काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोटको समूह चरणबाट नै बाहिरिएको छ । बिहीबार आयोजक ताजिकिस्तानसँग ६–० को फराकिलो हार बेहोरेपछि नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको हो ।
प्रशिक्षक बालगोपाल महर्जनले पुनः एकपटक बलियो टोलीविरुद्ध डिफेन्समा मिडफिल्डका खेलाडीलाई उतार्दा नेपालले फराकिलो हार बेहोरेको हो । पहिलो हाफमा ३–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि ३ गोल खाएको थियो । पहिलो खेलमा इरानसँग ३–० ले पराजित नेपाली टोलीले पुनः एकपटक एसियन यू–२३ छनोटमा गोल गर्न सकेन । अघिल्लो दुवै संस्करणमा गोलविहीन नेपालले पुनः एकपटक खेलमा विपक्षीलाई दबाब दिन सकेन ।
काउन्टर अट्याकमा भर परेको नेपालले खासै बल पोसेसन राख्न पनि सकेन । समूहअन्तर्गत बिहीबार नै भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले पराजित गरेको थियो । पहिलो खेलमा ताजिकिस्तानसँग १–० ले पराजित लेबनानको पनि छनोट हुने सम्भावना सकिएको छ । इरान र ताजिकिस्तानको ६–६ अंक हुँदा नेपाल र लेबनान अंकविहीन छन् । अब नेपाल र लेबनानले अन्तिम खेलमा एक अर्काको सामना गर्ने छन् । त्यस्तै इरान र ताजिकिस्तानबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुने छ ।
समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्ने छन् । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । प्रतियोगिताको पाँचांै संस्करणमा आइपुग्दा इराक, जापान, उज्वेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।






