काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि चाबहिल धोबीखोलासम्मको दोस्रो सडक खण्ड विस्तारले अब गति लिने संकेत देखिएको छ ।
साइट क्लिअरिङको जिम्मा पाएको नेपाल सरकारले चिनियाँ पक्षलाई साइट क्लिअर भएर कामअघि बढाउन सकिने जनाउँदिँदै पत्राचार गरेपछि चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ ।
चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्म सडकको अध्ययन गरेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई प्रतिवेदन दिएपछि चक्रपथ विस्तारको काम अघि बढ्ने भएको हो ।
चक्रपथ विस्तार आयोजनाले चिनियाँ प्राविधिक टोलीले अनौपचारिक रूपमा साइटको भिजिट गरेपछि विस्तारको काम अघि बढ्ने जनाएको छ । आयोजनाले साइट क्लिअरिङको काम ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको जनाउँदै कहीँ समस्या भएमा चिनियाँ पक्षलाई फिल्डमा नै प्रस्ट पारिने जनाएको छ ।
चिनियाँ पक्षले साइट क्लिअरिङको सम्पूर्ण काम सम्पन्न भएपछि मात्रै काम थाल्ने जनाउँदै आएको छ । नेपाल पक्षले चिनियाँ पक्षको मागअनुसार नै रुख काट्ने, बिजुलीको पोल हटाउने काम गरे पनि महाराजगन्जको २ सय ४४ मिटर खण्डमा समस्या रहेको छ । स्वयम्भुको स्तुपा भएको ४०÷५० मिटर ठाउँमा पनि सामान्य समस्या रहेको छ । आयोजनाले उक्त ठाउँमा समस्या नहुने जनाएको छ ।
चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लियर अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि चिनियाँ टोलीले सडक विस्तार गर्ने सम्झौता छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्रयाक बनाउनुपर्ने हुन्छ ।
यसअघि कोटेश्वरदेखि कलंलीसम्म पनि चिनियाँ सरकारले नै चक्रपथ विस्तारको काम गरेको थियो । साइट क्लिअर नै नगरी उक्त सडक खण्ड विस्तार गर्दा मुआब्जालगायतका कारण निर्धारित मितिभन्दा काम ढिला सम्पन्न हुन पुगेको थियो । ढिला सडक विस्तार हुँदा चिनियाँ पक्षको आलोचना समेत भएपछि चिनियाँ पक्षले दोस्रो खण्डमा साइट क्लिअरिङको जिम्मा नेपालले गर्नेगरी सम्झौता गरेको थियो ।
सडक विभागले भने साइट क्लिअरिङको लगभग सबै काम सम्पन्न भइसकेको जनाउँदै चिनियाँ पक्षलाई काम थाल्न अनुरोध गर्दै आएको छ । सडक विभागका अनुसार आइतबारबाट संयुक्त रूपमा साइट भिजिट गरिने भएको छ ।
त्यसो त हालसम्म चक्रपथ विस्तारअन्तर्गत उक्त खण्ड कोडिजाइनको काम समेत हुन सकेको छैन । चिनियाँ प्राविधिक टोलीले साइट क्लिअरिङ ठीक भएको रिपोर्ट पठाएपछि चिनियाँ डिजाइन र कन्स्ट्रक्सन टोली नेपाल आउने जनाइएको छ ।
चीन सरकारको अनुदान सहायतामा अहिले कलंकीदेखि महाराजगन्जसम्म ८.२ किमी सडक विस्तार गर्न लागिएको हो । यसअघि पनि चीनकै अनुदान सहायतामा चक्रपथ पहिलो खण्ड १०.३९ किमीको (कोटेश्वर–कलंकी सडक) आठ लेनमा विस्तार भइसकेको छ ।






