सुरक्षाकर्मी हाई अलर्टमा, नाकामा निगरानी बढाउँदै सरकार

काठमाडौं । सरकारले छिमेकी मुलुक हुँदै विभिन्न नाका भएर नेपाल भित्रिनेमाथि निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन गरेको छ । गृह मन्त्रालयमा शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसहित नेपाली सेनाका प्रतिनिधि सहभागी बैठकमा गृहमन्त्री रामबहादुर थापाले विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने तथा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी राख्न निर्देशन दिएका हुन् ।

यसैगरी, आफ्ना क्याम्पभित्रका सुरक्षा निकायमा आबद्ध कर्मचारी र बाहिर आमनागरिकमा समेत कोरोना संक्रमण’bout सचेतना अभियान सञ्चालन गर्न सबै सुरक्षा संयन्त्रलाई गृहमन्त्री थापाले निर्देशन गरेको गृह मन्त्रालयले जनाएको छ । बैठकमा सहभागी सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलका तर्फबाट आफ्ना सबै युनिट तथा बीओपीहरूमा सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनमा रहेको र नाकामा रहेका सबै बीओपीहरूलाई समेत आमसर्वसाधारणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन गरिएको बताए ।

‘सशस्त्र प्रहरीले आफ्ना सबै युनिट र बीओपीमा सचेतना कार्यक्रम सुरु गरेको छ, नाकाका सबै बीओपीलाई समेत समुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन गरिएको छ,’ सशस्त्र प्रहरी प्रमुख खनालले राजधानीसँग भने ।

गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्धको अनुगमनसमेत तीव्र पार्ने निर्णय गरेको छ । बजारमा माक्सलगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्तिको व्यवस्थापनमा सहजीकरण गर्ने मन्त्रायलले निर्णय गरेको हो ।

बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका खनाल र नेपाली सेनाका उपरथी प्रभुराम शर्मालगायत सहभागी थिए । बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको छ । सरकारले सबै सुरक्षा अंगलाई आआफ्ना तर्फबाट कोरोना संक्रमणविरुद्धको सरकारको अभियानलाई सहयोग गर्नसमेत आग्रह गर्दै आइरहेको छ ।

सेनाको परेड ब्यारेकभित्रै
नेपाली सेनाले परेडसहितका आफ्ना दैनिक गतिविधि ब्यारेकभित्रै सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन गरेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले परेडलगायतका गतिविधि ब्यारेकभित्रै गर्न मातहतलाई दिर्नेशन गरिएको बताए ।
‘परेड ब्यारेक भित्रै गर्नू, बाहिर ननिकाल्नु भनेका छौं, सिपाही र कमान्डरका लागि समेत केके गर्ने भन्ने प्रस्ट निर्देशन भएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने । सेनाले ब्यारेकभित्र आफ्नो मेडिकल टिममार्फत सचेतना कक्षासमेत सञ्चालन गरिरहेको छ भने ब्यारेक आसपासका क्षेत्रमा कोरोना संक्रमणका सचेतनासँग सम्बन्धी पर्चा, पोस्टरसहितका सामग्री टाँस्न सिपाहीलाई खटाएको छ । सचेतना कक्षाका लागि कमान्डरहरूलाई निर्देशन गरिएको प्रवक्ता पाण्डेले जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी