सस्तो लोकप्रियता दीर्घकालीन हुँदैन । ढिलो चाँडो यो गलत हो भन्ने कुरा पछि प्राप्त हुने तथ्यले नै प्रमाणित गरिदिन्छ । केही दिनका लागि प्रशंसनीय बने पनि यसको नकारात्मक असर दीर्घकालसम्म रहन सक्छ । पछिल्लो समयमा राज्य निकायद्वारा सम्पादित कतिपय काम कार्य सस्तो लोकप्रियतामा आधारित रहन थालेको छ । यसको पछिल्लो दृष्टान्त नेपाल प्रहरीद्वारा भएको संखुवासभाको मादी हत्याकाण्डको अनुसन्धानलाई लिन सकिन्छ । मादी नगरपालिका–१ उम्लिङमा भदौ २१ गते भएको एकै परिवारको ६ जनाको हत्याले मुलुकमा सन्त्रास फैलायो । राज्यलाई नै चुनौती दिने यो हत्याकाण्डले समस्त नेपाली भयभित बने । राज्यप्रतिको जनविश्वासमै चोट पुग्यो ।
सामूहिक हत्याका घटना पूर्णरूपमा नियन्त्रण हुनुपर्नेमा बराबर दोहोरिरहेका छन् । अपराध नियन्त्रण गर्न राज्य असफल बनेको आभास दिने संखुवासभाको मादीको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानले पुनः नेपाल प्रहरीको सम्मानमा चोट पु¥याएको छ । यो पनि तल्लो तहको अनुसन्धान अधिकृतको कारण होइन, जिल्लास्तरदेखि प्रदेश र केन्द्रीयस्तरकै दक्ष अनुसन्धानकर्ता एवं त्यसको स्थलगत अनुसन्धानको सुपरिवेक्षण गर्न पुगेका प्रदेश प्रहरी प्रमुख डीआईजीपी अरुण बिसी मात्र होइन, उनलाई पुरस्कृत गर्ने आईजीपी शैलेश थापाकै कार्य पनि विश्वासरहित सस्तो लोकप्रियतामा आधारित भएको देखियो ।
वास्तवमा राज्य सचेत रहँदारहँदै पनि अपराधिक घटना हुन्छ । किनकि, ३ करोड नेपालीको दैनिक क्रियाकलाप र गतिविधि ७६ हजार प्रहरीले अविछिन्न अवलोकन गर्न सक्दैन । व्यक्तिगत गतिविधि अवलोकन हुन नसक्दा कुन व्यक्तिको आचरण कस्तो छ ? उसले दैनिक के कस्तो कार्य ग¥यो ? भन्ने कुरा प्रहरीको नजरमा पर्न सक्दैन । अपराध समाजकै व्यक्तिबाट हुन्छ । अपराध भइसकेपछि तत्कालै घटनास्थल पुग्ने । शंकित व्यक्ति भाग्न उम्कन नपाउने व्यवस्था मिलाउने । कसुरदार पक्राउ गर्ने र घटनाको यथार्थ संक्षिप्त वृत्तान्त सार्वजनिक गराउने दायित्व प्रहरीको हो । अनुसन्धानमा नेपाल प्रहरी दक्ष छ भन्ने कुरा पनि सर्वसाधारणसम्म पुगिसकेको छ । अनुसन्धान हचुवामा होइन, तथ्यमा आधारित हुन्छ भन्ने जनविश्वास गडिसकेको छ ।
मादी घटनापछि समयमै प्रहरी घटनास्थलमा पुग्यो । अनुसन्धान कार्यको प्रारम्भ पनि तत्कालै भयो । प्रहरीको तत्कालको तदारुकता र डीआईजीपीकै उपस्थितिले जनतालाई आडभरोसा दियो । गाउँघरमै रहेको कसुरदार लोकबहादुर कार्की पनि पक्राउ प¥यो । ६ दिनसम्मको प्रहरी अनुसन्धानले कसुरदार लोकबहादुर कार्की मात्रै घटनामा संलग्न भएको भन्ने कुरा पनि घटना भएको सातांै दिनमा वा भदौ २७ गते नै प्रहरीले सार्वजनिक ग¥यो । लोकबहादुर एक्लैले घटना गराएको थाहा पाउने सर्वसाधारण पनि चकित परे । प्रहरीको सफलतालाई स्वागतसहित सबैले प्रशंसा पनि गरे । प्रदेश प्रहरी प्रमुख डीआईजीपी अरुण बिसीले नै तेजबहादुर कार्कीको परिवारको हत्या लोकबहादुरबाटै भएको बताउँदा सर्वसाधारणले विश्वास नगर्ने कुरै भएन ।
अनुसन्धानको सफलता प्रहरीको लोकप्रियतामा आधारित हुने र अनुसन्धान नै प्रहरी दक्षता मापनको कसी भएकाले यसलाई प्रहरीले सधैं संवेदनशील ठान्नुपर्छ
तर, लगत्तै ६ जनाको हत्यारा लोकबहादुर मात्र होइन लोकबहादुरकै काका खड्गबहादुर, खड्गबहादुरकै छोरा हस्तबहादुर, लोकबहादुरकै बुबा रणबहादुर र लोकबहादुरकै भाइ नरेश कार्कीसमेतका पाँच जना थिए भन्ने कुरा यही आश्विन ४ गते पुनः सार्वजनिक गरिएपछि भने जीआईजीपी अरुण बिसीभन्दा पछिल्लो अनुसन्धान विवरण सार्वजनिककर्ता संखुवासभाका डीएसपी लालध्वज सुवेदी प्रशंसाको पात्र बने । हुन त अनुसन्धानको पछिल्लो निष्कर्ष जिल्लास्तरीय मात्र होइन, केन्द्रीय स्तरसम्मकै अनुसन्धान अधिकृतको लगनशीलताको परिणाम हो भन्ने कुरालाई हामीले बिर्सनुहुँदैन । उच्च पदाधिकारीको भनाइ नै विश्वसनीय हुन्छ भन्ने मान्यतालाई डीएसपीकै पछिल्लो भनाइले निष्क्रिय बनाएको देखियो ।
प्रहरी अनुसन्धान कमजोर छैन, दक्षतामा आधारित छ भन्ने कुरा पाँच जना कसुरदार सार्वजनिक भएको अवस्थाले नै पछि पुष्टि गरेको छ । तर, अनुसन्धानको जडसम्म नपुगी प्रहरीले किन हतारमा तथ्यहीन भ्रम फैलायो ? त्यो अहिले सर्वत्र चर्चाको विषय बनेको छ । यो विवादास्पद अफवाहले पछिल्लो समयमा प्रहरीप्रतिको जनविश्वासमै खलल पु¥याएको छ, यति मात्र होइन यही सन्दर्भको अर्को आश्चर्यको विषय त यस्तै तथ्यहीन अनुसन्धानकै भ्रम फैलाउने प्रदेश डीआईजीपी अरुण बिसीलगायत अनुसन्धानमा खटिएका पाँच प्रहरी कर्मचारीलाई नै पुरस्कृत गर्न प्रहरी प्रधान कार्यालय हतारिएको देखियो । आईजीपी शैलेश थापा क्षत्री नेतृत्वको प्रहरीको केन्द्रीय मूल्यांकन एवं अनुगमन समिति कुन स्तरको छ भन्ने कुरा पनि हतारको पुरस्कृत गर्ने निर्णयले उजागर गराएको छ ।
सस्तो लोकप्रियता आर्जन गर्न हतारिने प्रहरी अधिकारीहरूको प्रवृत्तिले सिंगो प्रहरी संगठनको विश्वास एवं सम्मानमा चोट पु¥याएको अनुभूति भएको छ, जुन दुःखद हो । मादी घटनाको अनुसन्धानले झन्डै तीन वर्ष अगाडिको कञ्चनपुरकी निर्मला पन्तको अनुसन्धान प्रवृत्तिलाई पुनरावृत्त गराएको देखियो । तुलनात्मक रूपमा हेर्दा निर्मलासम्बद्ध घटनाभन्दा मादी घटनाको अनुसन्धान सहज थियो । पक्राउ गरी तत्कालै सार्वजनिक गरिएका कसुरदार मानिएका दुवै घटनाका व्यक्तिको सार्वजनिक गर्ने शैली पनि सतही अनुसन्धानमा आधारित भएको पाइयो ।
मादी घटनामा सार्वजनिक गरिएको पहिलो व्यक्ति लोकबहादुर कार्कीकै सन्दर्भलाई हेर्ने हो भने ऊ गाउँघरमै बसेको अवस्थामा पक्राउ प¥यो । ६ दिनसम्मको व्यापक गाउँ केन्द्रित अनुसन्धानकै आधारमा पक्राउ परेको व्यक्ति नै कसुरदार भएको विश्वास गरियो । लोकबहादुर पक्राउ परेपछि उनीसँग गरिएको विस्तृत अनुसन्धानकै आधारमा उनी एक्लैले घटना गराएको निष्कर्ष निकाली डीआईजी बिसीले भदौ २७ गते लोकबहादुरलाई सार्वजनिक गरेको विदितै छ । तर, लोकबहादुरउपरको अनुसन्धान घटनास्थल र लास प्रकृतिको अवस्थासँग सम्बन्धित रहेको देखिएन । किनकि, मृतकमध्ये कसैलाई धारिलो हतियार प्रहार भएको, कसैलाई चिर्पटले प्रहार गरेको, कसैलाई खेदाइखेदाइ प्रहार गरेको र परिवारकी ज्येष्ठ सदस्य ८४ वर्षीया पार्वती कार्कीको घरकै भित्तामा टाउको बजारी हत्या गरेको अवस्थाले हत्याको अवस्था समान नभएको जुन एकै व्यक्तिबाट क्रमशः हुनै नसक्ने आशंकातर्फ प्रहरीको प्रारम्भिक अनुसन्धान केन्द्रित भएको पाइएन ।
प्रहार र आक्रमणबाट बच्न मृतकहरूले हारगुहार मागेको र आक्रमणको प्रकृति पनि फरकफरकै भएकाले घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्छन् तथा सो’boutको यथार्थता उजागर गराउन डीआईजीपी बिसीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीलाई नै पक्राउ परेको कसुरदार लोकबहादुर कार्कीले गुमराहमा पारेको देखियो । घटनामा संलग्न व्यक्ति पक्राउ परिसकेको अवस्थामा अनुसन्धानको औसत ७५ प्रतिशत सफलता मिलेको ठानिन्छ । यसपछि त घटनामा को को संलग्न थिए ? एकभन्दा बढी व्यक्तिद्वारा घटना गराएको भएको कसबाट, कसरी घटना घटाइयो, घटना सम्बद्ध सबुद प्रमाण के के हुन् ? सबुद के कुन अवस्थामा कहाँ छन् ? अन्य कसुरदार कहाँ छन् ? भन्नेसमेतको विस्तृत विवरण पक्राउ परेकै कसुरदारबाट खुलाई अन्य कार्य अगाडि बढाइन्छ ।
संखुवासभा मादीको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानको निष्कर्षले पुनः नेपाल प्रहरीको सम्मानमा चोट पु-याएको छ
लोकबहादुर पक्राउ परेपछि पनि प्रहरी अनुसन्धान उल्लेखित विषयवस्तुको गहिराइसम्म पुगेको देखिएन । अनुसन्धानकर्ताले कहिल्यै पनि घटनाको जड नपहिल्याई अनुसन्धान विवरण सार्वजनिक गर्नुहुँदैन । पछिल्लो समयमा कतिपय अनुसन्धान अधिकृतकै असक्षमता एवं लगनशीलताहीन कारणले अनुसन्धान उपलब्धिपूर्ण भएका छैनन् । जसले प्रहरीकै जनविश्वासमा नकारात्मक प्रभाव पार्दै आएको छ । प्रहरीप्रतिको जनविश्वास अहिले चुलिन सकेको छैन । यसको कारण पनि प्रहरी अनुसन्धान स्थानीय सामाजिक वातावरणबाटै प्रभावित बन्नु हो । पछिल्लो समयमा अनुसन्धानलाई वास्तविक अनुसन्धानकै मापदण्डमा आधारित बनाउनेभन्दा स्थानीय सामाजिक वातावरणमा आधारित पार्ने दुष्प्रयासले पनि प्रभावित बन्दै आएको छ । यस्तो अनुसन्धानले तथ्यलाई भन्दा सत्ता र शक्तिलाई रिझाउने भएकाले यस्तो अनुसन्धान विवादास्पद बन्छ । यही प्रवृत्तिलाई सत्ता सञ्चालकले नै संरक्षण गर्दै ल्याएका छन् ।
आफ्नो पक्ष अपराधमा संलग्न भए उन्मुक्ति दिलाउने, अर्को पक्ष वा प्रतिपक्षी र विरोधीलाई फसाउन घटनालाई राजनीतिक मुद्दा बनाउने, नेताको प्रवृत्तिबाट नेपाल प्रहरी पनि व्यवहारमा अलग्गिन सकेको छैन । यसैको कारण पनि प्रहरीको कतिपय अनुसन्धान विवादास्पद बनेको छ । जतिसुकै इमानदार भएर अनसन्धान गरे पनि प्रहरीले जस पाउने अवस्था अहिले छैन । किनकि जनताको प्रहरीलाई हेर्ने दृष्टिकोण प्रहरी व्यवहारले नै सकारात्मक बनाउन सकेको छैन । नकारात्मक जनदृष्टिकोणमा सुधार ल्याउन प्रहरीलाई परिचालित गराउने राजनीतिक नेतृत्वकै दृष्टिकोण सफा हुनुपर्छ । अनुसन्धानमा नेपाल प्रहरी कमजोर छैन तर नेताको ठाडो आदेशले प्रहरीलाई कमजोर र आलोचित बनाउँदै ल्याएको छ । जनअपेक्षा पूरा गर्नु राजनीतिक नेतृत्वको प्रमुख दायित्व भएकाले वर्तमान गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी परिचालनका क्रममा विगतदेखि नै विकसित हुँदै आएको राजनीतिक विकृति पूर्ण रूपमा अन्त्य गरी प्रहरीलाई स्वतन्त्र रूपमा कार्य गर्न पाउने वातावरण बनाउनुपर्छ ।
सतही अनुसन्धानले कहिल्यै पनि तथ्य पहिल्याउन सक्दैन । यसर्थ अनुसन्धान अधिकृत अनुसन्धानको गहिराइसम्म पुग्नै पर्छ । गहिराइ वा पिँधमा पुग्ने मात्र होइन त्यहाँ पाइने मोति र पत्थर चिन्न सक्नुपर्छ । यो अवस्थामा आशंकाकै भरमा निर्दोष फस्ने र दोषीले उन्मुक्ति पाउने अवस्था आउँदैन । वास्तवमा शतप्रतिशतै प्रहरी अनुसन्धान सफल हुने अवस्था पनि हुँदैन । कतिपय पेसेवर अपराधीले घटाएको घटनामा यथेस्ट सबुद प्रमाण नपाउन सक्छ । प्राप्त हुने सबुद पनि अस्तव्यस्त हुने भएकाले सही परिणाम दिन नसक्ने अवस्था आउन सक्छ । तर, प्रहरी लगनशील भए अधिकांश अनुसन्धानमा सफलता प्राप्त हुन्छ । यसैले अनुसन्धानलाई सस्तो लोकप्रियताको साधन बनाउनेभन्दा स्थिर बनाउने प्रहरीले प्रयास गर्नुपर्छ । अनुसन्धानको सफलतामा प्रहरीको लोकप्रियता आधारित हुने र अनुसन्धान नै प्रहरी दक्षता मापनको कसी भएकाले यसलाई प्रहरीले सधैं संवेदनशील ठान्नुपर्छ ।






