काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले एमाले नेता टोपवहादुर रायमाझी, कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडा, तत्कालीन गृहसचिव सचिव टेकनारायण पाण्डे र मानवअधिकारवादी नेता टेकनाथ रिजाल लगायतलाई दोषी ठहर गरेको छ ।
कांग्रेस नेता खाँण र मानवअधिकारवादी नेता रिजाललाई मतियारका रुपमा दोषी देखेको अदालतले रायमाझी र सचिव पाण्डेलाई भने मुख्य दोषी भनेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलवार विपक्षी बनाइएका केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, डा इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, सचिव पाण्डे र टोपवाहादुर रायमाझीलाई संगठित अपराध, राज्यविरुद्धको कसुर र गठी अभियोगमा दोषी ठहर गरेको हो ।
प्रतिवादीहरुमध्येका कांग्रेस नेता खाँण, नेता रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेललाई भने राज्यविरुद्धको कसुरमा मतियारका रुपमा काम गरेको अदालतको ठहर छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका रामशरण केसी, टंक कुमार गुरुङ, टोपवहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने अभियोगबाट सफाइ पाएका छन् ।
अदालतले कसुर ठहर गरे पनि कसलाई कति सजाय गर्ने भनेर २९ असारमा फैसला सुनाउने मिति तय गरेको छ । कसुर ठहर भएकामध्ये एमाले नेता रायमाझी थुनामै छन् भने कांग्रेस नेता खाँण धरौटी बुझाएर रिहा भएका थिए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाइदिने प्रलोभनमा करोडौं रुपैयाँ ठगी गरिएको बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षदेखि अनुसन्धान, अभियोजन र सुनुवाई जारी थियो ।
उच्च राजनीतिक नेतृत्वसहित विभिन्न व्यक्तिले आफूहरूको पहुँच गृह मन्त्रालय, मन्त्रिपरिषद् तथा संयुक्त राष्ट्रसंघको शरणार्थी निकायसम्म रहेको दाबी गर्दै नेपाली नागरिकलाई अमेरिकालगायत तेस्रो मुलुक पठाइदिने आश्वासन दिएर मोटो रकम ठगी गरेका थिए ।
त्यसका लागि उनीहरूलाई भुटानबाट नेपाल आएका शरणार्थीको सूचीमा नाम समावेश गराइदिने भन्दै प्रतिव्यक्ति करोडौँ रुपैयाँसम्म असुलेको अभियोगमा मुद्धा दायर भएको थियो ।
प्रहरीले अनुसन्धानपछि सरकारी कागजात किर्ते, संगठित ठगी, राज्यविरुद्धको कसुर, भ्रष्टाचार र संगठित अपराध अभियोगमा मुद्दा अघि बढाएको थियो ।
सम्बन्धित समाचार
एमालेको संसदीय दल र सचिवालय बैठक आजै
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी
सिंहदरबारभित्र समानान्तर सरकार !
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको मिसिल झिकाउन सर्वोच्चको आदेश
सरकारका १०० दिन, ‘भ्रष्ट’का गए दिन’
एकीकरण वा नयाँ राजनीतिक दल गठनवारे कांग्रेस संस्थापनइतरमा बहस






