संकटासँग पुलिस स्तब्ध

काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा डिफेन्डर निरज बस्नेतले गरेको गोल नै निर्णायक बन्दा पुलिस स्तब्ध बन्न पुग्यो । उनले १८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडरमार्फत गोल गर्न सफल भएका थिए । जारी लिगमा उनको यो तेस्रो गोल हो । उनले यसअघि फ्रेन्ड्स र मनाङविरुद्ध समान एक गोल गरेका थिए । यस्तै निरजको गोल जारी लिगको ५०औं गोल बन्यो । लिगको २७औं खेलसम्म ३९ खेलाडीले गोल गर्दा ५० गोलको आँकडा पूरा भएको हो । संकटाकै लक्ष्मण रुचालले जारी लिगमा पहिलो गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा सुभास गुरुङको क्रस पुलिसका डिफेन्डरलाई डिफ्लेक्ट हँुदा जोर्डन जुनियर ओआनाको पेनाल्टी बक्सभित्र अवसर पाए पनि उनको प्रहार आकासिँदा संकटा अग्रता लनबाट चुक्यो । १०औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा फोडे फोफानाको प्रहारलाई पुलिसका डिफेन्डरले ब्लक गर्दै संकट टारे । सोही मुभमा फोडे फोफानाको क्रस पासमा लक्ष्मण रुचालको प्रहारलाई सौजन राईले गोल लाइन नजिकैबाट हेडमार्फत क्लियर गर्दै बचाए ।

४३औं मिनेटमा पुलिसले दुई अवसर सिर्जना गरे पनि संकटाका गोलरक्षक र डिफेन्डर बाधक बन्दा पुलिस बराबरीबाट चुक्यो । रवि पासवानको क्रसमा बुद्ध बल तामाङको टचलाई संकटाका डिफेन्डरले ब्लक गर्दा सुमनको ओभरहेड किकलाई गोलरक्षक राजाबाबु थापाले बचाए । लगत्तै सन्तोष हेमरुनको प्रहारलाई निरज बस्नेतले ब्लक गर्दै संकटाको खतरा टारे । दोस्रो हाफमा पुलिसले सुधारिएको खेल पस्के पनि गोल गर्न नसक्दा पुलिसले पहिलो लिगमा पहिलो हार बेहोर्न पुग्यो । ८५औं मिनेटमा भरत साहले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै अपराजित रहेको संकटा ४ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ८ अंक नै रहे पनि आर्मी गोलअन्तरमा तेस्रोमा छ । पहिलो हार बेहोरेको पुलिस ४ खेलबाट आठौं स्थानमा यथावत् रहेको छ । थ्री स्टार र बीबीसीसँग अंक बराबरी रहे पनि पुलिस गोल अन्तरमा पछि छ । समान ५ अंक नै रहे पनि पुलिसले एनआरटीलाई पछि पारेको छ ।

लिगमा ५० गोल पूरा
यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा भएको छ । संकटाका डिफेन्डर निरज बस्नेतले पुलिसविरुद्ध गोल गरेपछि लिगमा ५० गोलको आँकडा पूरा भएको हो । उनले लिगमा आफ्नो गोलसंख्या पनि ३ पु¥याएका छन् । लिगको पहिलो गोल संकटाकै लक्ष्मण रुचालले गरेका थिए । लक्ष्मणले लिगको पहिलो राउन्डको दोस्रो खेलमा हिमालय शेर्पाविरुद्ध गोल गरेका थिए । लिगमा ३९ खेलाडीले गोल गर्दा १ ह्याट्रिक भएको छ । दुई आत्मघाती गोल भएको छ । पेनाल्टीमा एक गोल भएको छ ।

जावलाखेललाई पहिलो अंक
ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग गोलरहित बराबरी खेल्दै जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो खेलबाट पहिलो अंक जोडेको छ । यसअघि जावलाखेलले सुरुवाती तीन खेलमै आर बेहोरेको थियो । जावलाखेलले मनाङ र पुलिससँग समान १–० को हार बेहोर्दा मछिन्द्रसँग २–० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले बीबीसीलाई दबाबमा राख्दै आधा दर्जन बढी गोलको अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा जावलाखेलले अंक बाड्न बाध्य बन्यो । बीबीसीले पनि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । यो बराबरीपछि बीबीसीको ४ खेलबाट ५ अंक पुगेको छ । समान ५ अंक नै रहे पनि बीबीसी थ्री स्टारसँग पछि पर्दै सातांै स्थानमा रहँदा पुलिस र एनआरटीभन्दा अघि छ ।

लिगमा पहिलो अंक जोडेको जावलाखेलले एपीएफलाई पछि पार्दै १३औं स्थानमा उक्लिएको छ । लिगमा चौथो राउन्डको खेल सकिँदा साविक विजेता मछिन्द्र अपराजित रहँदै शीर्षस्थानमा रहेको छ । समान १० अंक नै रहे पनि मनाङ गोलअन्तरमा दोस्रो स्थानमा छ । मछिन्द्र र मनाङसँगै आर्मी र संकटाले चौथो राउन्डसम्म अपराजित रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 445 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान