८७ दिन पछि सरकारले पूर्णता पाउँदै

काठमाडौं । मन्त्रीको संख्या र मन्त्रालयमा सहमति जुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिँदै छन् । २९ असारमा प्रधानमन्त्री बनेका देउवाले सरकार गठन भएको ८७ दिनमा बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध चार दलबीच बुधबार बिहान मन्त्रीको संख्या र कुन दलले कुनकुन मन्त्रालय लिने भन्ने विषयमा सहमति भएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भएको भागबन्डाअनुसार कांग्रेसले कुल ७, माओवादी केन्द्रले ५, नेकपा एसले ५ र जसपाले ४ मन्त्रालय पाउने भएका छन् ।

मन्त्री छान्न हम्मे

‘मन्त्रीको संख्या र मन्त्रालयमा सहमति भइसकेको छ, बिहीबार बाँकी विषय मिलाएर साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ,’ प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले राजधानीसँग भने ।

प्रधानमन्त्री निकट नेता मीन विश्वकर्माले सबै विषयमा सहमति जुटिसकेकाले बिहीबार नै मन्त्रीहरूको शपथ हुने जानकारी दिए । ‘सबै विषयमा सहमति भइसकेको छ, बिहीबार साँझसम्म शपथ हुन्छ,’ नेता विश्वकर्माले भने ।

संख्या र मन्त्रालयमा भएको सहमतिपछि बुधबार गठबन्धनमा आबद्ध सबै दल मन्त्रीका लागि नाम टुंगो लगाउन दिनभर आन्तरिक बैठकमा व्यस्त भए । तर, माओवादीबाहेकका दलले आकांक्षी धेरै हुँदा मन्त्रीका नाममा सहमति गर्न सकेका छैनन् ।

कांग्रेसले बुधबार राति अबेरसम्म पनि को को मन्त्री बन्ने भन्ने तय गरेको छैन । माओवादी केन्द्रले मन्त्रीका लागि तीन र राज्यमन्त्रीका लागि एक जनाको नाम तय गरेको छ ।

यस्तै, माधव नेपाल नेतृत्वको दल नेकपा एसले पनि मन्त्रीका लागि नाममा सहमति गर्न सकेको छैन । यसैगरी, जसपालेसमेत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मन्त्रीको नाममा सहमति गर्न नसकेपछि शीर्ष तहलाई नै निर्णय गर्ने जिम्मेवारी दिएको छ ।

कुन दललाई कुन मन्त्रालय ?
कांग्रेसले रक्षा मन्त्रालय लिने कि छाड्ने टुंगो भइसकेको छैन । तर, स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कांग्रेसको भागमा परेको छ । रक्षा कांग्रेसले पाए तत्कालका लागि प्रधानमन्त्री आफैंले राख्न सक्ने सम्भावना छ ।

यसैगरी, माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय पाउने भएको छ ।

यस्तै, नेकपा एसले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय पाउने पक्का भएको छ । रक्षामा पनि सो दलको दाबी छ । रक्षा उसले छाड्दा शिक्षा मन्त्रालय पाउने सम्भावना छ ।

यसैगरी, जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार बिहान गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको पुनः बैठक बसेर बाँकी विषयमा सहमति गर्ने तयारी छ ।

कुन दलबाट कोको बन्दै छन् मन्त्री ?
कांग्रेसबाट दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ । सो समूहबाट तेजुलाल चौधरीसमेत मन्त्री बन्ने कसरतमा छन् । सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । कांग्रेसले मन्त्रीको नाम टुंग्याइसकेको छैन ।

यस्तै, कांग्रेस संस्थापनबाट पुष्पा भुषाललाईसमेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाउँदै छन् । बडु र रिजाल कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । यस्तै, प्रधान र चौधरी सिटौला समूहका हुन् । भुषाल भने देउवानिकट हुन् ।

यस्तै, सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने यथावत् राख्ने कि हटाउने भन्ने प्रधानमन्त्रीको निर्णयमा भर पर्छ ।

देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाएका थिए । यस्तै, १० साउमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै, ६ असोजमा देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई ल्याएका थिए । देउवा क्याबिनेटमा हाल रहेका सबै मन्त्री पार्टीभित्रको उनकै समूहसँग आबद्ध छन् ।

माओवादी केन्द्रबाट नाम टुंगियो
गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।

नेकपा एसबाट को को ?
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि पाँच मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट पाँच मन्त्री र एक राज्यमन्त्री गरी ६ जना सरकारमा सहभागी हुने पक्का छ । सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्नेछन् ।

जसपाबाट यी नाम चर्चामा
जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको स्रोतले बताएको छ । प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएका हुन् । यस्तै, जसपाबाट महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादवमध्येबाट चार जना मन्त्री हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश