काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीमा भएको अनियमितता’bout सूक्ष्म अनुसन्धान थालेको छ । जलहरी अनियमिताको विषयमा हाल विभिन्न कोणबाट अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो ।
पशुपति क्षेत्र विकास कोषले १४ माघ २०७७ मा जलहरी निर्माणका क्रममा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय गरेको थियो । कोषले पशुपतिमा जलहरी १ सय ८ किलो राखेको भनिए पनि ९७ किलो मात्रै राखिएको भन्ने उजुरीको विषयमा अख्तियारले दुई महिना अघिदेखि अनुसन्धान थालेको हो ।
११ फागुन २०७७ मा राति मन्दिरमा राख्दा ९६ किलो ८ सय २२ ग्राम सुनको जलहरी राखेको मुजुल्काको बेहोरामा उल्लेख छ । मुजुल्काको विषयमा आयोगले हाल अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । पशुपतिको जलहरीको विषयमा आयोगले पशुपतिको जलहरी राख्नका लागि खटिएका नेपाली सेनाको सहयोग लिने तयारीसमेत गरेको छ ।
आयोगले सुनको जलहरी अनियमितता प्रकरणमा नेपाली सेनालाई साक्षी बयानमा राख्न खोजेको छ । १ सय ८ किलो सुन भनिएको ठाउँमा ९७ किलो मात्रै जलहरी राखिएको पाइएपछि बाँकी ११ किलो सुन कहाँ पुग्यो भन्ने विषयमा अख्तियारले अनुसन्धान सुरु गरेको हो ।
पशुपतिमा जलहरी राख्ने विषयमा २०७० मै कोषले निर्णय गरेको थियो । तर, विवादका कारण जलहरी राख्ने काम हुन सकिरहेको थिएन । ११ माघ २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ दर्शन गर्न जाँदा जलहरी राख्न तत्काल ३० करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले सरकारबाट तत्काल ३० करोड उपलब्ध गराउने घोषणा गरेसँगै पशुपतिमा जलहरी राख्ने प्रक्रिया अगाडि बढेको थियो । जलहरी राख्ने विषयमा घोषणासँगै काम प्रक्रिया अगाडि बढेपछि सर्वोच्चमा दुईवटा रिट परेको थियो ।
बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्चमा छुट्टाछुट्टै रिट दिएका थिए । जलहरी राख्न रोक लगाउन माग गदै परेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने काम रोकेर १५ दिनभित्रमा जलहरी राख्नुपर्ने कारण पेस गर्न आदेश दिएको थियो । सो रिटको विषयमा सर्वोच्चले अहिलेसम्म मुद्दा किनारा लगाइसकेको छैन ।
जलहरीमा अनियमितताको विषयमा अख्तियारले पशुपतिको पुजारीसँग बयान लिइसकेको छ । अख्तियार स्रोतका अनुसार जलहरीसँगै बाँकी रहेको सुनको टुक्रा जलहरीमा लगाइयो भने पनि ११ फागुन २०७७ गते राति जलहरीबाहेक सुनका टुक्रा नचढाइएको बयान पुजारीले दिइसकेका छन् । आयोगले अनुसन्धानलाई थप बलियो बनाउन पशुपति क्षेत्रसँग सम्बन्धित सबैसँग बयान लिने प्रक्रिया अगाडि बढाइएको छ ।
अक्षरको आकार फरक पर्नेगरी ‘जलहरी बनाएर बाँकी रहेको सुनको टुक्रा जलहरीमा लगाइयो’ भनेर थप गरिएको छ । सुन राष्ट्र बैंकबाट ल्याउनेदेखि पगाल्ने र तौलनेसम्मका काम पनि अपारदर्शी रूपमा गरिएको खुलेको छ । राष्ट्र बैंकबाट सुन ल्याउने र सुनको सुरक्षा दिने काम नेपाली सेनाले गरेको थियो । सुनको जलहरी बनाउने सबै भित्री काममा कोषका त्यस बेलाका कोषाध्यक्ष मिलनकुमार थापासहितको टिम संलग्न थियो ।
थापाले अख्तियारमा भने जलहरी निर्माण सेनाको सुरक्षामा गरिएको भन्दै पारदर्शी भएको जिकिर गरेका छन् । तर, अख्तियारले थापालाई समेत अनुसन्धानको दायरामा राखेको छ । जलहरीको विषयमा अख्तियारले पशुपतिका मूल पुजारी गणेश भट्ट र सहायक पुजारी राम भट्टसँग बयान लिइसकेको छ । बयानमा दुई पुजारीले जलहरी मात्रै राखिएको र थप सुन नचढाएको बयान दिएका छन् ।






