राष्ट्रिय सभा सदस्य निर्वाचन : २ हजार २५ जनाले मत हाल्ने


काठमाडौं । निर्वाचन आयोगले आगामी १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाता सहभागी हुने जनाएको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य ५ सय ३२ जना तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुख १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता कायम भएको जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली १ पुसमा स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार सो निर्वाचनका लागि प्रदेश १ मा दुईवटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा एक÷एकवटा मतदान स्थलभित्र दुई÷दुईवटा मतदान केन्द्र रहने गरी आठवटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदान स्थल तोकिएको छ ।

यसैगरी, प्रदेश २ का लागि महेन्द्रनारायण निधि भवन जनकपुर, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभाभवन, धनगढीमा मतदानस्थल रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका यसअघि नै स्वीकृत गरिसकेको छ । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलहरूलाई १ पुसदेखि १० पुससम्म दल दर्ता गर्न समय निर्धारण गरेको छ । निर्वाचन कानुनअनुसार कुनै पनि निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य छ । आयोगका प्रवक्ता पौडेलका अनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेगरी आयोगले निर्वाचन कार्यक्रम बनाएको छ ।

प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने सक्नेछन् । आयोगका अनुसार १८ र १९ पुसमा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यसैगरी, २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगले तय गरेको छ । यसैगरी, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरूमा १२ माघमा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । राष्ट्रिय सभा कानुनअनुसार पद रिक्त हुनुभन्दा ३५ दिनअघि उपनिर्वाचन गरिसक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता