काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण छिमेकी मुलुक भारतले औषधि निर्यातमा रोक लगाउने निर्णय गरे पनि नेपालमा औषधि अभाव नहुने नेपाल औषधि उत्पादक संघले जनाएको छ । केही दिनअघि औषधि निर्यातमा रोक लगाउने निर्णय गरेकामा नेपालको हकमा भने भारतले तत्काललाई त्यस्तो कुनै योजना नरहेको पनि प्रस्ट पारेको छ ।
औषधि उत्पादकले पनि औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ र सहायक कच्चापदार्थको कुनै अभाव नभएको स्पष्ट पारेका छन् । औषधि आयातकर्ता संघले पनि चार महिनालाई पुग्ने औषधि गोदाममा मौज्दात रहेको जनाएको छ ।
औषधि उत्पादक संघका अनुसार, नेपालमा झन्डै ६ महिनालाई पुग्ने औषधि स्टक छ । औषधि अभाव हुने हल्ला चलेपछि उत्पादक संघले सो जानकारी दिएको हो । औषधि उत्पादक संघको तथ्यांकअनुसार हाल झन्डै ६ करोड ट्याब्लेट पारासिटोमोल स्टक छ । संघका उपाध्यक्ष सन्तोष बरालका अनुसार पारासिटामोलका लागि आवश्यक पर्ने कच्चा पदार्थ झन्डै ३८ हजार किलो स्टक छ । यस्तै, मेट्रोनिडाजोलका लागि आवश्यक पर्ने १० हजार किलो कच्चापदार्थ र मेट्रोनिडाजोल झन्डै ६ करोड ट्याब्लेट स्टक छ ।
कोरोना भाइरस प्रभावका कारण कच्चापदार्थको अभाव सिर्जना भएको भन्दै भारत सरकारले केही दिनअघि पारासिटामोल, मेट्रोनिडाजोललगायत २६ प्रकारका औषधिमा रोक लगाउने निर्णय गरेको थियो । यस्तै, औषधिका लागि आवश्यक पर्ने अधिकांश कच्चापदार्थ चीनबाट आउने गर्छ ।
नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहालका अनुसार केही समयअघि पारासिटामोलका लागि आवश्यक पर्ने १ लाख ६० हजार किलो कच्चा पदार्थ नेपाल भित्रिएको थियो ।
औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार भारतले निर्यातमा रोक लगाए पनि बंगलादेशबाट थप २ करोड पारासिटामोल ट्याब्लेट आयात प्रक्रिया सुरु भइसकेको छ । औषधि आयातकर्ताहरूले अन्य अत्यावश्यक औषधि आयातका लागि बंगलादेशस्थित उत्पादकलाई पनि पत्राचार गरिसकेका छन् । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार औषधिको कृत्रिम अभाव सिर्जना गर्न मिल्दैन ।
यसैबीच, नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय वाणिज्य मन्त्रालयसंग औषधि रोक सम्बन्धमा छलफल भएको जनाएको छ । उद्योगमन्त्री लेखराज भट्टले नेपाललाई आवश्यक पर्ने कुनै पनि औषधि निकासीमा भारत सरकारले प्रतिबन्ध नलगाउने प्रतिबद्धता आएको बताए । भारतले निर्यात रोक लगाएका औषधिहरूमा पारासिटामोल, टिनिडाजोल, मेट्रोनिडाजोल, एसाइक्लोभिर, भिटामिन बी वान, भिटामिन बी १२, प्रोगेस्टेरोन, क्लोराम्फेनिकोल, इरिथ्रोमिसिन, नियोमाइसिनलगायत रहेका छन् । यस्तै, नियोमिसिन, क्लिडामिसिन साल्ट, ओरिन्डाजोल रहेका छन् ।
यी औषधि पर्याप्त मात्रामा मौज्दातका रूपमा रहेको भन्दै औषधिको अभाव नखड्किने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले पनि आवश्यक पर्ने औषधि पर्याप्त मात्रामा रहेको भन्दै नआत्तिन आग्रह गरे ।
यस्तै, औषधिको थोकमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ । नेपाल औषधि थोक व्यावसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाका अनुसार औषधिको अभाव नभएको भन्दै आत्तिनुपर्ने अवस्था नआएको बताए । उपभोक्ता अधिकारकर्मीहरूका अनुसार औषधि बजारमा कृत्रिम अभावको सिर्जना गरिए उपभोक्ता संरक्षण ऐन, २०७५ आकर्षित हुन्छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले भने, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ कसुरबमोजिम ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुन्छ । बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजार सिर्जना गरेको पाइए कालोबजार तथा अन्य केही सामाजिक अपराध ऐन, २०३२ आकर्षित हुन्छ ।’






