अमेरिकामा मिथिला चित्रकला फैलाउँदै प्रतीक रायमाझी

काठमाडौं । अमेरिकी माझ नेपाली मिथिला लोक चित्रकलालाई कलाकार प्रतीक रायमाझीले विगत १३ वर्षदेखि पस्कँदै आएका छन् । आफूले सिर्जना गरेको एउटा मिथिला चित्रकला ४२ हजार अमेरिकी डलरसम्ममा बिक्री गरेका यी चित्रकारले त्यहाँ पनि चित्रकारितालाई नै निरन्तता दिँदै आएका छन् ।

अमेरिका पुगेको केही वर्षपछि सन फ्रान्सिस्कोमा उनले आफ्नो आर्ट ग्यालरी नेपाली आर्ट एन्ड क्राफ्ट ग्यालरी खोले । सो ग्यालरीमा उनले मिथिला चित्रकला राखेर निरन्तर बिक्री गर्दै आए । सन् २०२० को सुरुवातीसँगै विश्वव्यापी फैलिएको कोरोनाको महामारी अमेरिकामा पनि त्यही समयमा फैलियो । त्यसपछि उनले सो ग्यालरी बन्द गरे । सन् फ्रान्सिस्को छाडेर नेप्रास्कातिर लागेका यी चित्रकार पछिल्लो समय नेप्रास्काको ओमाहा सहरमा बस्दै आएका छन् ।

कोरोना संक्रमण घटेर अमेरिकाको जनजीवन सामान्य भएपछि यी कलाकार फेरि आफ्नो नयाँ आर्ट ग्यालरीको निर्माणमा जुटेका छन् । लामो समयपछि यसपालि दसैं मनाउन नेपाल आएकी यी कलाकार तिहारको बीचमै अमेरिकातर्फ गए । आफ्नो नयाँ ग्यालरीको निर्माण अन्तिम चरणमा पुगेकाले आफू नेपालमा धेरै बस्न नपाएको पनि उनले जनाए ।

कलाकार रायमाझी चित्रकला सिर्जना गरेर राम्रो कमाइ गर्ने नेपाली चित्रकारका रूपमा अमेरिकामा परिचित छन् । त्यहाँ आफूले सिर्जना गरेका चित्रकला न्यूनतम ५ हजार डलरदेखि २५ एवं ३० हजार डलरसम्म बिक्ने गरेको उनी बताउँछन् ।

कलाकार रायमाझीका अनुसार अमेरिकामा नेपालको प्राकृतिक सुन्दरता र मुहार चित्रका चित्रकला बढी बिक्ने गरेको छ । सोही कारण उनले आफ्नो ग्यालरीमा नेपालबाट अरूका पनि चित्रकला मगाएर बिक्री गर्दै आएका थिए ।

‘अमेरिकामा नेपाली मुहार चित्र, यहाँका विभिन्न हिमालका चित्र, मठमन्दिर देवालयका चित्र तथा यताको प्रकृतिक सुन्दरताको चित्र बढी बिक्री हुने गरेको छ । उनीहरूको यही रोजाइलाई लक्षित गरेर अब मेरो ग्यालरीमा नेपालका कलाकारहरूका यस्तै प्रकारका चित्रहरू बिक्री गर्ने तयारी गर्दै छु ।’ कलाकार रायमाझीले राजधानीसँगको भेटमा भने ।

मिथिला लोक चित्रकला कलाकारको रूपमा स्थापित उनले अमेरिकामा गएर पनि मिथिला लोककला नै सिर्जना गर्दै आएका छन् । आफ्नो चित्रकला भारतीयहरूले पनि त्यत्तिकै लिने गरेको उनले बताए । तर मधेसी समुदायले आफूलाई त्यहाँ नरुचाएको पीडा उनले सुनाए, ‘म मिथिला चित्रकला कलाकार भएर पनि पहाडी समुदायको हुँ । सोही कारण अमेरिकामा रहेका तराईवासीहरूले मलाई त्यति रुचाएनन् । पछि बिस्तारै आफ्नो कलालाई उनीहरूले ग्रहण गर्न थालेको पनि उनले बताए ।

प्रतीकका भनाइमा अमेरिकामा रहेका नेपालीहरूले चित्रकला भन्दा हस्तकलाको व्यापारलाई महत्व दिएका छन् । त्यहाँ आफूसहित थोरैले मात्र चित्रकला सिर्जना गरेर नेपाली चित्रकला बिक्री गर्दै आएको उनले जानकारी गराए । अमेरिकामा मिथिला चित्रकला सिर्जना गर्दा आवश्यक कच्चा पदार्थ, लोफ्ता कागजको अभाव उनले भोगे । सोही कारण केही समययता आफूले क्यानभासमै मिथिला कला सिर्जना गरेर बिक्री गर्दै आएको पनि प्रतीकले जानकारी गराए ।

सन् २०२० को सुरुसँगै अमेरिकामा कोरोना संक्रमण देखिएपछि उनले चित्रकला प्रदर्शनी गर्न सकेनन् । २०२१ सँगै त्यहाँ भ्याक्सिन सुरु भएपछि अमेरिकाको जनजीवन केही सहज भयो । त्यसपछि आफूले गत ४ अगस्टमा ओमाहामा २७ वटा पेन्टिङ राखेर त्यहाँ मिथिला कला प्रदर्शनी गरे । सो प्रदर्शनीमा कलाप्रेमीहरूको राम्रै उपस्थित भएको र बिक्री पनि राम्रो भएको उनले बताए । उनको यो १९औं एकल चित्रकला प्रदर्शनी थियो । वर्षमा एकदेखि दुईवटा एकल चित्रकला प्रदर्शनी गर्दै आएको पनि उनले बताए ।

उनको नयाँ ग्यालरीको निर्माण जिम्मा ओहामा नगर परिषद्ले लिएको छ । नगर परिषद्ले आफ्नै डिजाइनमा आर्ट ग्यालरी तयार गरेर प्रतीकलाई दिनेछ । त्यसका लागि आवश्यक लागत उनले बुझाइसकेका छन् । अबको केही महिनाभित्र आफूले सो ग्यालरी उद्घाटन गरेर नेपाली चित्रकला बिक्री सुरु गर्ने उनले बताए ।

कलाकार प्रतीकको भनाइमा अमेरिकावासीहरू मौलिक कला खोज्छन् । त्यहाँ मोडर्न आर्ट सिर्जना गर्ने कैयौं कलाकारहरू छन् । उनीहरूको सिर्जनाको अगाडि नेपाली कलाकारका मोडर्न आर्ट सामान्य देखिन्छन् । सोही कारण अमेरिकामा मिथिला चित्रकला उनीहरूका लागि केही फरक भएको पनि यी कलाकारले बताए । एउटा राम्रो मिथिला कला सिर्जना गर्न आफूलाई साता दिनसम्म लाग्ने गरेकाले सोहीअनुसारको मूल्य पनि मिथिला चित्रकलाबाट पाएको चित्रकार प्रतीकको कथन छ ।

अब आफ्नो नयाँ ग्यालरी सुरु भएपछि विगतको जस्तै नेपालबाट धेरैभन्दा धेरै मौलिक चित्रकलाहरू त्यहाँ मगाएर बिक्री गर्दै नेपाली कलालाई अमेरिकावासीमाझ अझ लोकप्रिय बनाउने योजना उनले सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 675 times, 1 visits today)

epaper

ताजा समाचार

आज सातवटै प्रदेशको बजेट आउँदै