आन्तरिक उडानमा कटौती

काठमाडौं । नेपाली वायुसेवा कम्पनीहरूले उडान संख्या घटाउने निर्णय गर्दै बैंकहरूलाई तिनुपर्ने ब्याजलाई नेपाल राष्ट्र बैंकमार्फत पुनर्संरचना गरिदिनुपर्ने माग राखेको छ । नेपाल वायुसेवा सञ्चालक संघको बिहीबार बसेको बैठकले सबै वायुसेवा कम्पनीहरूले समानुपातिक रूपमा जहाज ’ग्राउन्डेड’ गर्ने निर्णयसँगै ब्याजमा पुनर्संरचना गर्न माग गरेको हो ।

वायुसेवा प्रदायकहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट अमेरिकी डलर नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनर्संरचनाको व्यवस्था गर्न पनि आग्रह गरेको छ । उनीहरूले पुनर्कर्जा दिन पनि माग गरेका छन् ।
ऋण रकमको ब्याजसमेत साँवामा गाभ्ने व्यवस्था मिलाउन आग्रह गर्दै संघले अमेरिकी डलरमा लिइएको ऋण रकमको साँवा र ब्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइ दिन पनि वायुसेवा सञ्चालक संघले सरकारसमक्ष आग्रह गरेको छ ।

हवाई इन्धनमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर हटाउन र नेपालमा संसारकै महँगो मध्ये पर्ने हवाई इन्धनको कम्तीमा ३० प्रतिशत मूल्य घटाउनुपर्ने माग पनि संघको रहेको छ । यसैगरी, वायुयानहरूको बिमा शुल्कमा लाग्दै आएको मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिई विदेशी पुनर्बिमा कम्पनीहरूले स्विकारेको अवस्थामा विदेशी पुनर्बिमा कम्पनीहरूले दिएको क्रेडिट पिरियडअनुसार बिमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिदिन पनि संघले भनेको छ ।

इन्जिनलगायत वायुयानका केही सिमित पाटपुर्जाहरूमा दिइँदै आएको मूल्य अभिवृद्धि कर छुट वायुयानका सम्पूर्ण पाटपुर्जामा समेत उपलब्ध गराउन संघले माग गरेको छ । नेपाल आयल निगमले माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेन्टीलाई मान्यता प्रदान गरी कम्तीमा एक महिनाको क्रेडिट पिरियडपछि भुक्तानी लिने व्यवस्था गर्न भनिएको छ ।
शुक्रबार बसेको बैठकले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने र कर्मचारीलाई बेतलवी बिदाका लागि प्रोत्साहित गर्ने र सेवा सुविधा कटौती गर्नेसमेतका निर्णयहरू गरेको छ ।

कोरोना भाइरसको त्रासका कारण नेपालको आन्तरिक हवाई उडानमा पनि ४ अर्बभन्दा माथि आम्दानी कम हुन सक्ने प्रारम्भिक अनुमान संघको छ । सन् २०२० को दुई महिनामा आन्तरिक हवाई यात्रामा विदेशी पर्यटकहरूको संख्या करिब ४० प्रतिशतले घटेको संघले उल्लेख गरेको छ ।

आउँदो स्प्रिङ सिजनको बुकिङहरू पनि धमाधम रद्द हुन थालेको र नेपाल प्रवेश गर्न प्रयोग हुने विभिन्न देशमा पनि कोरोनाको प्रकोप देखिएकाले आउँदा दिनहरूमा बुकिङ थप रद्द हुने संघको तर्क छ । कारोनाको प्रभावले आन्तरिक उडानको कम्तीमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान वायुसेवा सञ्चालकको छ । वायुयानको अवतरण, विमान तथा एयर नेभिगेसन शुल्कमा वर्ष २०२० भरि शतप्रतिशत छुट दिनुपर्ने सुझाव पनि संघले दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब अध्यक्षकै उम्मेदवारले पार्टी परित्याग गरे…