सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए ।

तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उद्घाटन सत्र सकेको एमालेले आइतबार मतदानबाट नेतृत्व चयन गर्दै छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । विद्युतीय मेसिनबाट मतदान गर्ने र सोही दिन मतपरिणाम पनि सार्वजनिक गर्ने उनले बताए । चितवनको नारायणी नदी किनारमा उदघाटन सत्र सकेर सौराहामा बन्द सत्र शनिबारदेखि सुरु हुँदै छ । शुक्रबार राति नै एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक सौराहामै बसेको छ ।

कुन पदमा कसको दाबेदारी

एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

हालै ललितपुरमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले यस्तो व्यवस्थासहितको विधान पारित गरेको हो । तर, शीर्ष नेताहरूलाई व्यवस्थापन गर्न समस्या भएको महाधिवेशनको बन्दसत्रबाट पदाधिकारी संख्या बढाउने’bout समेत छलफल हुने दाबी नेताहरूले गरेका छन् । सर्वसम्मतको प्रयास अझै जारी नै रहेको र नेताहरूको व्यवस्थापनका लागि पदाधिकारी संख्या बढाउने विषयमा नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

१५ सदस्यीय पदाधिकारीमा आउन चाहने नेताहरूको संख्या बढेसँगै नेतृत्वलाई मिलाउन कठिन भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका आकांक्षी बढेका छन् ।

एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिँदै छन् । वरिष्ठ उपाध्यक्षका लागि ओली समूहबाट महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ आकांक्षी देखिएका छन् । पूर्वमाओवादीबाट एमाले भएका स्थायी कमिटीका सदस्य रामबहादुर थापा बादल पनि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिँदै छन् ।

यस्तै, अहिलेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले उपाध्यक्षमै उम्मेदवारी दर्ता गराउनेछन् । उपमहासचिव रहेका घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउने घोषणा गरेका छन् ।

ओली समूहका नेताहरू लालबाबु पण्डित, किरण गुरुङसहित पूर्वमाओवादीबाट एमाले भएका टोपबहादुर रायमाझी र १० बुँदे सहमति पक्षधरका नेता रघुजी पन्तलगायतकाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउँदै छन् ।

एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्वपूर्ण पद ‘महासचिव’ हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेले अर्को महाधिवेशनमा स्वतः अध्यक्षका दाबेदार पनि हुन्छन् ।

महासचिवका लागि विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउँदै छन् । एमाले स्रोतका अनुसार सचिव प्रदीप ज्ञवाली र गुरुङले उपमहासचिवमा उम्मेदवारी दिने तयारी छ ।

सचिव पदका लागि उम्मेदवार हुनेको संख्या बढी छ । अहिलेका सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यले सोही पदमा दोहो¥याउन खोजेका छन् । यसैगरी, सचिवका लागि भानुभक्त ढकाल, खगराज अधिकारी, विष्णु रिमाल, प्रभु साह, यमलाल कँडेल, डोरमणि पौडेल, लेखराज भट्ट, कर्ण थापा, मणि थापा, गोकुल बाँस्कोटा, रघुवीर महासेठ, शेरधन राई, शेरबहादुर तामाङ, हिक्मत कार्की, अरुण नेपाल, आनन्द पोखरेल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, खिमलाल देवकोटा, राधा ज्ञवाली, पद्मा अर्याल, विन्दा पाण्डे, राजेन्द्र गौतमलगायतका नेताहरूले उम्मेदवारी दिने चर्चा छ । यस्तै, केन्द्रीय सदस्य हुनेको संख्या ४ सयभन्दा बढी रहेको छ ।

सत्ताबाट बाहिरिएको र पार्टी विभाजनको पीडा भोगिरहेको एमालेले अगामी महाधिवेशनबाट नयाँ नेतृत्व गर्दै अगामी निर्वाचनबाट संघीय सरकार, प्रदेश सरकार स्थानीय तहको सरकार बहुमतसहित नेतृत्व गर्ने दाबी गर्दै आएको छ । एमाले महाधिवेशनमा २ हजार ३ सय २७ प्रतिनिधि सहभागी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध