जनकपुरधाम । पत्रकार कुटपीट प्रकरणमा पक्राउ परी रिहा भएका एकजना होटेल व्यवसायी धर्मेन्द्र साह पुनः अर्को विवादमा परेका छन । गुठीको जग्गा भाडामा लिएर पसल सञ्चालन गर्दै आएका एक व्यापारीमाथि जनकपुरधामस्थित होटेल व्यवसायी धमेन्द्र साहले हातपात गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहका निकटस्थ व्यक्तिका रुपमा रहेका साह केही महिनादेखि विवादमा परेको स्थानीयवासीहरु बताउँछन ।
साहले औषधि व्यवसायी संघ धनुषाका पूर्वमहासचिव समेत रहेका नविन मेडिकल हलका सञ्चालक प्रमोद अग्रवाल ‘पप्पु’ माथि दुव्यवहार गर्दै हातपात गरेका हुन् । साहले राम युवा कमिटीको कार्यालयमै दजनौ व्यक्तिहरू उपस्थित रहेको समयमा अग्रवालमाथि हातपात गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित राम मन्दिरको पछाडी अग्रवालले २०३४ सालदेखि गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधि पसल सञ्चालन गर्दै आइरहेका छन् । त्यसै पसलको जग्गामध्ये पूर्वअध्यक्ष साहले आफूलाई धाकधम्की दिएर जबरजस्ती १० फिट जग्गा माग्दै आएको र पछिल्लो समय आफूले गुठीको जग्गा कुनै व्यक्तिलाई दिन तयार नभएपछि सार्वजनिक रुपमै आफुसँग दुर्व्याहार गर्दै हातपात समेत गरेको बताए ।






