न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकटः नेकपा एस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सर्वोच्च अदालतमा देखिएको समस्याले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भएको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीको आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादविरुद्ध हुन जाने बताए ।

‘देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादविरुद्ध हुनजान्छ । आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खलबलिने स्थितिमा पुगेको छ । न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ’ खतिवडाले भने ।

कानुन क्षेत्रका विद्धान अधिवक्ता, कानुन व्यवसायीको संगठन र नागरिक समाजका अगुवा न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित भएकोमा न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति एकीकृत समाजवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्च अदालतमा देखिएको संकट समाधानका लागि राजनीतिक दल, न्याय क्षेत्रका सरोकारवाला पक्षबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गरेको छ ।

यस्तै बैठकले कम्युनिस्ट आन्दोलनको पुनर्गठन तथा एकीकरणको प्रयासमा अझै सशक्त रूपमा अघि बढ्ने निर्णय गरेको छ । अन्य पार्टीबाट विद्रोह गरी एकीकृत समाजवादीमा समाहित भएका नेतालाई पार्टीमा स्वागत गर्दै बैठकले कम्युनिस्ट आन्दोलनको पुनर्गठन तथा एकीकरणको प्रयासमा अझै सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘दक्षिणपन्थी बिसर्जनवादविरुद्ध विद्रोह गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा वैचारिक शुद्धीकरण र सांगठनिक पुनर्गठनको प्रक्रियाबाट अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा अन्य पार्टीबाट विद्रोह गरी समाहित भएका सम्पूर्ण नेता कार्यकर्तालाई यो बैठक सम्मान प्रकट गर्दै स्वागत गर्दछ । साथै, कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकीकरणको प्रयासमा अझ सशक्त रूपले अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दछ’ प्रवक्ता खतिवडाले भने ।

बैठकले दक्षिणपन्थी तथा पुनरुत्थानवादी सम्भावित गठबन्धनप्रति सचेत रहँदै लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वामलोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउन समस्त वामलोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलाई आह्वान गरेको छ ।

वामलोकतान्त्रिक गठबन्धनलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न हालै गठन भएको ‘उच्च स्तरीय राजनीतिक समन्वय समिति’लाई बैठकमा स्वागत गरेको छ । सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग पु¥याउने र आगामी निर्वाचनसम्म नै गठबन्धनको काम व्यवस्थापनलाई सहयोग पु¥याउने उद्देश्यले गरिएको प्रयत्न स्वागत योग्य रहेको निष्कर्ष एकीकृत समाजवादीको रहेको छ ।

आगामी दिनमा प्रतिगामी दक्षिणपन्थी शक्तिविरुद्ध पाँच दलीय मोर्चा सशक्त रूपमा क्रियाशील गराउन निरन्तर पहलकदमी गर्ने बैठकले निष्कर्ष निकालेको खतिवडाले जनाएका छन् ।

बैठकले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय समेत गरेको छ । प्रदेश २ सरकारलाई एकीकृत समाजवादीले यसअघि नै समर्थन गरिसकेको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको बताए । यस अघि नै प्रदेश २ सरकारलाई पार्टीले समर्थन दिएको बताउँदै उनले अब छिट्टै नै सरकारमा समेत सहभागी हुने बताए ।

यस्तै बैठकले सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य राईका अनुसार बैठकमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिनुपर्ने विषयमा केन्द्रीय सदस्यले माग गरेको बताए । सोहीअनुसार बैठकले सरकारसँग तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरिएको हो ।

‘हालै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिको यो बैठक गम्भीर विरोध प्रकट गर्दछ । इन्धन र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धिले ढुवानी लागत बढ्न जाने र दैनिक उपभोग्य सामग्रीको समेत मूल्य आकासिँदा जनताको दैनिक जीवन कष्टपूर्ण बन्दै गएकाले उक्त मूल्यवृद्धि यथाशीघ्र फिर्ता गर्न यो बैठक नेपाल सरकार तथा नेपाल आयल निगमसँग माग गर्दछ’ एकीकृत समाजावदीले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै बैठकले बिभिन्न पार्टी परित्याग गरी आउने नेतालाई स्वागत गर्दै जिम्मेवारी तोकेको छ । बैठकले अन्य पार्टीबाट विद्रोह गरी एकीकृत समाजवादीमा समाहित भएका नेतालाई पार्टीमा स्वागत गर्दै जिम्मेवारी समेत तोकेको हो ।

प्रवक्ता खतिवडाका अनुसार माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनित गरी सचिवालयमा राख्ने निर्णय गरेको छ । यस्तै माले समूहबाट आएका कुलप्रसाद फुँयाल, शंकर पोख्रेल र निलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ ।

यसैगरी एमालेबाट आएका वंशिधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटीमा राख्ने, एमालेबाट आएका डा.तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ । माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई प्रदेश २ कमिटीमा मनोनित गर्ने निर्णय बैठकले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

epaper

ताजा समाचार

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल