बढ्दै गरेको जाडोमा स्वास्थ्य सावधानी कसरी अपनाउने ?


जब चिसो मौसम सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता त्यसैमा अझ बुढाबुढी, बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । गर्मीमा औषधीले नियन्त्रित हुने उच्चरक्तचाप, मुटुरोग जाडोमा नियन्त्रण नभएर त्यसैमा मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल, श्वासप्रश्वास समस्या भएकामा झनै खतरनाक हुन्छ जाडोयाम ।

चिसोले रगत बाख्लो बनाउँछ, पातला रक्तनली साँघुरिन्छ तब रगतको दबाब बढ्छ, मुटुको चालमा समेत वृद्धि हुन्छ । कोरोनरी धमनीमा कोलेस्टेरोल जम्छ, धमनी साँघुरो र असमतल हुन्छ र रक्तआपूर्ति अपुग भई छाती वा मुटु दुख्छ । जसलाई ग्यास, अपच भनी लापरबाही गरिँदा रक्तधमनी साँघुरिई मस्तिष्कमा आघात भए पक्षघात, अंगहरूमा भए अंगघात हुन्छ । अत्यधिक चिसो र शीत लहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात दोब्बर बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने, सरसफाइको कमीले विभिन्न संक्रमण र बालबालिकामा दादुरा, ठेउला आउँछ ।

जाडोसँगै इन्फ्लुयन्जा, क्षयरोग र निमोनिया जस्ता सरुवा रोगका बिरामी बढेका छन् । बसभित्र कोचाकोच गरी यात्रा गर्नुपर्ने बाध्यताले एक व्यक्तिबाट अन्यमा रोग सरिरहेका छन् । बसभित्र अट्न नसकी छतमा यात्रा गर्नेहरू निमोनियाको जोखिममा छन् । हरेक १० मा ६ जनामा रहेको क्षयरोगका जीवाणु मात्र नभई श्वासप्रश्वास र सम्पर्कबाट सर्ने अनगिन्ती रोगहरू यस्तो भीडभाडमा सर्छन् ।

जाडोको मौसममा खासगरी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी, घाँटीको संक्रमण, भाइरल झाडापखाला हुने लगायत मुटु कमजोर बन्दछ । हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाँही घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोग र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ । मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले ।

जाडोमा न्याना लत्ताकपडा लगाउनुका साथै धुम्रपान, मद्यपानबाट टाढा रहनुपर्छ


जाडोमा बढ्दै छालाको समस्या : चिसो छालाका लागी अनुकूल हुँदैन । बाहिर चिसो, सुक्खा, धुलो धुँवाभित्र तातोको सन्तुलन नमिल्दा त्यस्को प्रभाव छालामा देखिन्छ । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धवृद्धासम्म, छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग, रुखो, रातो, खस्रो हुने, चिलाउने, पत्र निक्लने, चाया, पोतो, छालाको समस्या देखिन थालिसकेको छ । थोरै मात्र चनाखो भए यसबाट छुटकारा पाउन सकिने भए पनि जानकारीका अभाव तथा लापरबाहीले समस्या बढोत्तरी छ । पर्याप्त मात्रामा पानी वा झोलिलो खाने, अनुहारमा तातोपानीको वाफ लिने, छालाअनुसारको क्रिम, म्वास्चराइजेर र अनिवार्य सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

रुघाखोकी र चिसो सामान्य : नाक सनसनाउने, आँसु बगिरहने, वाकवाकी लाग्ने, बान्ता हुने, सुख्खा खोकी लाग्ने, छाती दुख्ने र नाकको म्युकोसा सुन्निने तथा श्वास फेर्न गाह«ो हुन्छ । त्यस्तैगरी थुक, पानी पिउन, निल्न पनि गाह«ो हुनसक्छ । शरीरमा थकानको अनुभव हुन्छ, टाउको भारी भई दुख्छ । धेरै ज्वरो आउन सक्छ । जीउ दुख्छ, कान बन्द हुन्छ । घाँटी खसखसाउने, कफ आउने, कोक्याउने, नाक बन्द हुने, स्वाद र सुघ्ने क्षमतामा कमी आउँछ । पातलो सिंगान बढ्दै जाँदा बाक्लो र पहेंलो हुँदै जान्छ । जटिलता नभएमा ३–५ दिनमा लक्षण कम भएर जान्छन् । अनुहारमा पीडा, पहेंलो वा हरियो सिगान र ज्वरो भए पिनास तथा सास फेर्न असजिलो, छिटो छिटो सास फेरे, कोखा हाने निमोनिया हुन्छ । घरेलु उपचारले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जीउ कामे, टाउको बढी दुखे, घाँटी बांगिए, वान्ता भए, छाती दुखे, सास फेर्न असजिलो भए तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ ।

बिगत १० वर्षमा निमोनियाबाट नेपालमा २३ हजार बढी बालवालिकाको मृत्यु भएको तथ्यांक छ । परिवार कल्याणका अनुसार बालबालिकामा १३ प्रतिशत मृत्यु निमोनिया छ, प्रतिहजार बालबालिकामा ८० देखि १०० निमोनयाबाट प्रभावित हुन्छन् । जोन हप्किन्स विश्वविद्यालयको २०२० को खोजमा विश्वभर २०२० मा ८ लाख बढी बालबालिकाको ज्यान गएको तथा हरेक ३९ सेकेन्डमा एक बच्चाको ज्यान जान्छ । खोपले रोक्न सकिने तथा एन्टिबायोटिकले उपचार गर्न सकिन्छ ।

शरीरको तापक्रम ३२० सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्दछ तर त्योभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांसपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ । जब शरीरको तापक्रम २६० सेल्सियसभन्दा कम हुन्छ, बिरामी बेहोस हुन्छ, सुन्निन्छ, आँखाको नानी नचल्ने, जोर्नीमा हुने टेन्डन रिफलेक्स हराएर जान्छ । जब गुदद्वारको तापक्रम २५० सेल्सियसभन्दा कम हुन्छ तब व्यक्तिको मृत्यु हुन्छ ।

सामान्य नठानौं : रुघाखोकीले ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी सामान्य संक्रमण गराउने भए पनि ट्राकियाटिस, ब्रोंकाइटिस, ब्रोंकोेलाइटिस, ब्रोंकोेनिमोनिया, फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, नाकको भित्री भागको श्लेष्मिक सुन्निनु (राइनाइटिस), साइनाइटिस, कानमा पीप बग्नु (एक्युट ओटाइटिस मिडिया), ब्याक्टेरियल संक्रमण, टकसिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । अहिलेको अध्ययनले जाडोयाममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुन सक्ने देखाएका छन् ।

देशकै सर्वाधिक जनघनत्व बोकेको तराई क्षेत्र जहाँ प्रतिव्यक्ति आय कम भएका बढी छन् तहाँकाको घर, लुगाफाटा र चालचलन गर्मीसँग जुध्ने खालको हुन्छ र तराईकेन्द्रित पर्यावरणीय समस्या बढी नै देखापरेका छन् । जब जाडो सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछन् । परिवर्तित चिसो मौसमी वातावरणको प्रत्यक्ष सम्बन्ध मानिसको शारीरिक तथा मानसिक स्थितिसँग रहने भएकाले मौसम परिवर्तन जनस्वास्थ्य समस्यासँग जोडिने गर्दछ । साधारणतया जति गरम र तातोसँग मानिस अनुकूल बन्न सक्दछ त्यति चिसोसँग हुन सक्दैन ।

शरीरको तापक्रम ३२० सेल्सियसभन्दा कम भएमा शरीर काप्ने, मांशपेशी कडा हुने, निदाउने, शिराधमनी संकुचन भई मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ


रोकथाम : इन्फलुएन्जा र निमोनिया खोप महँगो त छँदै छ र लगाए पनि ३० प्रतिशत मात्र पूर्ण सुरक्षा दिने भएकाले खोप लगाएका पनि रोगको जोखिममा हुन्छन् । तातो र न्यानो स्थानमा बस्ने गर्नुपर्दछ । चिसो हावा लाग्ने ठाउँमा हिँडडुल नगर्ने तथा धुलो धुवा, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्दछ । पटक पटक हात धुने गर्नुपर्छ । पोषणयुक्त र सन्तुलित खाना खाने, तातो र झोलयुक्त खाद्य पदार्थको बढी उपयोग गर्ने, मौसमी फलफूल लिने र सागसब्जी प्रशस्त खानुपर्छ । खुला ठाउँमा नजाने, वातावरणलाई न्यानो बनाउने र आफंै सचेत भएर बस्नुपर्छ । भिटामिन ‘सी’ युक्त फलफूल सेवनमा जोड दिनुपर्दछ । स्वास्थ्य तथा सरसफाइमा बढी ध्यान दिनुपर्छ ।
जाडोबाट बच्ने निहुँमा पुरै झ्याल ढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टितेल तथा ग्यासयुक्त हिटर, कोइला र आगो बाल्ने गर्दा कोठाभित्रको अक्सिजन आगोले लिइदिन्छ । अक्सिजनको मात्रा कम हुँदै जाने समस्या एकातिर हुन्छ भने अर्कोतिर आगोले कार्बन मोनोअक्साइडजस्ता विषालु ग्यास बढी हुँदै गई अचेत बनाई थाहै नपाई मृत्यु समेत हुने खतरा बढ्छ, घरमा आगोलागी हुनसक्छ । तसर्थ त्यसो गर्न गराउन हुँदैन ।

अन्तमा, शरीरलाई न्यानोयुक्त बनाउन लत्ताकपडा लगाउने गर्नुपर्छ, धुम्रपान, मद्यपानबाट टाढा रहनुपर्छ । दिनदुःखीलाई दाउरा वितरणभन्दा न्यानो कपडा वितरण तथा स्वास्थ्य सचेतना बढाउन सरोकारवाला सबै लाग्नै पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ