पोखरा । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले भारत सिक्किमको ग्यान्तोक सिटी एफसीको चुनौती ३–० ले पन्छाउदै १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । युवा खेलाडीले भरिएको थ्री स्टारले ग्यान्तोकमाथि जित निकाल्न अन्तिम १५ मिनेटमा तीन गोल गर्न सफल भएको थियो ।
पोखरा रंगशालामा सोमबार भएको क्वाटरफाइनलमा थ्री स्टारको उपाधि रक्षा अभियानमा सुसान श्रेष्ठ नायक बने । उनले दुई तथा सन्जोक राईले एक गोल गरे । अब पाँच पटकको च्याम्पियन थ्री स्टारले सेमिफाइनलमा बुधबार विभागीय नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले आयोजक सहारा क्लबलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा थ्री स्टारले बल पोजेसन राख्दै केही आक्रमण प्रयास गरेपनि सफल हुन सकेन । पहिलो हाफमा ग्यान्तोकलेपनि केही अवसर बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा निशान खड्काको ३० यार्ड टाढाको फ्रिकिक प्रहार पोस्टबाट थोरै आकासियो ।
२१औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा कप्तान बिक्रम लामाको हेडर बाहिरिँदा थ्री स्टारले खेलमा अग्रता लिने अवसर गुमायो । लगत्तै मिक्छेन तामाङको कर्नरमा अनन्तको हेडरले पुनः पोस्टको दिशा लिन सकेन । ४३औं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा ग्याङतोक सिटीले अग्रता लिने अवसर गुमायो ।
त्यो पहिलो हाफमा ग्यान्तोकको पहिलो आक्रमण थियो । दोस्रो हाफमा भने ग्यान्तोकले बल पोजेसन राख्दै दवावमा राखेपनि थ्री स्टारको पोस्टमा उल्लेख्य आक्रमण बुन्न सकेन । ५६औं मिनेटमा सन्जोक राईको प्रहार आकासियो । ६३औं मिनेटमा आशिष देवानको फ्रिकिक थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले सहजै नियन्त्रणमा लिए । लगत्तै डन छिरिङ लेप्चाको फ्रिकिकमा छिरिङ लेन्डुप भुटियाको हेडर पोस्टबाट थोरै बाहिरिदा ग्याङतोकले अग्रता लिने अवसर गुमायो ।
७०औं मिनेटमा अनन्त तामाङको क्रस पासमा सन्जोक राईले पेनाल्टी बक्समा ओभरहेड किक प्रयास गरेपनि निकै फितलो बन्यो । उनको प्रहारलाई निम्डुप लेप्चाले नियन्त्रणमा लिए । ७९औं मिनेटमा सन्जोक राईले एकल प्रयासमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । निशान खड्काको पासमा मैदानको मध्यभागबाट अफसाइड बिट ट्याप गर्दै सन्जोकले बल अघि बढाउदै एकल प्रयासमा गोलरक्षक निम्डुप लेप्चालाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
८५औं मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाउदै बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्री स्टारको जित पक्का गरे । उनले दुई डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहारले सिधै जाली चुमेको थियो ।
लगत्तै सुशानले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे ।
जितपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टोलीबारे राम्रोसँग जानकार नहुदा समयमा स्कोर निस्कन नसेकेको र खेलमा केही गाह्रो भएपनि ढिला गरी स्कोर निस्केपछि सहज भएको बताए । ‘विपक्षी टोलीको खेल बुझ्न केही समय लाग्यो । गोल निकाल्न कठिन बन्यो । विपक्षीले पनि राम्रो खेलेको हो ।
उनीहरुको खेलको प्रशंसा गर्नुपर्छ । गोल चाहेकै अवस्थामा कहाँ हुन्छ र, अन्तिम मिनेटसम्म कुर्नु नै फुटबलको विशेषता हो ।’ प्रशिक्षक केसीले खेलपछि भने, ‘हामीले यो पटक लिग देखि नै युवा खेलाडीलाई समावेश गरेर टोली बनाएका छौं । दर्शकहरुले यसपटक थ्री स्टारबाट ठुलो अपेक्षा गर्न हुने छैन । यो टिमले केही समयपछि राम्रो र नतिजा दिनेछ ।’ प्रशिक्षक केसीले यसअघि दुई गोल्डकपमा फाइनलमा पराजित भएकाले यसपटक आहा रारामा च्याम्पियन बनेर फर्कने थपे ।
यो सिजन सताक्षी गोल्डकप र यसै साता खप्तड गोल्डकपको उपविजेता बनेको थियो सताक्षी गोल्डकपमा मछिन्द्र र खप्तड गोल्डकपमा थ्री स्टार आयोजकसँग पराजित भएको थियो । यता, पाहुना टोलीका प्रशिक्षक मायाल डोक लेप्चाले अफसाइड भएको अवस्थामा निस्किएको पहिलो गोल नै हारको टर्निङ प्वाइन्ट बनेको बताए ।
प्रतियोगिता अन्तर्गत मंगलबार साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लब र संकटाबीच अन्तिम क्वाटरफाइनल हुनेछ । यो खेलमा विजयी हुने टोलीले बिहीबार मनाङ–मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।