावकै कारण धेरै स्थानमा सडकको काम हुन नसकेको सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी दमनकुमार विष्टले बताए । ‘प्रतिकिलोमिटर सडक निर्माण गर्न ५ करोड आवश्यक पर्छ । तर वनको अवरोध र बजेट अभावका कारण निर्माणले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने ।

यस्तै बौनियाँदेखि ठूलीगाडसम्मको ५५ किलोमिटर ठेक्का भएर काम सुरु भएको छ । डोटी खण्डमा जंगलको काम भइरहेको छ । वन तथा वातावरण मन्त्रालयले रुख कटानको आदेश दिएकाले त्यो खण्डमा रुख कटानको काम भइरहेको सूचना अधिकारी विष्टले बताए । अछाममा ठेक्का प्रक्रियामा रहेको छ । त्यहाँ एउटा गाड रहेकाले पुलका लागि ठेक्का प्रक्रिया सुरु भएको विष्टले बताए । यस्तै बाजुरा र बझाङ क्षेत्रमा चारवटा पुल रहेका छन् । त्यसको पनि ठेक्का प्रक्रिया सुरु भइरहेको उनले बताए । दक्षिण खण्डअन्तर्गत एउटा ठेक्का ३० करोडमा भएको छ । त्यसको काम सुरु भएको सूचना अधिकारी विष्टले बताए ।

उनले बाँकी खण्डमा पनि ठेक्का प्रक्रियामा रहेको बताए । उनले ३० करोड थप बजेट आएकाले अन्य खण्डको पनि काम सुरु गर्ने बताए । ट्रयाक खोल्न बाँकी रहेको भन्दै उनले ठेक्का र ट्रयाक खोल्न अनुमति आइसकेको बताए । सेती राजमार्गको टीकापुर, बौनिया, बैनिया ठूलीगाड, ठूलीगाड डोटीको सिलीगाडसम्म काम भइरहेको छ । यसका साथै अछामको साँफेगर हँुदै घुगरकोटबाट बाजुराको बिडासैन थामालेखसम्म ट्रयाक समेत खुल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 1,195 times, 1 visits today)

epaper

ताजा समाचार

तादीखोलामा एक्रोब्रिज जडान तीब्र